नेपालको कुन कुन शहरमा कति छन् लागूऔषध प्रयोगकर्ता ? हेर्नुहोस
२४ माघ, काठमाडौं । मुलुकका २६ सहरमा करिब १ लाख लागूऔषध प्रयोगकर्ता फेला परेका छन् । गृह मन्त्रालयले १८ जिल्लाको २६ सहरमा गरेको सर्वेक्षणले सो तथ्य उजागर गरेको हो ।
सर्वेक्षणअनुसार सुनसरीमा ७ हजार ४ सय ७, कास्कीमा ६ हजार ९ सय १७, मोरङ ६ हजार ४ सय १५, झापा, ६ हजार ८, रूपन्देहीमा ५ हजार ९ सय ९५, चितवनमा ४ हजार ५ सय १५, बाँकेका ४ हजार ५०, पर्सामा २ हजार १ सय ३० र अन्य जिल्लामा ११ हजार ९७ जना लागूऔषध प्रयोगकर्ता रहेका छन् । जसमध्ये काठमाडौं उपत्यकामा ३ हजार ४ सय ८५ किशोरी लागूऔषधको कुलतमा फसेका छन् । सर्वेक्षणअनुसार २६ सहरमा कुल ९१ हजार ५ सय ३४ जना लागूऔषधका प्रयोगकर्ता भेटिएको र उनीहरूको जीवन पारिवारिक र सामाजिक रूपमा सुखद छैन ।
सोही कार्यक्रमअन्तर्गत पाँच वर्षअघि मन्त्रालयले गरेको सर्वेक्षणमा ४६ हजार ३ सय ९ जना मात्रै थिए । प्रतिवेदनअनुसार पारिवारिक समस्या बढ्दै गएको र सामाजिक क्षेत्र पनि डामाडोल हुँदा थप समस्या उत्पन्न हुने स्थिति सिर्जना भएको छ ।
कुलतमा फस्नेहरू भर्खरै एसएसली दिएका र उच्च माध्यामिक शिक्षा हासिल गर्ने तहमा रहेकाहरू नै बढी पाइएका छन् । सर्वेक्षणका क्रममा ४९ प्रतिशत लागूऔषधकर्मीहरूले आफू २० वर्ष पुग्नुअघि नै सेवन सुरु गरेको बताएका थिए । यस्तै, ३२ प्रतिशतले १५ वर्षभन्दा अघि नै लागूऔषधको कुलतमा लागेको बताएका छन् । लागूऔषध प्रयोग गरिरहेकामध्ये ३३ प्रतिशत २० देखि २४ वर्षका छन् । त्यसैगरी, २२ प्रतिशत २५ देखि २९ छन् भने २० प्रतिशत १५ देखि १९ वर्ष उमेर समूहका छन् । त्यस्तै, १४ प्रतिशत ३० देखि ३४ वर्षका र १५ वर्षमुनिका पनि १ दशमलव ५ प्रतिशत बालबालिकासमेत रहेका छन् ।
लागूऔषध सेवन गर्नेहरूमा बिहे गरेका ६५ प्रतिशत छन् भने विवाह गरेका २९ प्रतिशत रहेका छन् । जसमध्य ५५ प्रतिशत आमाबाबु तथा परिवारको साथमा छन् भने २० प्रतिशत आमासँग बसेका छन् ।
बाबुले सौतेनी आमा ल्याएपछि लागूऔषध सेवन गर्ने १२ प्रतिशत रहेका छन् । यसअघिको सर्वेक्षणमा गाँजा र रक्सी सेवनकर्ता उल्लेख्य थिए भने अहिले औषधिजन्य लागूऔषध, हेरोइन, अफिमजन्य पदार्थको सेवनकर्ता बढेका छन् ।

