चुरोटमा अडिएको पुरुषार्थ
२०७१ जेठ १९ गते
अचेल युवा पुस्तामा सिग्रेट ‘सभ्यता’ भएको छ । मानौं, सिग्रेट नपिउनु भनेको पुरुषार्थ नै कमी हुनु हो । र, सिग्रेटमा नै जोडिएको छ, स्वाभिमान । नत्र, किन अचेल जुन कुनै चोक, चौतारी वा चिया पसलमा भेला भएका हरेक युवा सिग्रेटको धुँवामा मस्त हुन्छन् ? जो आफ्नो जीवनलाई चुरोटसँग दाँज्दै अझ सार्थक जीवन भएको भ्रममा बाँच्छन् ।
हो, म पनि अचेल यसको पीडा भोग्दैछु । पीडा यो कारण कि, जहाँ गए पनि उही सिग्रेटकै धुँवा । त्यो धुँवा उनीहरुले त खान्छन् नै । हामीलाई पनि अनायासै खुवाउँछन्, अर्थात खाजा खान पसलमा जाँदा समेत हामी समोसा, चाउमिन वा चियासँगै अरुले फालेको धुवाँ खाइरहेका छौं । कुनै त्यस्तो पसल छैन, जहाँ सिग्रेट पिउने केटाहरुलाई निषेध गरिएको होस । होलान्, कहिकतैं । तर, मेरो कार्यालय र घर आसपासमा त्यस्तो कुनै ठाउँ छैन । र, वाध्य छु, अरुले निलेर फालेको धुँवाको मूस्लोसँगै चिया, समोसा, चाउमिन वा अन्य नास्ता गर्न ।
जहींतहीं चुरोट आतंक । कहिलेकाँही त सोच्छु पनि चुरोटमा के त्यस्तो अलौकिक शक्ति छ ? नत्र, किन यो समाजका कथित वौद्धिकहरु, नेता, कवि, पत्रकार र विद्यार्थीहरुले समेत सिग्रेट पिउँछन् । यसमा निकोटिन बाहेक के छ ? के निकोटिनले नै मान्छेलाई यसरी विगारेको हो त ? (माफ गर्नुहोला म सिग्रेट पिउनेलाई विग्रेको भन्छु)
पैसा खर्च हुन्छ, स्वास्थ्लाई हानी गर्छ, मान्छेले हेर्ने दृष्टिकोण विग्रन्छ । तर, पनि सबै जान्दाजान्दै मान्छे किन जबरजस्त सिग्रेट पिउँछ ? बरु श्रीमती त्याग्न तयार हुनेले समेत सिग्रेट नछाडेको मेरै आँखाले देखेको छु । एकदिन चाँहि अति भएर के चाँहि रहेछ यो चुरोटमा जुन पिउँदा पुरुषहरु अद्भुत आनन्द पाएको आभास देखाउँछन भन्ने लागेर मैले पनि त्यसको स्वाद लिने कोसिस नगरेको होइन । तर, यसो एक सर्को तान्न नपाउँदैसर्किएर झण्डै मरेको । त्यसैपनि मलाई चुरोटको धुवा सँग एलर्जी थियो । चुरोट खाने मान्छे चाँहि मान्छे नै हैन भन्न खोजेको पनि हैन । तर म त्यस धुँवालाई चाहेर, नचाहेर आफ्नो वरिपरी घुम्न दिन पनि सक्दिन । चिनेजानेका मान्छेहरुले छेउमा बसेर चुरोट खाँदा मलाई अझै धेरै पीडा हुन्थ्यो, अझै हुन्छ त्यसैले भाबुक हुँदै सम्झाउन खोज्थेँ । उत्तरमा यस्तो जवाफ आउँथ्यो, ‘आजभोलि चुरोट नखाने १०० मा एक जना पनि भेटिदैन है ! हेरौला तिम्रो चुरोट नै नखाने श्रीमान परेको !
बिचरी म अब के बोल्न सक्थेँ । चुरोट नै नखाने श्रीमान पर्ला भन्ने पनि त केही ग्यारेन्टी छैन । मेरो बुवाले पनि पहिले घरमा खुब चुरोट पिउनुहुन्थ्यो । नुबुझ्ने हुँदासम्म त म आफै पनि चुरोट आगोमा सल्काएर बुवालाई दिन्थेँ । तर, बुझ्ने भएपछि मैले राएरै भएपनि बुवाको चुरोट खाने बानी छुटाएँ । मेरो ममीले गर्न नसकेको कुरा मैले गरेको देखेर मलाई ममले जीवनमा पहिलोपटक त्यति धेरै प्रसंसा गर्नुभएको थियो । चुरोटले क्षणिक आनन्द देला भन्नेमा म विश्वास नै गर्दिन । बरु बोतलको पानीले पीर, चिन्ताबाट क्षणिक आनन्द दिन्छ भन्नेसम्म चाँहि पत्याउँछु । नजिकका मान्छेले कति संघर्ष गर्दा त चुरोट छुट्याउन सकेका छैनन, मैले यो लेख त उहाँहरुलाई फाल्तु कुरा लाग्ने निश्चित नै छ । त्यसैले यतिसम्म भन्न सक्छु । तर आफै विचार गर्नुस, ‘धनमात्र होइन, तपाईंको स्वास्थ्य पनि हानी भइरहेको छ ।’
प्रश्न युवाहरुलाई मात्र होइन, आजकल केही ‘मोर्डन’ युवतीहरु पनि यही शहरमा छन्, जो चुरोटको सर्कोलाई नै आफ्नो जिन्दगी ठान्छन् । तर, त्यो चुरोटको धुँवासँगै उनीहरुको जिन्दगी पनि हावामा उडेको देख्दा दया लागेका आउँछ ।
(गौतम न्यूज २४ की समाचार प्रस्तोता हुन्)
इना गौतम
dainiknepal

