हेलमेट नलगाएको विषयमा स्थानीय र प्रहरीबीच झडप, तीन प्रहरीसहित दश घाइते
पर्साको जानकीटोला प्रहरी चौकीअगाडि प्रहरी र स्थानीयबीच बुधबार बिहान झडप हुँदा तीन प्रहरीसहित दश जना घाइते भएका छन्। झडप नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर गरेको छ। झडपमा आसवारी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक संजीव जयसवाल, हवल्दार विनय झा र जानकीटोला प्रहरी चौकीका हवल्दार जीवनाथ धिताल घाइते भएको बताइएको छ। प्रहरी नायब उपरीक्षक श्याम महतोले गाउँलेतर्फका घाइतेका नाम खुल्न नसकेको बताए। स्थितिलाई नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पोखरिया, इप्रका सेढवा, पाडेपुर, आसबारी र आसपासको चौकीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो।
गाविसका पूर्वअध्यक्ष कृष्णमोहन यादवका छोरा रञ्जन यादवले बुधबार बिहान हेलमेटबिनैजानकीटोला बजारमा मोटरसाइकल कुदाएको विषयलाई लिएर प्रहरीसँगं वादविवाद हुदां झडप भएको प्रत्यक्षदर्शीले जानकारी दिए। चेकपोष्टमा खटिएका प्रहरीमाथि रञ्जन यादवले कुटपिट गरेको भन्दै प्रहरी चौकीका इन्चार्ज असई हरिप्रसाद भुसालसँग वादविवाद हुँदा गाउँलेले मुखियाका छोरामाथि प्रहरीले अनाहकमा हातपात गरेको आरोप लगाउँदै जानकीटोला प्रहरीचौकीमा घेरा हाल्दै प्रदर्शनसमेत गरेपछि तनाव भएको थियो। प्रहरी नायव उपरीक्षक श्याम महतोले ट्राफिक नियमको पालनाका लागि आग्रह गर्दा गाउँमा छुट पाउनुपर्छ भन्दै गाउँलेले विरोध जनाउनु जायज नभएको बताए।
