‘आई निड द मनी’ भन्ने सिंहले रमेश खरेललाई दिए यस्तो जबाफ

२६ फागुन, काठमाडौ । ‘आई निड द मनी’ । उच्च ब्याजदरमा करोडौँ रुपैयाँ लगानी गर्ने कुख्यात व्यक्तिका रूपमा चिनिएका महेश सिंहको नारा हो यो । सिंह चढ्ने गरेको बा.८च ३९८६ नम्बरको गाडीमा यस्तो लेखिएको छ ।

गाडीको नम्बर प्लेटमा डलरको चिह्नसहित यसरी ‘आई निड द मनी (मलाई पैसा चाहिन्छ)’ भन्दै लेख्नुले पैसाप्रतिको उनको मोह प्रस्ट हुन्छ । त्यही मोहमा चर्को ब्याजदरमा पैसा लगानी गरी जबर्जस्ती असुल्ने धन्दाले धेरैलाई कंगाल बनाएका उनी यतिवेला एसएसपी रमेश खरेलको फन्दामा परिसकेका छन् । सिंहविरुद्ध प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने भएको छ ।

आइतबार अपहरण मुद्दामा काठमाडौं जिल्ला अदालतले उनलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएको छ । गत शुक्रबार प्रहरीले उनलाई कलंकीबाट पक्राउ गरेको थियो । उनको घरबाट दुर्लभ वन्यजन्तुका अंग, सातवटा बन्दुक र ३५ करोडबराबरको चेक बरामद भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनीविरुद्ध वन्यजन्तुसम्बन्धी मुद्दा पनि चल्ने भएको छ । चर्को ब्याजदरमा पैसा लगानी गरी त्यसको धेरै गुणा पैसा असुलेर सिंहले धेरैलाई सडकमा पुर्‍याएको काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश खरेलले बताए ।Ramesh-Kharel

अपहरण गरी पैसा असुली गरेको उजुरीका आधारमा उनलाई अपहरण मुद्दा चलाइएको एसएसपी खरेलको भनाइ छ ।‘कसैलाई उनले एक रुपैयाँ लगानी गरेका छन् भने जबर्जस्ती सय रुपैयाँ उठाउने गरेका छन्,’ एसएसपी खरेलले भने । उनको घरबाट बरामद गरिएका लाइसेन्ससहितका सातवटा हतियारका विषयमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकजनाले तीनवटासम्म हतियार लिनसक्ने कानुनी प्रावधान छ । उनले आफ्नो नाममा तीनवटा र श्रीमतीको नाममा तीनवटा हतियारको इजाजत लिएका थिए । अर्को हतियार इजाजत लिएपछि एयरगन राख्न पाइन्छ । उनको घरबाट गोली पनि बरामद भएको छ भनेर नयाँ पत्रिकामा खबर छ । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा अभियुक्त सिंहले भने आफूलाई विभिन्न व्यक्तिले धम्की दिने गरेकाले हतियार राखेको दाबी गरे । त्यस्तै अवैध रूपमा राखिएका जनावरका सिङलगायतका अंग भने बुबाको समयदेखि नै आफ्नो घरमा रहँदै आएको उनले बताए ।

उच्च प्रहरी अधिकारी तथा नेताहरूसँग आफ्नो घनिष्टता भएको भन्दै सिंहले धेरै व्यक्तिलाई पीडित बनाएको एसएसपी खरेल बताउँछन् । सिंहविरुद्ध प्रकाश बस्नेतलगायतका व्यक्तिले निवेदन दिइसकेका छन् । बस्नेत पनि विवादास्पद व्यक्ति भएको स्रोत बताउँछ ।

सिंहको पैसा लगानी गर्ने तरिका बताउँदै काठमाडौं प्रहरी परिसरका एसपी नारायणसिंह खड्का भन्छन्, ‘पैसा तिर्ने निश्चित म्याद सकिएपछि मागेअनुसार रकम नदिए अपहरण गरेरसमेत उनले पैसा उठाउँदै आएका छन् ।’ पैसा नदिएको भन्दै उनले जबर्जस्ती नियन्त्रणमा लिएको एक व्यक्तिको बा.४च ५०३० नम्बरको गाडी पनि प्रहरीले उनको घरबाट बरामद गरेको छ । कार्यक्रममा एसएसपी रमेश खरेलले सिंहलाई भने, ‘तपाईंले धेरै पाप गर्नुभएको छ ।’ प्रत्युत्तरमा सिंहले भने, ‘मलाई धेरै पापी नभन्नुस् एसएसपी सा’ब, म आफैँ पीडित छु ।’

प्रहरी अधिकारीका अनुसार खासगरी हाउजिङ तथा घरजग्गा व्यवसायीलाई सिंहले चर्को ब्याजदरमा पैसा लगानी गर्दै आएका छन् । प्रहरीले बरामद गरेकामध्ये धेरैवटा चेक हाउजिङ कम्पनीले उनलाई दिएका छन् । हस्ताक्षर गरिएका केही खाली चेकसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

ओरियन्टल हाउजिङका सुधीर बस्नेत, अर्बिट इन्टरनेसलका उद्धव केसी, पस्मिना व्यवसायी राजाराम बानियाँलगायतलाई उनै सिंहले चर्को ब्याज लिएर डुबाएको स्रोत बताउँछ ।

सिंहविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गर्दै आएको छ । अनुसन्धानका लागि प्रहरीले बरामद गरेका चेक पनि महत्त्वपूर्ण हुने प्रहरी अधिकारी बताउँछन् । उनले ललितपुर जिल्ला अदालतमा बाउन्स चेक पेस गरी ५० विभिन्न व्यक्तिविरुद्ध ५० करोडभन्दा धेरै रकमको माग गरेका छन् । यस हिसाबले उनको झन्डै एक अर्बबराबरको लेनदेन रहेको प्रस्ट भएको प्रहरी अधिकारीहरू बताउँछन् । वैध व्यवसाय केही नभएकाले जबर्जस्ती पैसा असुली गरेर नै उनले सम्पत्ति जोडेको देखिएको प्रहरीको भनाइ छ । उनीविरुद्ध गत वर्ष नै ललितपुर प्रहरीमा उजुरी परे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

,

news and entertainment