नायक रमेश उप्रेतीले पनि गरे अमेरिका छाड्ने घोषणा
गौरी मल्लसँगै अभिनेता रमेश उप्रेतीले पनि अमेरिका छाड्ने घोषणा गरेका छन् । न्यूयोर्क प्रेसमिट गएराति प्रेसमिट गरेर मल्लसँगै उप्रेतीलाई पनि डायस्पोराले बिदाइ गरेको थियो । अब उप्रेती नेपाली फिल्ममा कमब्याक योजनासहित देश र्फकर्दैछन् ।
करिश्मा मानन्धरलाई देश फर्काउन निकै पहल गरेका उप्रेती लामो समयपछि नेपाल फर्किन लागेका हुन् ।
न्यूयोर्क प्रेसमिटमा उनले भने, -’जुन व्यक्ति जहाँ उपयुक्त हुन्छ, त्यहीँ बस्नुपर्छ । नेपाली फिल्म उद्योगमा अहिले हाम्रो खाँचो छ । पहिले करिश्मा मानन्धरलाई नेपाल फर्कनका लागि अनुरोध गर्ने व्यक्ति पनि म नै हुँ । मेरै पहलमा करिश्मालाई नेपाल फर्काइएको हो । अहिले पनि सँगै नेपाल जाने अवसर पाएको छु ।’
रमेशसँगै नेपाल आउने भएपछि गौरी मल्लले पुराना दिन याद गरिन् -’पहिले म एउटा चलचित्रमा रमेशकी आमा भएर खेलेकी थिएँ । अब रमेशकी छोरी भएर खेल्ने इच्छा छ ।’ स्रोतका अनुसार एक चलचित्रमा गौरी र रमेश एकैसाथ देखिने तयारी भैरहेको छ ।
रमेश उप्रेती शुक्रबार साँझ काठमाडौं आइपुग्ने उनी निकट स्रोतहरुले जनाएका छन् ।
