दरबारको सम्पत्तिले एक महिला रातारात अर्बपति बनिन्

१३ चैत, काठमाडौं । दरबारको सम्पतीले एक महिला रातारात अर्बपति बनेकी छिन् । गणतन्त्र स्थापनापछि भूतपूर्व राजा र राजपरिवारको अर्बौंको सम्पत्ति नेपाल ट्रस्टको कार्यालयमा जम्मा हुनुपर्ने भएपनि सरकार त्यसको उपयोग गर्न नसक्दा उनी अर्वपति बन्न पुगेकी हुन् ।

दोस्रो जनआन्दोलनको सफलता पश्चात् गठन भएको पहिलो संविधानसभाले नेपालबाट राजतन्त्र र राजसंस्था दुवैको खारेज गरेपछि झन्डै अढाई सय वर्षको राजगद्दी छाडेर जाँदा राजा ज्ञानेन्द्रको ओठमा गहिरो चिन्ता मिश्रित ‘मुस्कान’ थियो, तर वर्षौं राजाको स्याहार सुसारमा रहेका कतिपय कर्मचारी भने एकाएक अर्बपति बन्ने सपनाले त्यतिबेलै ‘वास्तविक हाँसो’ हाँसिरहेका थिए। जानकारी अनुसार राजाले राजगद्दी त्याग गर्नु हप्तादिन अगाडिदेखि नै दरबारबाट अर्बौंको सामान बाहिरिएको चर्चा चलेको थियो। त्यतिखेर गरिएको चर्चा अहिले आएर सत्यतामा परिणत भएको छ ।

तात्कालिक राजा ज्ञानेन्द्रको नारायणहिटी दरबारबाट बहिर्गमन हुने बेलामा बाघ, मृग लगायत वन्यजन्तुका छाला, हात्ती, बाघ, जरायो लगायतका जन्तुका हड्डी, अङ्ग–प्रत्यङ्ग, रुद्राक्षलगायत सुनका इँटाहरू चारवटा गाडीमा लगेर बाहिरै थन्क्याइएको थियो । दुई ट्रक चाँदीमध्ये एक ट्रक छाउनी र एक ट्रक निर्मल निवासमा थन्क्याइएको समेत खुल्न आएको थियो ।

नेपाल ट्रस्टमा जानुपर्ने ती सामान चोरी गरेर लगिएको बताइन्छ। ती चोरीका सामानबाट ०६२ सालसम्म देशभर एक आना पनि जग्गा नभएकी र बैंकमा समेत उल्लेख गर्न लायकको रकम नभएकी एक पूर्वदरबारिया कर्मचारी महिला एकाएक अर्बपतिको कोटिमा पुगेकी छिन्, ।
तर उनको विषयमा कहीँकतैबाट अनुसन्धान भने भएको छैन। स्रोतको अनुसार दैलेख जिल्लामा जन्मिएकी नन्दा मल्ल भन्ने अविवाहित महिला नेपाल ट्रस्टमा जम्मा हुने सम्पत्तिको अवैध बिक्री–वितरणबाट यतिखेर अर्बपति भएकी हुन्।

०५६ साल असार ३ गतेको निर्णयअनुसार भन्दै कर्मचारीको नाताले काठमाडौंबाट नागरिकता प्राप्त गरेकी नन्दाको ना।प्र।नं। ३०४५ उल्लेख गरी एक प्रशासकीय अधिकृतले सहीछाप गरेर नागरिकता लिएको देखिन्छ। दैलेख जिल्ला बालुवाटार गाविस वडा नं.२ बाबु डिलबहादुर मल्ल ठकुरी जन्ममिति २०३३/०८/०५ भनेर लेखिएको नागरिकता प्राप्त गरेकी नन्दाको यतिखेरको तामझाम र सम्पत्ति देख्नेहरूले जिब्रो टोक्ने गरेका छन्।

राजा ज्ञानेन्द्रको बहिर्गमनपछि दरबारकी साधारण कर्मचारी नन्दाको घरमा केही समयदेखि बंगलादेशको दूतावास बसेको बताइन्छ। नन्दा यतिखेर त्यही घरको नजिकै अर्का दुईवटा घर खरिद गरेर बसेकी छिन्। दरबारबाट त्यतिखेर चोरी भएका सामानहरू अहिले बसुन्धरा चोकमा करिब ११ आनामा बनेका तीनवटा घरबाट बिक्री भइरहेको स्रोत बताउँछ । दरबारकै उच्च व्यक्तिको मिलेमतोमा चोरी गरिएका सामान बिक्रीबाट प्राप्त सम्पत्ति मल्लले आफ्ना सहोदर भाइ, बहिनी र आफ्नै नाममा राखेको बुझिएको छ ।

यति मात्र नभएर चन्दाको चपली गाविस वडा नं.३ मा करिब २३ रोपनी जग्गामा बनाइएका ६ वटा घर छन्। जुन घरमा सेन्टजेभियर्स एकेडेमी इङ्लिस स्कुल भाडामा रहेको छ। खाली रहेको उक्त जग्गामा अहिले साततले करिब ४० हजार स्क्वायर फुटको घर निर्माण भइरहेको पनि स्रोत बताउँछ। राजा ज्ञानेन्द्रले दरबार छाड्दासम्म साधारण यातायातमा यात्रा गर्ने मल्लको अहिले भने टोयटा कार, जिप र ल्यान्डक्रुजर गरी तीनवटा गाडी रहेका विक्ली नेपाल डटकममा खबर छ ।

सुनको इँटा चार बाकसलगायत करोडौँको सम्पत्ति यसरी तिनै मल्लका हातमा पुगेको बताइए पनि कुन उच्च स्रोतले उनलाई विश्वास गर्योँ र यो सम्भव भयो, त्यो भने बुझिएको छैन। ६–सात वर्षअघिसम्म साधारण जीवन बिताएकी मल्लको सम्पत्तिका बारेमा अन्य कोही जानाकार नभए पनि तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी एवम् वर्तमान सम्पत्ति शुद्धीकरण आयोगका प्रमुख चूडामणि शर्मा भने राम्रैसँग जानकार मानिन्छन् ।

काठमाडौं प्रजिअ हुँदादेखि नै मल्ल र शर्माबीच राम्रै हिमचिम बढेको बताइन्छ। अहिले सम्पत्ति शुद्धीकरणमा मल्लको सम्पत्ति छानबिनका लागि एक निवेदन दर्ता भए पनि शर्माले त्यसउपर ध्यान नदिनु र छानबिन नगर्नुले पनि उनीहरूको नियत छर्लङ्ग हुन्छ। ०७०/०५/०२ गते दर्ता नं। २६० रहेको उक्त निवेदनलाई चूडामणिले कार्यान्वयन गर्नु त परै जाओस् ध्यानसमेत दिएका छैनन्। मल्ल र शर्माको घर पनि नजिकै पर्ने भएकोले शर्माले मल्लबाट राम्रै फाइदा लिएको अनुमान गरिन्छ।

मल्लको कारोबार र उनले प्राप्त गरेको समानका बारेमा उच्च सुरक्षा निकायका केही व्यक्तिहरूसमेत थाहा पाएर पनि मौन छन्। एयरपोर्टबाट पाँच तोला सुन कसैले ल्याउँदा आँखा लगाउने निकाय र झिना–मसिना कुराहरूमा समेत आँखा गाड्ने अपराध अनुसन्धान ब्युरो (सीआईबी)समेत मौन रहनुमा नन्दालाई राम्ररी चिन्नेहरूले अचम्म मान्ने गरेका छन्। काठमाडौं प्रहरी परिसरका यसअघिका प्रमुखलाई समेत राम्रै लाभ दिलाइदिने मल्लको यतिखेर दरबारबाट ल्याएका सामान बिक्री गर्नमै भ्याइनभ्याई रहेको बताइएको छ ।

कुनै जागिर र वैधानिक व्यापार केही नभएकी मल्लको सम्पत्ति दिनानुदिन बढ्दै जानु र सम्बन्धित निकाय मौन रहनुमा शङ्का–उपशङ्का उत्पन्न हुनु अस्वाभाविक छैन। दरबारका विषयमा राम्रैसँग जानाकार रहेका लोकमानसिंह कार्की अख्तियार प्रमुख भएपछि अर्बौको राष्ट्रिय सम्पत्तिका बारेमा अनुसन्धान हुने आशामा रहेका पूर्वदरबारका कर्मचारीहरू पनि अहिले आएर निराश भएका छन्। 

, ,

news and entertainment