मलेसियाको हराइरहेको विमान अनपेक्षित रूपमा फर्केको हुनसक्ने

क्वाला लम्पुर। मलेसियाको हाल हराइरहेको २३९ यात्रु सहितको विमान अनपेक्षित रूपमा फर्केको अनुमान गरिएको छ । अकस्मात् हराइरहेको उक्त विमानका विषयमा अधिकारीहरूले आतङ्कवादी आक्रमणसम्बन्धी अनुसन्धान जारी राखेका छन् भने उक्त विमानमा चोरी भएको राहदानी लिएका यात्रुहरू रहेको बताइएको छ ।
मलेसिया एयरलाइन्सको उडान एमएच ३७० मा क्वाला लम्पुरबाट बेइजिङतर्फ उडानको रहेको उक्त विमान शनिबार मलेसिया तथा भियतनामबीचको सामुन्द्रिक क्षेत्रमा पुगेर राडारबाट हराएको थियो । उक्त विमान आतङ्वादको शिकार भएको विषयमा हालसम्म प्रमाण फेला परेको छैन ।
उक्त विमान आफ्नो औपचारिक मार्गबाट बाहिरिएको सङ्केतले उक्त विमानमा रहेका यात्रुका नातेदारलाई अझै तनावमा पार्ने बताइन्छ ।
मलेसियाका वायुसेना प्रमुख जनरल रोडजाली दाउदले राडारको तथ्याङ्क औँल्याउँदै विमान आफ्नो औपचारिक मार्ग छोडेर फर्केको स्पष्ट सम्भावना देखिएको बताउनुभयो ।
मलेसिया एयरलाइन्सका प्रमुख कार्यकारी अधिकारी अहमद जौहरी याह्याले यसो भएमा बोइङ ७७७ को उक्त विमानले यस सम्बन्धी सङ्केत दिनुपर्ने बताउनुभयो ।
उहाँले यस्तो अवस्थामा विमान चालकले योजनावद्ध रूपमा काम गर्न नसक्ने बताउनुभयो ।
मलेलियाली अधिकारीहरूले मुलुकको पश्चिमी तटीय क्षेत्रमा उक्त विमानको भग्नावशेष खोजिरहेका छन् । उनीहरूले पहिले दक्षिणी चिनियाँ जलक्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेका थिए ।
मलेसिया, चीन तथा अमेरिकाका ४० जहाज तथा २२ विमानले उक्त विमान खोजिरहेको बताइएको छ । अस्ट्रेलियाका दुई खोजविमान पनि यस अभियानमा संलग्न हुने बताइएको छ ।
उक्त विमानमा युरोपेली राहदानी चोरेका दुई व्यक्ति रहेको बताइएको छ । मलेसियाको यातायात मन्त्री हिसामुद्दिन हुसेनले ती यात्रुहरूको खोजी भइरहेको बताउनुभयो ।
उहाँले यस विषयमा विस्तृत विवरण दिनु अस्वीकार गर्नुभयो । उहाँले अमेरिकी सङ्घीय अनुसन्धान विभाग (एएफपीआई) ले मलेसियामा आफ्ना कर्मचारी पठाएको स्वीकार गर्नुभयो ।
मलेसियाका गुप्तचर सेवा सक्रिय भएको तथा सम्बन्धित मुलुकका आतङ्कविरोधी एकाइहरूलाई पनि जानकारी दिइएको उहाँले बताउनुभयो । उहाँले उक्त विमान अपहरण भएको हुनसक्ने कुरालाई पनि अस्वीकार गर्नुभएको छैन ।
मलेसियाली प्रधानमन्त्री नजिब रजाकले द स्टार समाचारपत्रलाई आफूहरूले सुरक्षाका विषयमा पुनरावलोकन गरिरहेको र त्यसलाई विस्तार गर्नसक्ने बताउनुभयो ।
यस अनुसन्धानलाई सहयोग गर्न बोइङको प्राविधिक सल्लाहकार तथा अमेरिकी सङ्घीय उड्डयन प्रशासनले कर्मचारी खटाएको बताइएको छ । एएफपी

, ,

news and entertainment