इलामको दुर्घटनामा एकको मृत्यु, पाँच घाइते
१२ चैत, मङ्गलवारे (इलाम) । इलामको गोदकमा आज भएको पिकअप दुर्घटनामा पिकअप चालक नरबहादुर लुङ्गेलीको मृत्यु भएको छ भने पाँच जना सख्त घाइते भएका छन् ।
गोदक–४ स्थित माइबेनी भन्ने स्थानबाट तल खस्दा पिकअप चालक २३ वर्षीय नरबहादुर लुङ्गेलीको उपचारको क्रममा कन्काई अस्पताल विर्तामोडमा मृत्यु भएको हो ।
दाउरा लिन गइरहेको बा ७ प ५०० नम्वरको पिकअप सडकबाट करिब ३०० मिटर तल खस्दा गोकद–४ का ५५ वर्षीय दीलबहादुर मोक्तान, मोक्तानकी नातिनी तीन वर्षीया स्नेहा तामाङ, २८ वर्षीय रमेश श्रेष्ठ, उनका छोरा डेढ वर्षीय रोमन श्रेष्ठ र तीन वर्षीय सन्देश लुङ्गेली मगर घाइते भएका हुन् ।
घाइतमध्ये दिलबहादुर मोक्तान र रोमन श्रेष्ठको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरू सबैको कन्काई अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । रासस
