टेस्ट टिमसंग नडगमगाएको नेपाल
‘एउटा एमेच्योर खेलाडीका रूपमा विश्वकप खेलिरहेका छौं, त्यसमा देशका लागि सक्दो योगदान दिनु नै हाम्रा लागि त्यही नै गौरव हो,’ शरद भेषावकरले खेल सकिएपछि दिएको यो प्रतिक्रियाले विश्व ट्वान्टी–२० मा आएर खेल्नु नेपालका लागि कति ठूलो सफलता हो भन्ने प्रस्ट्याउँछ।
स्वाभाविक नै थियो, टेस्ट खेल्ने राष्ट्रविरुद्धको पहिलो भेटमा नेपालले बंगलादेशसँग ठूलो अपेक्षा गरेको थिएन। जाहुर अहमद चौधरी स्टेडियममा टिमले जुन प्रदर्शन गर्योप, त्यही नै नेपालका लागि जित बराबर थियो। टस हारेको नेपालले ५ विकेट गुमाई १ सय २६ रन बनायो। बंगलादेशले २७ बलअघि लक्ष्य पूरा गरिदियो।
‘सीमित स्रोत र सुविधा भएको हाम्रो मुख्य पक्ष भनेको टिम स्पिरिट हो,’ शरदले भने, ‘यु–१९ मा हामीले धेरै पटक ठूला टोलीसँग खेलेका थियौं। टेस्ट खेल्ने टोलीसँग पहिलोपल्ट खेलियो। हामीले निकै मिहिनेत गरेका थियौं, तर नतिजा हाम्रो पक्षमा आएन। हामीले जुन अवसर पायौं, त्यसमा रमाएका छौं।’
नेपालको सुरुआत राम्रो रहेन। सुवास खकुरेल ८ र सागर पुन १२ रन बनाई आउट भए। पहिलो बलमै ३ रन जोडेका उपकप्तान ज्ञानेन्द्र मल्ल २ चौका प्रहार गरी १३ रनमा आउट भए। कप्तान पारस खड्का र शरदले चौथो विकेटमा ८५ रन जोडेपछि नेपालले आफ्नो हिसाबमा राम्रो स्कोर बनायो। यो साझेदारी आइसिसीको आधिकारिक प्रतियोगितामा नेपालको सबैभन्दा ठूलो हो। अघिल्लो दिन ज्ञानेन्द्र र पारसले हङकङविरुद्ध ८० रन जोडेका थिए।
‘ज्ञानेन्द्रको विकेट हामीलाई महत्वपूर्ण थियो, किनभने उनी उत्कृष्ट फर्ममा थिए। ज्ञानेन्द्र आउट भएपछि हामीलाई केही अप्ठेरो भयो,’ नेपालका प्रशिक्षक पुबुदु दासानायकेले भने, ‘पारस र शरद १५ ओभरसम्म टिके १ सय रन बनाउने योजना थियो, तर त्यसअनुसार हाम्रो ब्याटिङको अन्त राम्रो भएन। तर पूरा प्रदर्शनबाट म खुसी छु, किनभने हामीले बलियो टोलीविरुद्ध राम्रो ब्याटिङ प्रदर्शन गर्यौंर। प्राविधिक रूपमा हाम्रो खेल धेरै राम्रो भयो।’
पारसले ४१ रन बनाए। अघिल्लो खेलमा हङकङविरुद्ध पनि यही स्कोर बनाएका पारसले ३५ बल खेल्दा ५ चौका प्रहार गरे। दुईपटक स्टम्पआउट हुनबाट जोगिएका शरदले ४० रन बनाए। उनले ४३ बल खेल्दा ५ चौका हाने। अन्तिम ओभरअगाडि क्रस गर्न खोज्दा लेग साइडबाट स्टम्प उडेको थियो। अन्तिम ओभरको पहिलो बल डट खेलेका शरदले दोस्रोमा एक रन लिए। त्यसपछिको बल वाइड भए पनि विनोद भण्डारीले पछिल्लो चार बलमा कुनै रन बनाउन सकेनन् र अन्तिम बलमा १ रन लिन खोज्दा शरद रनआउट भए।
बंगलादेशका मुख्य हतियार शकिब अल हसन थिए। देब्रेहाते शकिबले ४ ओभरमा २२ रनमात्र दिए पनि कुनै विकेट लिन सकेनन्। अल अमन हुसैन म्यान अफ द म्याचमा चुनिए। तीव्र बलर हुसैनले ४ ओभरमा १७ रनमात्र खर्चेर २ विकेट लिएका थिए। बंगलादेशको मुख्य हतियार स्पिन भए पनि नेपाली ब्याट्सम्यान तीव्र बलरमा केही कमजोर देखिएकाले बंगलादेशले हुसैनसहित तीव्र बलिङमै जोड दिएको थियो। नेपालले विनोद भण्डारीअघि शरदलाई पाँचौं नम्बरमा ब्याटिङमा पठाउने यही एक कारण थियो।
‘साँच्चै भन्ने हो भने हामीलाई यस्तो घाँसे विकेटमा खेल्ने बानी पनि छैन,’ शरदले भने। म्यान अफ द म्याच हुसैनले शीतका कारण नेपाल र बंगलादेशका स्पिनरलाई निकै अप्ठेरो परेको बताए।
हङकङसँग नेपालले पावर प्लेको पहिलो ६ ओभरमा ४४ रन जोडेको नेपालले बंगलादेशविरुद्ध ३८ रनमात्र जोड्यो। सोमपाल कामीको पहिलो ओभरमा १ चौका र १ छक्कासहित १३ रन जोडेको बंगलादेशले त्यही पावर प्लेमा बिनाक्षति ५३ रन जोडेर खेल आफ्नो नियन्त्रणमा लिएको थियो। ओपनरद्वय तमिम इकबालले २२ बलमा २ चौका र १ छक्कासहित ३० र अनामुल हकले ३३ बलमा ५ चौका र २ छक्कासहित ४२ रन बनाए। इकबाललाई वसन्त रेग्मीले आउट गरे भने हकलाई सागर पुनले शानदार फिल्डिङमा रनआउट गरे।
नेपालले मंगलबारको खेलमा कुनै छक्का प्रहार गर्न सकेन। त्यसको तुलनामा बंगलादेशले ८ छक्का प्रहार गर्योब। शकिब एक्लैले ४ छक्का हाने। शक्ति गौचनलाई एकै ओभरमा ३ छक्का प्रहार गरेका शकिबले १८ बल खेल्दा १ चौकासहित अविजित ३७ रन बनाए। सबिर रहमान २२ रनमा अविजित रहे आजको नागरिकले छापेको छ |
लगातार दोस्रो विजयले बंगलादेशको सुपर टेनमा पुग्ने सम्भावना बलियो भएको छ। नेपाल र अफगानिस्तानले १–१ विजय पाएका छन्। हङकङले दुवै खेल हारिसकेको छ। बिहीबार नेपाल र अफगानिस्तान तथा बंगलादेश र हङकङबीच खेल हुनेछ।
