एनेकपा माओवादी
लिडरशीप भन्ने कुरो गम्भीर विषय हो । हामी एउटा कुरोमा चाँहि टुंगोमै छौं, नेतृत्वमा बाँचुञ्जेल एउटै व्यक्ति बसिराख्ने कुराले कम्युनिष्ट आन्दोलनमा राम्रो गरेन । यो मैले चुनवाङदेखि नै ल्याएको विषय हो । यता आएपछि हेटौडाबाट पनि ल्याएको हो ।
अब पहिलो र्याङका नेताहरुले छाडेर दोस्रो र्याङका नेताहरुलाई दिने भन्ने कुरामा त्यसरी यान्त्रिक ढंगले दिएर हुने होइन । लिडरशीप भन्ने कुरा पार्टीभित्रको विचार, बहस, संघर्ष र संगठनका पहलहरुबाट अनि पार्टी बाहिरको राजनीतिक संघर्षबाट स्थापित हुनुपर्ने हुन्छ । बनाइदिएर, टीको लगाइदिएर ‘ल आजदेखि तपाई अध्यक्ष’ भनिदिएर पार्टी पनि सम्हालिँदैन, देश पनि सम्हालिँदैन ।
हामीले मपछि तपाई अध्यक्ष, अर्को उपाध्यक्ष भनिदिएर स्थापित हुने पनि होइन । त्यो राजनीतिक संघर्षको प्रक्रियाबाटै आउनुपर्ने हुन्छ । यसमा सचेतरुपले पार्टीले तयारी गर्ने भनेको कसैलाई ‘तपाई उत्तराधिकारी’ भन्ने भनेको होइन । त्यो भन्यो भने त बिगि्रन्छ भन्ने उदाहरण चीनमा देखियो । माओत्सेतुङले लिन प्याओलाई ‘म मरेपछि तपाई’ भनिदिँदा पछि मार्नै आइलागे । यो तीतो अनुभव कम्युनिष्ट आन्दोलनमा छ । त्यसैले कसैलाई भनिदिन त झन हुँदोरहेनछ । ‘तपाई हो है राम्रो, अब तपाईले गर्नुपर्छ’ त भन्नै नहुने रहेछ । भन्यो भने गयो । त्यहाँ हतार शुरु भइहाल्छ ।
त्यसैले संघर्ष गर्न प्रेरित गर्ने, नेतृत्व लिन प्रेरित गर्ने र उसलाई त्यस्ता जिम्मेवारीहरुबाट टेष्ट पास गर्नुपर्ने अवस्था सिर्जना गरिदिनुपर्छ ।
उसले सबैको मन जित्नु पर्यो नि पार्टीमा । यो चाँहि हाम्रो नेता हो भनेर सबै कार्यकर्ताले, जनताले र बाहिर विरोधीले पनि स्वीकार्नुपर्यो नि । विरोधीले स्वीकार्नु पनि छैन, जनताले स्वीकार्नु पनि छैन, कार्यकर्ताले स्वीकार्नु पनि छैन अनि नेताले टीको लगाएर छाडिदियो भनेदेखि त नेतृत्व स्थापितै हुँदैन । पार्टी त विघटन हुन्छ । त्यसैले अहिले हाम्रो कोशिसचाँहि त्यही छ । जिम्मेवारी दिएर हेर्ने ।
एउटै ‘माओइस्ट केन्द्र’ बनाउने तयारी
निर्वाचन परिणामपछि पार्टीमा माथिदेखि तलसम्म सबैले जितिन्छ भन्ने ठानेका बेला झड्का लागेको जस्तो त भएकै छ । केन्द्रीय समितिमा यसको लामो समीक्षा गरियो । अन्ततः हामीले एकमतले नै गर्यौं । विमति भन्ने हामीमा केहीमा पनि भएन । र, अब पार्टीलाई नयाँ बनाएर जानुपर्छ भन्नेतिर लागियो ।
अहिले स्थानीय सम्मेलनहरुको तयारी चलिराखेको छ, जिल्ला सम्मेलनको तयारी चलिराखेको छ । कोही ठाउँमा अलि तीव्र ढंगले काम भएको छ, कोही ठाउँमा अलि भएको छैन ।
हामीले केन्द्रीय समितिमा के भनेका छौं भने नेपालको राजनीतिमा माओवादीले जुन तरंग पैदा गर्दै आएको थियो, अब यतिले मात्रै पुग्दैन भन्नेमा छौं । र, एउटा वृहत्तर मोर्चाको तयारीमा पनि हामी छौं । मधेसी, जनजाति, दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्रका सबै पार्टी र संघ संस्थाको एउटा वृहत्तर मोर्चा निर्माण गरी संविधानसभा भित्रबाट संघीय गणतन्त्रात्मक संविधान बनाउनको लागि पहल गर्नुपर्छ र जनताका दैनिक समस्याहरु समाधान गर्नका निम्ति पनि वातावरण बनाउनुपर्छ भनेर वृहत्तर मोर्चा बनाउनेतिर हामी लागेका छौं ।
अर्को हाम्रो इच्छा के छ भने देशमा भएका सबै माओपक्षीय शक्तिहरु फेरि एउटा केन्द्रमा आउनुपर्छ । अब हामी त्यतातिर पनि गम्भीर ढंगको गृहकार्यतिर लागिराखेका छौं । मैले देख्दाचाँहि अब त्यतातिर लाग्ना ढीलो गर्नु गल्ती हुनेछ । सबै साना ठूला माओवादीजति शक्तिहरु एकठाउँमा केन्दि्रत हुनुपर्छ । एउटा केन्द्रमा आउनुपर्छ र मुद्दामा समानता भएका मधेसी, जनजाति, दलित, महिला र मुस्लिमहरु एउटा वृहत्तर मोर्चामा आउनुपर्छ ।
म अहिले बडो खुशी केमा छु भने अहिले सबैतिर यो महसुस हुन थालेको छ । एउटा माओइस्ट केन्द्र बलियो हुनुपर्छ भन्ने र परिवर्तनका पक्षधरहरुको मोर्चा बन्नुपर्छ र यथास्थितिवादी शक्तिलाई हावी हुन दिनुहुन्न भन्ने चेतना जनतादेखि, विभिन्न संघ संस्थासम्म आएको छ । माओवादीमा विभिन्न विभाजनहरु भए, ती सबै विभाजित समूहहरु एक ठाउँमा आउनुपर्छ भन्ने प्रेसर सबैलाई बढ्दै गएको छ ।
आशा गरौं, छिटै एउटा नयाँ परिस्थिति सिर्जना हुन्छ र एउटा नयाँ शक्तिका साथ संघीय गणतन्त्रात्मक संविधान पनि बनाउने, आन्दोलनलाई पनि नयाँ गति दिने र आउने निर्वाचनमा यो अहिलेको जस्तो स्थिति नहुने वातावरण तयार हुन्छ ।
http://www.onlinekhabar.com/
टीको लगाएर दिँदैमा कोही नेता हुँदैन
news and entertainment
