को हो सबैभन्दा धनी मन्त्री ?
५ चैत, काठमाडौं । सुशील कोइराला नेतृत्वको सरकारमा रहेका १८ मन्त्री, एक राज्यमन्त्री र प्रधानमन्त्रीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । एमाले नेता एवं नागरिक उड्डडन तथा पर्यटन मन्त्री भीम आचार्यको मात्र सम्पत्ति सार्वजनिक हुन बाँकी छ ।
प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतिका आधारमा उनीहरुको वर्ग पहिचान गर्दा प्रधानमन्त्री सुशील कोइरालाले भूमिहीन सुकुम्वासीको प्रतिनिधित्व गरेका छन् । कृष्णप्रसाद भट्टराईपछि सम्भवतः कोइराला नै पहिलो गरीब प्रधानमन्त्री हुन् । भूमिहीन वर्गका प्रतिनिधि प्रधानमन्त्री कोइरालासँग तीनवटा मोबाइलबाहेक अरु सम्पत्ति नरहेको विवरणमा उल्लेख छ ।
सरकारमा सहभागी अन्य मन्त्रीहरुको भने वर्गधरातल जग्गाजमीन, बैंकको शेयर, व्यापार, सुद, आदिमा टिकेको देखिन्छ । घरभाडा, सहकारी, बैंक, वित्तीय संस्था, विद्यालय, मेडिकल कलेज, कारखाना आदिमा लगानी गरेर त्यसको ब्याज एवं मुनाफाबाट जिविकोपार्जन गर्ने अधिकांश मन्त्रीहरु कृषिमा आधारित भन्दा पनि वित्तीय पुँजीमा टिक्ने पुँजीपति वर्गका प्रतिनिधि जस्तै देखिएका छन् ।
केही मन्त्रीले भने आफ्नो सम्पत्ति विवरणमा घरखेतको समेत विवरण भरेका छन् । तर, उनीहरु त्यहाँ आफैंले खेती नगर्ने भएकाले अधियाँ उठाउने जमिन्दारी प्रथाका प्रतिनिधि देखिएका छन् ।
गाई बाख्रा पाल्ने एकजना मात्रै
कुनै पनि मन्त्रीले आफ्नो सम्पत्ति विवरणमा चौपायाको विवरण भरेका छैनन् । तर, उद्योग मन्त्री एवं बाजुराका एमाले नेता कर्णबहादुर थापाले भने १५ वटा बाख्रा र तीनवटा गाई आफूसँग रहेको उल्लेख गरेका छन् । ती चौपायाको स्रोत ‘पुस्तौनी’ रहेको मन्त्री थापाले आफ्नो विवरणमा उल्लेख गरेका छन् ।
http://www.onlinekhabar.com/
