अस्पतालको सटरमा व्यवसायीको आकर्षण
लुम्बिनी अञ्चल अस्पतालको व्यावसायिक सटरमा लामो समयदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरूको चर्को विरोधका बाबजुद अस्पतालले ती सटरको टेन्डर प्रक्रियाद्वारा भाडामा लगाउन खुला गरेको टेन्डरमा अत्यधिक सङ्ख्यामा टेन्डर पर्ने देखिएको छ ।
सटर भाडामा लिनका लागि व्यवसायीले सोमबार ५ बजेसम्म टेन्डर भर्नका लागि फाराम खरिद गर्ने समय तोकिएकामा अन्तिम समयसम्ममा ७६४ भन्दा बढी फाराम बिक्री भएको अनुमानबाट पनि ती सटरमा व्यवसायीको आकर्षण बढेको देखिएको हो ।
अञ्चल अस्पताल प्रशासनका अनुसार सोमबार अन्तिम समयसम्ममा ७६४ भन्दा बढी फाराम बिक्री भएको र २०० भन्दा बढी टेन्डर दर्ता भएका छन् । अस्पतालले भदौ १ गते ७५ वटा व्यावसायिक सटर भाडामा लगाउन टेन्डर आह्वान गरेको थियो ।
आन्दोलित व्यवसायीले खुलेरै टेन्डर फाराम खरिद नगर्न अरु व्यवसायीलाई आग्रह गरे पनि अस्पतालको सटर भाडा सस्तो, बजारको मुख्य क्षेत्र, घरबेटीको अनावश्यक कचकच, पटकपटक भाडा वृद्धि र अन्य समस्याबाट मुक्त हुन व्यवसायीको यी सटरमा आकर्षण बढेको हो ।
व्यवसायीले खरिद गरेको फाराम आज १२ बजेसम्म दर्ता गर्नुपर्ने छ । आज अपराह्न १२ बजेसम्म बुझाएका टेन्डर फाराम र इन्टरनेटबाट फाराम भरेकाको समेत सङ्कलन गरी आजै २ बजे टेन्डर खुलाइने टेन्डर सूचनामा उल्लेख गरिएको छ ।
टेन्डर प्रक्रियालाई रद्द गर्न यहाँका व्यवसायी सङ्घसंस्था, राजनीतिक दल व्यवसायीहरूको समर्थन गरी काठमाडौँसम्मै पुगेर लबिङ गरे पनि अन्तिम समयसम्म टेन्डर रद्द हुने कुनै पनि सम्भावना देखिएको छैन ।
टेन्डर प्रक्रिया सुरु भएदेखि नै व्यवसायीको आन्दोलनले टेन्डरको निर्धारित सङ्ख्या नै नपुग्ने आशङ्का गरिए पनि आवश्यक ७५ टेन्डर फाराम बिक्री हुनुपर्नेमा आज अन्तिम समयसम्म ७६४ भन्दा बढी टेन्डर फाराम बिक्री भएको अञ्चल अस्पतालका मेडिकल रेकर्डर तथा प्रवक्ता लक्ष्मीराज रेग्मीले जानकारी दिए ।
