चितुवाको आक्रमणवाट काठमाडौमा ३ घाइते
३ जेठ, काठमाडौं । कपन गाबिस–३ स्थित युवराज रेग्मीको घरको पछाडी भागमा लुकि बसेको चितुवाले आज बिहान आक्रमण गर्दा ३ जना घाइते भएका छन् ।
सो ठाउँमा चितुवा लुकी बसेको भत्रे सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग कपनबाट प्रहरी टोली पुगी वन कार्यालयलाई खबर गरी प्राबिधिक सहितको टोली गई चितुवालाई बेहोस बनाउने औषधी हाल्न लाग्दा ललितपुर जाउलाखेलस्थित सदर चिडियाखानामा कार्यरत ललितपुर जिल्ला गोदावरी–९ घर भएका ४३ वर्षीय बरिष्ठ भेटेनरी प्राविधिक राधाकृष्ण घर्तीलाइ चितुवाले आक्रमण गरी घाइते बनाएको छ ।
बायाँ कान, अनुहार, हात र खुट्टामा टोकेर घाइते भएका घर्तीको ओम अस्पताल चावहिलमा उपचार भइरहेको छ र अबस्था बोल्न सक्ने रहेको छ । चितुवाको आक्रमणमा परी प्रहरी नायव निरीक्षक मुकेश कुँबरको दायाँ हात र ढाडमा सामान्य चोट लागेको छ भने स्थानिय महिला ५१ वर्षीय देवकी पनेरुलाई समेत आक्रमण गर्दा अनुहारमा सामान्य चोट लागेको छ ।
चितुवाले अन्य मानिसहरु समेतलाई आक्रमण गर्न सक्ने सम्भावना भएकोले प्रहरीले गोली फायर गर्दा चितुवाको मृत्यु भएको छ । चितुवालाई वन कार्यालयका कर्मचारी मार्फत जिल्ला वन कार्यालय काठमाडौं पठाइएको छ ।
