हराइरहेको विमानले यसरि रुट नै परिवर्तन गरेको खुलासा
२८ फाल्गुण, एजेन्सी ।
शनिबारदेखि हराइरहेको मलेसियाली विमानले यसको नियमित भन्दा फरक रुट लिएको खुलासा मलेसियाली बायु सेनाले गरेको छ ।
सेनाको राडारले विमानले अनपेक्षितरुपमा रुट बदलेर पश्चिमतर्फ लागेको देखाएको छ ।
शनिबार विहान २३९ जनालाई लिएर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको Flight MH370 बोइङ विमानको अवस्था हाल सम्म अज्ञात छ ।
विमानको खोजी कार्य ब्यापक र तिव्र तुल्याइएको छ ।
यस अघि विमानमा सवार २ जनाको राहदानी नक्कली रहेको र उनीहरु इरानी रहेको खुल्न आएपनि उनीहरुको कुनै आतकंवादीहरुसँग भने सम्बन्ध नरहेको देखिएको अधिकारीहरुले बताएका थिए ।
इन्टरपोलको इरानस्थित कार्यालयले २ इरानीको कुनै आपराधिक पृष्ठभुमी नरहेकी प्रष्ट पारिसकेको छ । २ मध्ये एक जना आप्रबासीकोरुपमा जर्मनी जान लागेको पनि खुलेको छ ।
यस अघि विमान मलाक्का खाडीमा दुर्घटनामा परेको हुन सक्ने अनुमान सार्वजनिक भएका थिए ।
मलेसियाली सेनाले मलाक्कामा विमान दुर्घटनाका अवशेष फेला परेको हुन सक्ने बताएको थियो ।
मलेसियाका अधिकारीहरुले शुरुमा हराइरहेको विमान क्वालालम्पुरबाट उडेको र दक्षिणी चाइना सागरको भियतनाममा पर्ने प्रयद्वीपमा खसेको अनुमान गरेका थिए ।
तर विमानले उडेको केही समयमै क्वलालम्पुर फर्किने प्रयास गरेको संकेत देखिएको छ ।
अधिकारीहरु विमानलाई के भयो र कहाँ गयो भन्ने विषयमा प्रष्ट छैनन् ।
विमानमा २ तिहाइ भन्दा बढी यात्रु चिनियाँ छन् । बाँकि मध्ये कतिपय एसियाली र उत्तर अमेरिकी तथा युरोपका छन् ।
५ दिन सम्म पनि विमानको अवस्था थाहा हुन नसकेपछि यात्रुका आफन्तहरु भने शोकमा डुवेका छन् ।
