दाइजो निहुँमा पतिले जिउँदै जलाए

कोहलपुर, बैशाख २३ –मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन् । शरीरको तल्लो भाग पूरै जलेकी लक्ष्मणपुर–८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो । चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको हो ।
रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ । तल्लो भाग चल्दैन । घाउ पाकेर पिप र रगत बग्न थालेको छ । उनलाई सोमबारै विभिन्न संघसंस्थाको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको छ ।
छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया–८, अहिरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगन्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरेका थिए । उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगन्जमा सहयोगको याचना गर्दै निवेदन दिएका थिए । त्यसपछि मात्र घटना सार्वजनिक भएको हो ।
समिमले पतिले आगो लगाई घाइते बनाइएकी छोरीको उपचार र न्यायमा आवश्यक सहयोग गरिपाऊँ भन्दै आइतबार इन्सेकमा निवेदन दिएका थिए । रिहानाले आइतबारै अस्पतालमा सातमहिने शिशु जन्माइन् तर बचेन ।
पीडित रिहानाका अनुसार दाइजो नल्याएको निहुँमा पति फरिद शेख उनलाई दिनहुँ यातना दिन्थे । गत चैत ३ गते भने यसले बीभत्स रूप लियो । त्यस दिन उनले पत्नीको ज्यानै लिने नियतले मट्टीतेल छर्केर आगो लगाइदिए । अब त मरिहाल्छे भनेर दुई दिनसम्म घरमै गुपचुप राखियो । नमरेपछि मात्र ६ गते बहराइच पुर्‍याइएको थियो भनेर आजको नागरिक दैनिकमा यो समचार छापिएको छ ।

,

news and entertainment