नेपाल चीनबीच नयाँ हवाई सम्झौता,सातामा ५६ उडान

१३ फागुन,काठमाडौं। नेपाली बिमानले अब चीनका सात मुख्य शहरमा उडान गर्न पाउने भएका छन् । मंगलबार नेपाल र चीनवीच भएको नयाँ हवाई सम्झौताले उडान संख्या थप गर्नुका साथै उडानका गन्तव्यसमेत बढाएको हो ।


नेपाल र चीनवीच सातामा ५६ वटासम्म उडान गर्न पाउनेगरि हवाई सम्झौता भएको छ । सातामा १४ वटामात्र उडान गर्ने यसअघिको सम्झौता संशोधन गर्दै दुईदेशवीच सातामा ५६ उडान भर्न पाउने हवाई सम्झौता भएको हो । सम्झौता अनुसार यसमा पनि हरेकवर्ष सातामा सात उडान थप गरिने छ ।

सम्झौतामा पर्यटन सचिव सुशील घिमिरे र चिनियाँ नागरिक उड्डयन प्राधिकरणका उपप्रशासक जिया जिङहुवावीच हस्ताक्षर भएको छ । मंगलबार पर्यटन मन्त्रालयमा भएको सम्झौता अनुसार आगामी दुई बर्षमा हरेक बर्ष साप्ताहिकरुपमा ७ वटा सिधा उडान थप गर्न सकिने छ ।

सन् २०१६ सम्ममा दुवै देशले हप्तामा ७० वटा उडान भर्न सक्ने सम्झौतामा उल्लेख रहेको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । नयाँ सम्झौताले दुवै मुलुकलाई जुनसुकै प्रकारको बिमानबाट असिमित कार्गो उडान गर्न खुला गरेको छ । दुई पक्षीय र तेस्रो पक्षीय कोड सेयरिङको प्राबधानसमेत खुला राखेको सम्झौताले नेपाली हवाई सेवालाई पहिलोपटक ल्हासा उडान गर्ने अनुमति दिएको छ ।

यसले काठमाण्डौ–ल्हासा एकतर्फि उडानका लागि साँढे ४ सय डलर महँगो शुल्क तिर्नुपर्ने बाध्यता टरेको छ ।
यसैगरि चीनले त्यहाँको सवैभन्दा पुरानो शहर जियानमा नेपाली बायुसेवा कम्पनीलाई उडान गर्ने अनुमति दिएको छ । अब नेपाली बिमान चेङदु, ल्हासा, बेइजिङ, कुनमिङ, सांघाई, ग्वाङजाउ र जियान गरि ७ वटा शहरमा उड्न पाउने भएका छन् । नेपाली पक्षले कैलाश मानसरोवरका लागि सर्कल उडान गर्न नेपाली हेलिकोप्टर कम्पनीलाई अनुमति दिन माग गरेको थियो ।

यस बिषयमा सम्बन्धित अधिकारीसँग छलफल गरेर प्रतिक्रिया दिने चिनियाँ प्रतिनिधिले आश्वासन दिएको सहसचिव आचार्यले जानकारी दिए । पछिल्लो समयमा नेपालमा चिनियाँ पर्यटक आगमन बढेका बेला भएको नयाँ हवाई सम्झौताले नेपाली पर्यटन उद्योगको विकासमा ठूलो योगदान पुग्ने विश्वास गरिएको छ ।

, ,

news and entertainment