३० करोडको चेक सहित रमेश खरेल बाट समातिएका 'महेशबहादुर सिंह आज सार्वजनिक'

फागुन २५,
काठमाडौँ । काठमाडौँ उपत्यकामा विभिन्न व्यक्तिलाई चर्को ब्याज दरमा रकम लगानी गर्ने र धाकधम्की दिई रकम असुली गर्दै आएका ललितपुरका महेशबहादुर सिंहलाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौँले सिंहलाई शुक्रबार पक्राउ गरेको थियो । उपत्यकामा विभिन्न व्यक्तिबाट जबर्जस्ती रकम असुल्ने, चर्को ब्याजदरमा रकम लगानी गर्ने, धाकधम्की दिई लेनदेनको कागज गराउने र नमानेको खण्डमा अपहरणसमेत गर्ने आरोप सिंहमाथि लगाइएको छ।पछिल्लो समय सिंहविरुद्ध अपहरणको मुद्दा दायर भएपछि काठमाडौँको कङ्लकीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो।

सिंहविरुद्ध अहिले अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको परिसरका प्रहरी उपरीक्षक नारायणसिंह खड्काले जानकारी दिनुभयो ।

पक्राउपछि सिंहको ललितपुरस्थित घर खानतलासी गर्दा हातहतियार र संरक्षित वन्यजन्तुका विभिन्न अङ्गसमेत बरामद भएको छ । प्रहरीले सिंहका घरबाट गर्धनसहित सिङ, कान र मुख भएको एक हरिण, सिङसहितको सिंहको दुई टाउको अन्य सिङ चारसमेत गरेर वन्यजन्तुका सात अङ्ग बरामद गरेको हो ।

ती वस्तु बाबुबाजेको पालादेखिको भएको सिंहको जिकिर भए पनि संरक्षित वन्यजन्तुको अङ्ग राख्न नपाउने कानुनी व्यवस्था भएको प्रहरीको भनाइ छ ।

यस्तै प्रहरीले सिंहको घरबाट एयर गनसहित आठ नाल हतियार, १३६ राउन्ड गोली र दुई म्याग्जिन बरामद गरेको छ । बरामद हतियारको जिल्ला प्रशासन कार्यालयबाट जारी इजाजतपत्र पेस गरेको भए पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । “एक व्यक्तिले एउटा र सगोल परिवारले छ वटासम्म हतियार राख्न पाउने कानुनी व्यवस्था छ”–प्रहरी उपरीक्षक खड्काले भन्नुभयो, “एकै परिवारले यति धेरै हतियार किन राख्नुपर्यो, यस विषयमा अनुसन्धान गरिरहेका छौँ।”

हेटौँडामा हुर्किएर ललितपुर बस्दै आएका सिंहले एक दशकदेखि विभिन्न व्यवसायी र क्यासिनो जाने लत भएका व्यक्तिलाई ऋणको रुपमा रकम दिने र त्यही दिएको रकमको १२० प्रतिशतसम्म ब्याज असुल्दै आएको प्रहरीले जनाएको छ । उनले रकम दिन नसक्ने व्यक्तिलाई गुन्डागर्दी शैलीमा धम्क्याउदै रकम असुली गर्ने गरेको उजुरी प्रहरीसँग छ । ऋणीले पैसा नबुझाएपछि चेक बाउन्स गराई मुद्दा हालेर ऋणीलाई धम्काउने कामसमेत गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिंहबाट विभिन्न व्यक्ति, संस्था तथा कम्पनीका नाममा रहेको रु ३५ करोड २९ लाख ५५ हजार ६०० ७५ वटा चेकसमेत बरामद गरेको छ । यसैगरी विभिन्न हाउजिङ कम्पनी र व्यक्तिको नामको खाली ११ चेकसमेत प्रहरीले फेला पारेको छ ।

सिंहविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको र राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु ऐन, रकम असुलीलगायत मुद्दामा पनि कारबाही अगाडि बढाइने प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो । 

, ,

news and entertainment