यस्तो छ राष्ट्रपति र पूर्वराजालाई भेटाउने योजना
काठमाडौं, ७ वैशाख । राष्ट्रपति डा. रामवरण यादव र पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटाउन एक जना योगीले योजना बनाएको खुलासा भएको छ ।
पशुपतिको वनकालीमा महायज्ञ लगाएर चर्चामा आएका कट्टर हिन्दूवादी स्वामी कमलनयनाचार्यले राष्ट्रपति यादव र पूर्वराजा शाहलाई भेट गराउने योजना बनाएका हुन् ।
महायज्ञ समापन समितिका अनुसार, राष्ट्रपति यादव र उपराष्ट्रपति परमानन्द झाले वैशाख ९ गते वनकाली आउने जानकारी दिइसकेका छन् । उपत्यका बाहिरको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि त्यही दिन महायज्ञमा सहभागी गराउने कार्यक्रम छ ।
दुईजनाको छलफल सहितको भेट सम्भव नहुने भएकाले कमलनयनाचार्यले एकै दिन महायज्ञमा बोलाएर जम्काभेट गराउने तयारी रहेको महायज्ञ आयोजक मध्येका एकले जानकारी दिए ।
एक हप्तादेखि पशुपति बनकालीमा महायज्ञ संचालन गरिरहेको कमलनयनाचार्यको हातबाट आशीर्वाद लिन प्रधानमन्त्री सुशील कोइराला, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र माधव नेपालसम्मका नेताहरुलाई एकै ठाउँमा ल्याएर माटो र पानीको टीका लगाई आशीर्वाद दिए । यज्ञको दिनदेखि नै उनको महायज्ञमा नेताहरुको भीड लागिरहेको छ ।
महायज्ञ कार्यक्रम अनुसार वैशाख १० गते वनकालीबाट दुईवटा शोभायात्रा भक्तपुरको छालिङमा जानेछ ।