चलाखी बयान दिन खोज्दा आफै फसे शोभराज

२८ फागुन,काठमाडौं। कर्तव्य ज्यानको दोस्रो मुद्दामा बयानका क्रममा सन् १९७५ मा आफू नेपाल नै नआएको भन्दै प्रहरीलाई ढाँट्न खोज्दा चाल्र्स शोभराज फसेका छन् । क्यानेडियन नागरिक लउरेन्ट क्यारिरेको हत्या मुद्दामा भक्तपुर प्रहरीले लिएको बयानमा शोभराज निकै चलाख बन्न खोजे पनि खुस्किएका हुन् ।


प्रहरीका अनुसार शोभराजले सुरुमा आफू सन् २००३ भन्दा अगाडि नेपाल आउँदै नआएको बताएका थिए । तर, पछि बयानका क्रममा सन् १९७५ मा नेपालमा आएको तथ्य चुहाएका छन् । ती तथ्य लउरेन्ट हत्या मुद्दामा महत्त्वपूर्ण प्रमाण हुने प्रहरीको भनाइ छ ।


अमेरिकन युवती कोनी ब्रन्चिजको हत्या आरोपमा सर्वाेच्च अदालतबाट समेत जन्मकैदको फैसला भएका शोभराज ११ वर्षदेखि नेपालको जेलमा छन् । कोनीको हत्याकै केही दिनपछि उनको साथी क्यानेडियन युवक लउरेन्टको पनि शोभराजले हत्या गरेका थिए । आधा जलेको अवस्थामा लउरेन्टको शव भक्तपुरको मनोहरा खोलाकिनारमा भेटिएको थियो ।
charlessobhraj

शोभराजले बयानका क्रममा हत्या अस्वीकार गर्ने चलाखी गरे पनि उनीहरूसँग चिनजान रहेको कुरा चुहाएका छन् । लाउरेन्ट र कोनी ओबराय होटलको एउटै कोठामा बसेको र उनीहरू प्रेमी–प्रेमिका भएको शोभराजले प्रहरीलाई बयान दिएका छन् । ‘शोभराजले सुरुमा त्यसवेला आफू नेपाल नै नआएको बताएका थिए,’ अनुसन्धानमा आबद्ध एक प्रहरीले भने, ‘तर, पछि लउरेन्ट र कोनी दुवैजना होटलको एउटै कोठामा बसेको र प्रेमी–प्रेमीका भएकोसमेत बताएका छन्, यसले हाम्रो अनुसन्धानलाई बलियो बनाएको छ ।’


नेपाल प्रहरीले त्यतिवेला नै सो घटनाको अनुसन्धान गर्नुपर्ने बताउँदै उनीहरूको हत्या आफूले नगरेकोसमेत दाबी गरेका थिए । जब कि उनकै सहमतिमा लेखिएको किताब ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’ नामक किताबमा भने लउरेन्टलाई औषधि खुवाई लठ्ठाएपछि जलाएर हत्या गरेको उल्लेख छ ।


हत्यापछि लउरेन्टकै पासपोर्टमा बैंकक पुगेर उनी पुन: नेपाल फर्किएका थिए । बैंककबाट एक व्यक्तिको पासपोर्ट चोरेर उनी नेपाल आएका थिए । नेपालबाट फेरि बैंकक गई फर्कंदा प्रहरीले अनुसन्धान थालिसकेको थियो । १९७५ मै प्रहरी शोभराजको नजिक पुगिसकेपछि पनि उनी भाग्न सफल भएका थिए । प्रहरीले अनुसन्धान थालेपछि सोल्टी होटलमा बसेका उनी राति नै त्यहाँबाट भागेका थिए । शोभराजबारे लेखिएको पुस्तक ‘लाइफ एन्ड क्राइम अफ चाल्र्स शोभराज’ पुस्तकमा उल्लेख भएअनुसार काठमाडौंका तत्कालीन प्रहरी प्रमुख चन्द्रवीर राईले शोभराज दम्पतीलाई स्वयम्भूमा पक्राउ गरेका थिए । आफू आम्र्सटडम युनिभर्सिटीको प्रोफेसर हेनरिकुस बिन्तान्जा भएको भन्दै उनले झुक्याएका थिए । प्रहरीलाई झुक्याउन सफल भएका शोभराजको कोठामा भोलिपल्ट छापा हान्दा उनी राति नै भारततर्फ भागिसकेका थिए ।

सन् २००३ मा पुन: नेपाल आउँदा शोभराज पक्राउ परेका थिए । सुरुमा प्रहरीले अमेरिकन युवती कोनीको मुद्दामा मात्र अनुसन्धान गरेको थियो । भक्तपुर प्रहरीले भने क्यानेडियन युवक लउरेन्टको हत्या मुद्दामा गत वर्षबाट अनुसन्धान थालेको थियो ।

झन्डै एक वर्षको प्रयासपछि १९ फागुनमा शोभराजसँग बयान लिन भक्तपुर प्रहरी सफल भएको थियो । बयान पूरा गरी अनुसन्धान मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकिएको भक्तपुर प्रहरीका प्रवक्ता डिएसपी रमेश थापाले बताए । सरकारी वकिल कार्यालयले मिसिल अध्ययन गरिरहेको छ । केही दिनभित्रै अदालतमा मुद्दा चलाउने तयारी भइरहेको स्रोत बताउँछ ।


तेस्रो प्रयासमा बयान

शोभराजको बयान लिन भक्तपुर प्रहरीलाई करिब एक वर्ष लागेको थियो । बयानका लागि उनलाई उपस्थित गराउन प्रहरीले केन्द्रीय कारागार प्रशासनलाई एक वर्षअघि नै पत्राचार गरेको थियो । गत महिना मात्र उनलाई पठाउन केन्द्रीय कारागार तयार भएको थियो ।

‘बयानका तेस्रोपटकमा मात्र हामी सफल भयौँ,’ भक्तपुर प्रहरीका एक अधिकारीले भने, ‘दुईपटक त बोल्नै मानेनन् ।’ तेस्रोपटक अधिवक्ता तथा सासू शकुन्तला थापालाई लिएर शोभराज बयान दिन १९ फागुनमा भक्तपुर प्रहरीमा पुगेका हुन् । स्कर्टिङसहितको कडा सुरक्षा घेरामा उनलाई केन्द्रीय कारागारबाट भक्तपुर पुर्‍याइएको थियो ।

बयानका लागि प्रहरीले फ्रेन्च भाषाका ट्रान्सलेटरसमेत राखेको थियो । तर, शोभराजले अंग्रेजीमा बयान दिएको स्रोत बताउँछ । बयानका क्रममा अधिवक्ता थापासँग प्रहरीको विवाद पनि भएको थियो । अघिल्लो मुद्दामा शोभराजमाथि अनुसन्धान गरेका पूर्वइन्स्पेक्टर विश्वलाल श्रेष्ठ पनि बयानका क्रममा थिए । श्रेष्ठ र थापाबीच चर्काचर्की परेको थियो । बयान भने भक्तपुर परिसरका इन्स्पेक्टर हरि ओझाले लिएका थिए । बयानका क्रममा नेपालको मुलुकी ऐन नै पुरानो भएको भन्दै शोभराजले त्यो कानुन आफूलाई मान्य नहुनेसमेत बताएका थिए ।

प्रहरीका अनुसार शोभराजको अनुसन्धान प्रतिवेदन हजारौँ पृष्ठ लामो बनेको छ । थाइल्यान्ड र भारतबाट समेत उनीविरुद्ध विभिन्न प्रमाण प्रहरीले जुटाएको छ ।

शोभराज केन्द्रीय कारागारको गोलघरमा कैद जीवन बिताउँदै आएका छन् । गोलघर जेलभित्रको पनि जेल हो । जहाँ जेलभित्र गलत गतिविधिमा संलग्न व्यक्तिहरूलाई राख्ने गरिन्छ । नेपालको सर्वाेच्च अदालतले समेत जिल्ला अदालतको जन्मकैदको फैसलालाई सदर गरिसकेकाले उनी २० वर्ष जेलमा बस्नुपर्ने हुन्छ । उनले करिब आधा सजाय भुक्तान गरिसकेका छन् । नेपालको कानुनअनुसार आधा सजाय भुक्तान गरिसकेका र राम्रो आचारण भएका कैदीहरूलाई बाँकी कैद सजाय मिनाहा गर्न सक्ने प्रावधान छ । ७० वर्ष उमेर पुगेका कैदीहरूको आचरण राम्रो भएमा पनि छुट्न सक्छन् । शोभराज चैतमा ७० वर्ष पुग्नेछन् । तर, जेलभित्र बितन्डा मच्चाएको आरोपमा उनलाई जेलभित्रको जेल मानिने गोलघरमा राखिएको र अर्को मुद्दाको पनि तयारी भएकाले छुट्ने छैनन् । युनुस अन्सारी गोलीकान्डमा पनि उनीविरुद्ध मुद्दा चलेको छ ।

शोभराज जेलभित्र पनि उदण्ड व्यक्तिका रूपमा चिनिन्छन् । गत चैतमा प्रहरीले उनको साथबाट मोबाइल बरामद गरेको थियो । उनले जमिनभित्र लुकाइराखेको अवस्थामा मोबाइल भेटिएको थियो । केन्द्रीय कारागारमै युनुस अन्सारीमाथिको गोली प्रकरणमा पनि शोभराजले भारतीय नागरिक मनमित सिंहलाई सहयोग गरेका थिए । सो घटनामा शोभराजलाई समेत मुद्दा दायर गरिएको छ । शोभराजले पाँच वर्षअघि जेलमै नेपाली युवती निहिता विश्वाससँग बिहेसमेत गरेका थिए ।

विभिन्न देशमा जेल ब्रेक गर्न र प्रहरीलाई छक्याउन सफल भएका कारण शोभराज विश्वकै कुख्यात अपराधीका रूपमा चिनिन्छन् । उनका बारेमा फिल्मसमेत बनेका छन् । भियतनामी आमा र भारतीय बुबाबाट उनी फ्रान्समा जन्मिएका हुन् । उनी सानो उमेरदेखि नै डरलाग्दा अपराधमा संलग्न हुँदै आएका व्यक्ति हुन् । नयाँपत्रिकाबाट

, ,

news and entertainment