करिश्माले आफूलाई सन्तानसँग भेट्न नदिएकाले भन्दै आफ्नै पति विरुद्ध अदालतमा मुद्धा दायर
काठमाडौ, जेष्ठ ७ - बलिउड अभिनेत्री करिश्मा कपुरले हबी सञ्जय कपुरको साथ छोडेको केही वर्ष भइसकेको छ । यतिबेला दुवै डिभोर्सको कागजी प्रक्रियामा छन् । २००३ सेप्टेम्बरमा अचानक उद्योगपति सञ्जयसँग बिहे गर्नुअघि करिश्माको अभिनेता अभिषेक बच्चनसँग इंगेजमेन्ट भइसकेको थियो । प्रेमीसमेत रहेका अभिषेकलाई चक्मा दिँदै करिश्माले धनाढय पतिलाई रोजिन् । उक्त बिहे सञ्जयका लागि दोस्रो भए पनि करिश्माको भने पहिलो नै थियो । तर दुईबीचको वैवाहिक सम्बन्ध खास राम्रो हुन सकेन । यतिबेला करिश्माले डिभोर्स चाहिरहे पनि सञ्जय र उनको परिवार पक्षले भने डिभोर्स गर्न चाहिरहेका छैनन् । डिभोर्स दियो भने सञ्जयले ठूलै धनराशि गुमाउनुपर्ने डर पनि छ । तर यतिबेला पति सञ्जयले नै पत्नीविरुद्ध छोराछोरी भेट्न नदिएको आरोपमा मुद्दा हालेका छन् । उनले मुम्बईको बान्द्रा अदालतमा करिश्माले आफूलाई सन्तानसँग भेट्न नदिएकाले अन्याय भएको जिकिर गर्दै मुद्दा हालेका हुन् । कपुर दम्पतीका नौ वर्षीया छोरी र चार वर्षे छोरा
छन् । दुवैलाई करिश्माले आफ्नो साथमा राखेर हुर्काइरहेकी छन् । सञ्जयले बच्चाहरू आफूले राख्न पाउनुपर्ने जिकिर गरेका छन् । करिश्मा र सञ्जय अलग बस्न थालेको झन्डै दुई वर्ष भइसकेको छ । सञ्जयले हालेको मुद्दाका बारेमा भने करिश्माले केही बोल्न आवश्यक नठानेको उनका म्यानेजरले बताएका छन् ।
राष्ट्रिय अवार्ड विजयी करिश्मा 'मेरे जीवनसाथी' खेलेपछि बिहे गर्दै अभिनयबाट टाढिइन् । जब सञ्जयसँग उनी अलग बस्न थालिन्, पुनः फिल्ममा कमब्याक हुँदै २०१२ 'डेन्जरस इश्क' खेलिन् । तर उक्त फिल्म फ्लप भएपछि उनलाई करिअर अघि बढाउन मुस्किल परिरहेको बेला पारिवारिक तनावले झन् गलाउन थालेको छ ।
