आमाछोरी बेच्नेलाई ३० वर्ष कैद

त्रिशूली, दुई नाबालिका र एक महिला गरी तीन जनालाई भारतमा लगी बेचेको अभियोग लागेको तीन जना युवकलाई जिल्ला अदालत नुवाकोटले तीस/तीस वर्षको कैद सजाय सुनाएको छ ।

मानव बेचविखनमा संलग्न उर्लेर्नी–९ का २५ वर्षीय मनोज परियार, शिखरवेंसी–३ का २५ वर्षीय कान्छा भन्ने रवि नेपाली र सोही वडाका २४ वर्षीय बसन्त परियार नेपालीलाई जिल्ला अदालतले आज जनही तीस÷तीस वर्ष कैद सजायको फैसला दिएको हो ।

जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासबाट आज बेचविखनमा संलग्न तीन जनालाई जनही तीस÷तीस वर्ष कैद सजाय, जनही रु दुई लाख ५० हजार रूपैयाँ जरिवाना र पीडित युवतीहरूलाई जनही रु एक लाख २५ हजार क्षतिपूर्ति भराउने फैसला भएको अदालतका श्रेष्तेदार केशव पराजुलीले बताउनुभयो ।

यो फैसला नुवाकोटको मानव बेचविखन तथा ओसारपसारको आपराधिक इतिहासमा अहिलेसम्मकै सबैभन्दा लामो सजाय हो । मानब बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुसारको सो फैसला भएपछि ओरोपितहरूलाई जेल चलान गरिएको छ ।

उनीहरूले थानसिङ गाविसका ६ र ८ वर्षका दुई नाबालिका छोरीसहित एक २६ वर्षीया युवतीलाई २०६८ चैत १२ गते ललाइफकाई भारत पु¥याएर बिक्री गरेका थिए ।
युवती दलित समुदायकी हुन् । जागिर लगाइदिन्छु भनेर उनलाई भारत पु¥याएर पीडकहरूले बिक्री गरेका थिए ।

युवतीले भारतबाटै माइतीमा फोन गरी दलालहरूको विवरण दिएपछि युवतीका दाजुले २०६९ भदौ ९ गते जाहेरी दर्ता गराएका थिए । युवतीको दाजुको जाहेरीको आधार पीडकहरू पक्राउ परेका थिए । पीडित युवती कोठीबाट भाग्न सफल भई २०६९ माघमा नेपाल आएर अदालतसामु बयान दिएकी थिइन् । रासस

, , ,

news and entertainment