रमेश खरेललाई बालकृष्ण ढुंगेलको चुनौती
काठमाडौं, १३ फागुन । आफूलाई भेट्न आएको, आफूसँग फोटो खिचेको भन्दै गुण्डागर्दी पृष्ठभूमि भएका व्यक्तिहरूलाई खोरमा हालेर एसएसपी रमेश खरेलले चर्चा कमाइरहेका छन् । तर ज्यान मुद्दामा सर्वोच्च अदालतले दोषी ठहर गरेका व्यक्ति खुलमखुल्ला हिंड्दा पनि उनले त्यसतर्फ भने कुनै ध्यान दिएका छैनन् ।
माओवादी नेता बालकृष्ण ढुंगेल कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका व्यक्ति हुन् । सोही मुद्दाका कारण उनी यस पटकको संविधानसभामा उम्मेदवार समेत हुन पाएनन् । तर पनि उनी कानुनलाई चुनौती दिँदै खुलमखुल्ला हिंडिरहेका छन् ।
ढुंगेल मात्र होइन, अदालतले दोषी ठहर गरेका धेरै व्यक्तिहरू समाजमा छाती फुलाएर हिंडिरहेका छन् । माओवादीकै नेता कालिबहादुर खाम पनि प्रहरीको मोष्टवान्टेड सूचीमा छन् । यदि उनले साँच्चिकै आफूलाई राम्रो प्रहरी अधिकारी रुपमा स्थापित गराउने हो भने उनले टोले गुण्डा मात्र नभई अपराधी पुष्टि भइसकेका नेतालाई पक्राउ गर्न सक्नुपर्ने धेरैको भनाइ छ । सस्तो लोकप्रियताका लागि गुण्डा मात्र पक्राउ गर्छन् कि कानुनी शासनको प्रत्याभूति दिन सानाठूला सबैलाई समान रुपले हेर्छन्, त्यो धेरैको चासोको विषय बनेको मंगलबारको दृष्टि साप्ताहिकले खबर लेखेको छ ।

