अजिङ्गरको छालासहित पक्राउ
११ चैत, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुर र केन्द्रीय अनुसन्धान ब्युरोको संयुक्त टोलीले हेटौँडा १० टिसिएनबाट अजिङ्गरको छाला र बाघको हड्डी सहित एक युवकलाई पक्राउ गरेको छ ।
हाँडीखोला गाविस १ का २५ वर्षिय राजु लोप्चनलाई अजिङ्गरको छाला र बाघको हड्डी सहित प्रहरीले पक्राउ गरेको हो । हेटौडा नगर पालिका १० टिसिएनबाट लोप्चनलाई प्रहरीले सुरकाकीको आधारमा पक्राउ गरी उनको साथबाट १६ फिट सात इन्च लम्बाईको अजिङ्गरको छाला र एक केजी चार सय ग्राम तौलको बाघको हड्डी बरामद गरेको हो ।
बहुमुल्य बन्यजन्तुको छाला र हड्डीहरु विशेष गरी नेपालबाट विभिन्न नाका हुँदै चीनमा तस्करी हुने गरेको प्रहरीले जनाएको छ ।
बरामद गरेका बन्यजन्तुको छाला र हड्डी प्रहरीले आवश्यक कार्वाहीका लागि जिल्ला वन कार्यालय मकवानपुरमा बुझाएको प्रहरी उपरिक्षक गणेश बहादुर ऐरले जानकारी दिएका छन् ।
