नेपाललाई टी ट्वान्टी राष्ट्रको मान्यता दिने तयारी

टी ट्वान्टी विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाललाई टी ट्वान्टी राष्ट्रको मान्यता दिन प्रक्रिया अगाडि बढाउने भएको छ । आईसीसीले हालसम्म सदस्य राष्ट्रलाई टेस्ट र एकदिवसीय मान्यतामा मात्र वर्गीकरण गर्दै आएको छ । एकदिवसीय राष्ट्रको मान्यता पाएका राष्ट्रले मात्र स्वत टी ट्वान्टी राष्ट्रको मान्यता पाएर बढीभन्दा बढी प्रतियोगिता खेल्दै आएका छन् ।

बंगलादेशमा जारी टी ट्वान्टी विश्वकपमा नेपालले एसोसिएट राष्ट्रमध्ये उत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीले सकारात्मक रूपमा लिएर नयाँ संरचनाका लागि छलफल अघि बढाएको जानकारी नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक पुबुदु दासानायकेले दिए । ‘विश्वकपमा नेपालले गरेको उत्कृष्ट प्रदर्शनलाई लिएर एकदिवसीय मान्यताप्राप्त राष्ट्र नभए पनि स्तरअनुसारको दर्जा पाउनुपर्ने बहस चलेको छ ।’

आईसीसीले टी ट्वान्टी राष्ट्रको वर्गीकरण गर्ने भएकाले नेपाल पनि त्यसमा पर्ने पक्का छ तर यसका लागि क्यान आफैंले पहल गर्नुपर्छ उनले भने । टी ट्वान्टी ढाँचा वर्गीकरणमा नेपाल आईसीसीको रोजाइमा रहेको उनले बताए ।

नेपालले टी ट्वान्टी मान्यता पायो भने थप स्तरीय प्रतियोगिता खेल्न पाउनेछ । विश्वकपको समूहगत चरणमा तीन खेलमा दुईमा जित हात पारेको नेपालको स्तर के हुने भन्ने विषयमा नेपाली टोली ढाकामै रहँदा पनि प्रश्न उठेको थियो ।

कप्तान पारस खड्काले पनि नेपाली क्रिकेटलाई कहाँ राख्ने र कस्तो अवसर दिने भन्ने विषय आईसीसीको भएको बताएका थिए । ‘हामीले आफ्नो स्तर देखाएका छौं, अब कुन ठाउँमा राख्ने भन्ने काम आईसीसीको हो’ अफगानिस्तानलाई हराएपछि पारसले भनेका थिए ।

नेपालले टी ट्वान्टी विश्वकपमा एसोसिएट राष्ट्रमध्ये आफूलाई नम्बर एक स्थानमा उभ्याउँदै विश्व क्रिकेटलाई चकित बनाएको थियो । तीनमध्ये दुई खेलमा जित हात पारेको नेपालको जितको प्रतिशत ६६ छ ।

यसले नेपाललाई टी ट्वान्टी बरियतामा ११ औं स्थानमा र्पुयाएको छ । टेस्ट मान्यताप्राप्त १० राष्ट्रपछि नेपाल एसोसिएट राष्ट्रमा पहिलो स्थानमा रहनेछ । यद्यपि न्युजिल्यान्डमा यसै वर्ष भएको भएको एकदिवसीय विश्वकप छनोटमा खराब प्रदर्शन गरेपछि नेपालले एकदिवसीय टिमको मान्यता पाउने मौका भने गुमाएको थियो ।
साभार : अन्नपुर्ण पोष्ट

,

news and entertainment