फेसबुकमा रमेश खरेललाई ताली, वामदेवलाई गाली

, काठमाडौं । एसएसपी रमेश खरेललाई काठमाडौंको प्रहरी प्रमुखबाट हेडक्वार्टर सरुवा गर्ने प्रहरी प्रधान कार्यालयको निर्णयको आक्रोश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले गृहमन्त्री वामदेव गौतममाथि पोखेका छन् ।

एसएसपी खरेलले केही दिनअघि नेपाल पुलिस क्लब भृकुटीमण्डपको एक कार्यक्रममा डिआईजीहरु एआईजी बन्न पैसाको बि्रफकेस बोकेर नेता र मन्त्रीकहाँ धाइरहेको कडा टिप्पणीपछि उनलाई हेडक्वार्टर तानिएको हो । सोमबार बेलुका खरेललाई हेडक्वार्टर तानेर उत्तमबाबु कार्कीलाई काठमाडौंको प्रमुख बनाएपछि सर्वसाधरणले सामाजिक सञ्जालमा टिप्पणी गर्दै प्रहरीका हाकिम र गृहमन्त्री गौतमलाई भ्रष्टाचार गर्ने बाटो खुलेको प्रतिकि्रया दिएका छन् ।
काठमाडौंका प्रमुख बनेर आएपछि एसएसपी रमेश खरेलले यहाँको शान्तिसुरक्षामा अपेक्षित सुधार गरेको प्रतिक्रिया सर्वसाधारणले दिइरहेका बेला उनलाई हेडक्वार्टर तानिएपछि सामाजिक सञ्जालमा यस्ता प्रतिक्रिया आएका हुन् । खरेल काठमाडौं प्रहरी प्रमुख भएर आएपछि टोले मुन्द्रेदेखि देशमै चर्चित गुण्डालाईसम्म पक्रेर थुन्न सफल भएको भन्दै प्रशंसा भएको थियो । अर्कातर्फ राजनीतिक भाषण गरेर ‘हिरो’ बन्न खोजेको आरोप पनि उनीमाथि लाग्ने गरेको थियो ।
खरेलले नेपाल पुलिस क्लबमा दिएको मन्तव्यको छानविन गरेपछि उनलाई कार्यकाल पूरा नगर्दै हेड्क्वाटरमा तानिएपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको हो ।
महेश विष्टले फेसबुकमा लेख्दै यो निर्णयलाई कुनै आश्चर्यजनक नभएको उल्लेख गरेका छन् । ‘काठमाडौंका प्रहरी प्रमुख हटाइए,यो कुनै आश्चर्य थिएन, उचित मौकामात्र हेरिएको थियो’, विष्टले लेखेका छन्, ‘पछिल्लो समय मुलुकको शासन प्रणालीमा कब्जा गरेर बसेका तस्कर, माफिया र आपराधिक पेशामा संलग्नहरुका लागि एसएसपी रमेश खरेल आँखाका कसिंगर बनेका थिए, उनीहरुकै बलबुँतामा उनलाई हटाइयो ।’
खरेलको सरुवा गर्न सरकार कति आतुर रहेछ भन्ने कुरा सात दिनको म्याद राखेर छानबिन समिति गठन गरेको भोलिपल्टै हटाइनुले प्रष्ट पार्ने बताउँदै विष्टले खरेललाई लगाइएको आरोप अवैध धन्दा गरेर अकुत सम्पत्ति कमाउनेहरुबाट प्रेरित भएर लगाइएको जनाउँदै यसले देशमा घुसखोरी र तस्करीको डरलाग्दो तस्बीर देखाएको उल्लेख गरेका छन् ।
भ्रष्ट नेताहरुलाई कारबाही भएको भए नेपाल बन्द र तोडफोड हुने बताउँदै इमान्दार प्रहरी अधिकृतलाई हटाइँदा नबोल्ने समाजप्रति रविनबाबुले ट्वीटरमा घृणा व्यक्त गरेक छन् । ‘भ्रष्ट नेतालाई कारबाही भएको भए आज नेपाल बन्द तोडफोड भइसक्थ्यो तर इमान्दार प्रहरीलाई हटाइँदा कसले गर्ने ? इमान्दारिता र नैतिकता बेचिएको समाज !
वामदेव गौतमले अच्यूतकृष्ण खरेललाई पनि हटाएको प्रसंग कोट्याउँदै विनोद सुवेदीले यसरी ट्वीट गरेका छन्, ‘हैन हो भन्या ! खरेल बन्धुहरुसँग गृहमन्त्री वामदेव गौतमको पुख्र्यौली दुष्मनी रैछ कि क्या हो ! वामदेवको घानमा पहिले बिचरा अच्युतकृष्ण अहिले  रमेश !
गृहमन्त्री वामदेव गौतम र कानुनमन्त्री नरहरि आचार्यको तुलना गर्दै सुदीप श्रेष्ठले ट्वीट गर्दै दुबैले जनभावनामा चोट पुर्‍याउने काम गरेको जनाएका छन् । ‘आखिर वामदेव र नरहरिको अभीष्ट पूरा भइछाड्यो । एकले इमानदार प्रहरी हटाए, अर्काले बेइमान न्यायाधीश ल्याए’, श्रेष्ठले ट्वीट गर्दै भनेका छन् ।
नेपालका घुस्याहा नेता र अपराधीहरुको चाकडी गर्ने नागरिकप्रति लक्षित गर्दै कौशिकले यस्तो लेखेका छन्, ‘यो मुलुकमा घुस्याहा नेता र अपराधी मात्र हुन्, तिनै नेताको गुलामी गरेर बाँच्न चाहने जनता नै सबैभन्दा खराब हुन् ।
रमेश खरेललाई काठमाडौं प्रहरी प्रमुखबाट हटाइनुको कारण असार ८ को उपनिवार्चन भएको बताउँदै गोविन्द अधिकारीले रमेश खरेलले गुण्डा परिचालन गर्न रोक्ने भएकाले हटाइएको उल्लेख गरेका छन् । ‘खरेललाई हटाउनुको कारण चुनाव हो । खरेल हुँदा ढुक्कले गुन्डादल परिचालन गर्न अफ्ठेरो हुन्थ्यो । गुन्डाविना चुनाव चलाउनै नसकिने । अनि तीत्राको मुखै बरी, बस ।’
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

,

news and entertainment