एमाओवादीद्वारा सदन अवरुद्ध


parliament
काठमाडौ, वैशाख ४ - कृष्णप्रसाद अधिकारी हत्याका अभियुक्तविरुद्ध मुद्दा चलाएको विरोधमा एमाओवादीले बुधबार संसद् अवरुद्ध गरेको छ । सभामुख सुवासचन्द्र नेम्वाङले एक घन्टा सदन स्थगन गरी सरकार र प्रतिपक्षबीच सहमति प्रयास गराए पनि त्यो सफल हुन सकेन । त्यसपछि उनले बिहीबार अपराह्न सम्मका लागि बैठक स्थगन गरे ।
चितवन प्रहरीले १३ जनाविरुद्ध आइतबार जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैदको मागदाबी गरी अभियोग पत्र दर्ता गरेको थियो । तीमध्ये दुई जना हिरासतमा छन्् । अदालतमा दुवैको बयानपछि थुनछेकको बहस जारी छ । यसलाई शान्ति प्रक्रिया भाड्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै एमाओवादीले अभियुक्तहरू रिहा नभएसम्म सदन चल्न नदिने अडान राखेको हो ।
सत्यनिरूपण तथा मेलमिलाप आयोग गठनको मुखमै द्वन्द्वकालीन घटना उछालेर सरकारले शान्ति प्रक्रिया धरापमा पार्न खोजेको एमाओवादी आरोप छ । पूर्वप्रधानमन्त्री एवं एमाओवादी नेता बाबुराम भट्टराईले चैत ३० गते प्रधानमन्त्री निवास बालुवाटारमा भएको ३ दलको अनौपचारिक बैठकमा द्वन्द्वकालीन घटनाका विषयमा मुद्दा नचलाउने सहमति भएको दाबी गरे ।
'कांग्रेस र एमालेका वरिष्ठ नेताहरूले नै यो मुद्दा चलाउने विषय होइन भन्नुभएको थियो,' उनले भने, 'त्यस विपरीत प्रधानमन्त्रीले कसको दबाबमा मुद्दा चलाउने ठाडो आदेश दिनुभएको हो ? यसले गम्भिर शंका उब्जाएको छ ।'
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको भनाइ उद््घृत गर्दै भट्टराईले प्रधानमन्त्री सुशील कोइरालालाई शान्ति प्रक्रिया विरोधीका रूपमा चित्रित गरे । 'तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासंग हाम्रो अन्तरंग कुराकानी हुँदा उहाँले आफ्नै वरपरका मान्छेबाट शान्ति प्रक्रियामा बाधा परेको बताउनुहुथ्यो,' उनले भने, 'अहिलेका प्रधानमन्त्री उहाँको निकट सहयोगी हुनुहुन्थ्यो । कतै गिरिजाप्रसादले इंकित गरेका व्यक्ति उहाँ नै त होइन ?'
भट्टराईले शान्ति प्रक्रिया भाँड््ने उद्देश्यले द्वन्द्वकालीन घटना उछालेर गम्भीर मुद्दा लगाएको आरोप लगाए ।
'केही अघि मात्रै पक्राउ गरी प्रहरीले नै मुद्दा लगाउन मिल्दैन भनेर रिहा भएकालाई पुनः पक्राउ गरी मुद्दा दायर गरिएको छ,' उनले भने, 'द्वन्द्वकालमा भएको उक्त घटना सत्यनिरूपण तथा मेलमिलाप आयोगको क्षेत्राधिकारको विषय हो ।'
एमाओवादी अवरोधकै कारण सरकारले सदनमा वेपत्ता भएका व्यक्ति छानविन, सत्यनिरूण तथा मेलमिलाप आयोग विधेयक प्रस्तुत गर्ने पाएन । यसअघि एमाओवादीले उक्त विधेयक ल्याउन सरकारले ढिलाई गरेको विरोधमा सदन अवरुद्ध गरेको थियो ।
एमाओवादी नेता जनार्दन शर्माले द्वन्द्वकालीन घटनामा आफ्ना कार्यकर्ता विरुद्धको मुद्दा फिर्ता नभए प्रधानमन्त्री कोइलाविरुद्ध पनि २०३० सालको विमान अपहरण काण्ड ब्युँताउने चेतावनी दिए । 'सरकार २०४८ मा रोल्पा-रुकुममा प्रहरी दमन गरेकै चेतनामा फर्केको छ,' उनले भने, 'क्रान्तिका लागि पहिले पनि हतियार उठेका थिए । प्रधानमन्त्री कोइराला स्वयं विमान अपहरण काण्डमा सहभागी हुनुहुन्थ्यो । हामीले यो प्रश्न किन नउठाउने ?' उनले पक्राउ परेकाहरू निर्दोष रहेको जिकिर गरे । मुद्दा फिर्ता गरी उनीहरूको रिहाइ नभएसम्म सदन चल्न नदिने उनले बताए । दोस्रो बैठकमा पनि एमाओवादी सांसदहरूले आसन ग्रहण नगरेपछि संसद् नियमित कार्यसूचीमै प्रवेश गर्न नपाएको हो । सदनमा प्रमुख प्रतिपक्षी दलका सदस्यहरूले आसन ग्रहण नगरे बैठक स्थगित गर्ने अभ्यास छ ।  

,

news and entertainment