दरबारमा गोलीकाण्ड, कयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक रुपमा अपुष्ट’

' पत्रकार पुस्करलाल श्रेष्ठको सम्झनामा दरबार हत्याकाण्ड '
जेठ १९ गते राती सदाझैं म अफिसको काम सिध्याएर करिब ९ बजेतिर घर गएको थिएँ । मेरो घर छाउनीस्थित आर्मी हस्पिटलको ठ्याक्कै पछाडिपट्टी थियो । त्यतिबेला म भर्खरै मात्र त्यहाँ सरेको थिएँ । घर पुगेको केही बेरमै त्यहाँ हेलिकोप्टर ल्याण्ड भएको आवाज सुनिन थाल्यो । शुरुमा त मैले त्यति वास्ता गरिन । त्यहाँ नजिकै हेलिप्याड, त्यहीँमाथि द्वन्द्वकालको बेलामा राती हेलिकोप्टर उड्नु सामान्य नै जस्तो थियो । त्यतिबेला घाइतेहरुलाई हेलिकोप्टरबाट त्यहाँ ल्याइने गरिन्थ्यो, त्यो दिन पनि त्यही होला भनेर मैले खासै ध्यान दिइँन । तर, जब निकैबेरसम्म हेलिकोप्टर र एम्बुलेन्सको आवाज गुञ्जिन थाल्यो, के भएछ भनेर म घरको छतमा चढेर हेर्न गएँ ।
जब म माथि गएर हेरें आर्मी हस्पिटलमा निकै चहलपहल थियो । त्यतिनै बेला मेरो मोबाइलमा फोन आयो । ‘दरबारमा बम पड्कियो’ भनेर खबर सुनाए । त्यसपछि लगातार फोन आउन थाल्यो । कसैले ‘दरबारमा गोली चल्यो’, कसैले ‘माओवादीले दरबारमा आक्रमण ग¥यो’ भन्ने खालका अपुष्ट समाचार सुनाउन थाले । त्यतिबेला रातीको करिब साढे १० बजिसकेको थियो । त्यसपछि ‘ठूलै घटना’ भएको भन्दै अफिसमा रहेका रिपोर्टर र नाइट डेस्कलाई फोन गरेर मैले ‘अलर्ट रहनु र मुख्य समाचार रोक्नु’ भनेर निर्देशन दिएँ ।
दरबारमा केही त भएको छ भन्ने त थाहा भयो तर के भएको हो भन्ने थाहा पाउन सकिरहेको थिइँन । त्यति नै बेला मेरो दिमागमा ठ्याक्क त्यतिबेला युवराज दिपेन्द्रका स्वकीय सचिव सौजन्य जोशीको सम्झना भयो । उहाँ कुनैबेला मलाई ट्युसन पढाउनुहुन्थ्यो । त्यसपछि मैले उहाँको मोबाइलमा सम्पर्क गर्न खोजें, लागेन । मोबाइल नलागेपछि मैले उहाँको घरमा फोन गरें । उहाँ दरबारमा इमर्जेन्सी भएर जानुभएको खबर आयो । पछि फेरि मैले उहाँको मोबाइलमा फोन गरे, ठ्याक्क लाग्यो । फोन उठाउने बित्तिकै उहाँले मलाई हपार्दै, ‘यस्तो बेलामा पनि मलाई फोन गर्ने’ भन्दै फोन काटिदिनुभयो ।
पछि १२ बजेतिर उहाँ आफैले मलाई फोन गर्नुभयो । ‘ल भन किन मलाई फोन गरेको ?’ भन्दै प्रश्न गर्नुभयो । मैले पनि ‘यहाँ दरबारमा गोली चल्यो, बम पड्कियो, माओवादी आक्रमण भयो, राजा–रानी मरिसके भन्ने खालको समाचार आइरहेको छ । के हो ?’ भनेर प्रश्न गरे । अनी उहाँले ‘यहाँ त धेरै गडबड भइसकेको रहेछ, धेरै हताहत भएका छन्, कसलाई के भयो भन्ने पूर्ण विवरण आएको छैन । तर यो बाहिरबाट होइन, भित्रबाटै भएको हो,’ भन्ने जवाफ दिनुभयो । वास्तवमा उहाँ त्यो दिनभर युवराज दिपेन्द्रसँगै हुनुहुँदो रहेछ । सातदोबाटोको स्र्पोटस् क्लबमा कार्यक्रम सिध्याएर दिपेन्द्रसँगै
उहाँ दरबार फर्कनुभएको रहेछ र काम सकेर घर फर्कनुभएको रहेछ । त्यसपछि एक बजेतिर दरबारका संवाद सचिव महेन्द्र बहादुर पाण्डेले फोन गर्नुभयो । ‘यहाँ त ठूलो घटना भयो, नहुनु भयो, पुस्कर के गर्दैछौ तिमी?’ भनेर सोध्नुभयो । मैले ‘म समाचार छाप्न लागेको तर विवरण आएन, के भएको भनिदिनु न’ भनेर सोधे । उहांले मलाई ‘यस्तो पनि समाचार छाप्ने हो र ?’ भनेर गाली गर्नुभयो । उहाँ फेरि मेरो बुवाको साथी, मलाई समाचार नछाप त्यस्तो भनेर हपार्नु नै भयो । तर, जति जति उहाँले मलाई समाचार नलेख भन्नुभयो, त्यतिनै मलाई समाचार छाप्नुपर्छ भन्ने भयो । मलाई त्यो च्यालेन्ज नै लाग्यो ।
त्यति बेला सम्पादक कपिल काफ्लो हुनुहुन्थ्यो । मैले समाचार छाप्न तयार भएको थाहा पाएर होला, उहाँलाई पनि दरबारबाट ‘जनताले पचाउन नसक्ने घटना भएको छ, पुस्करले समाचार छाप्छु भन्दैछ, सम्झाउनु भनेर’ आग्रह गरेछन् । उहाँले पनि मलाई फोन गरेर, ‘सर, अलि संवदेनशील घटना घटेछ, होस् नछापौं’ भनेर सम्झाउनुभयो । हुन पनि त्यति बेला राजसंस्था भनेपछि मानिसहरुमा आस्था, प्रेम, डर सबै थियो ।
यति गर्दा राती साढे २ बजिसकेको थियो । त्यति बेलासम्म बिबिसी, सिएनन् जस्ता अन्तर्राष्ट्रिय सञ्चार माध्यममा ‘राजदरबारमा गोली चल्यो’ भन्ने स्क्रोलिङ आइसकेको थियो । यता मलाई भने यत्रो ठूलो घटना भएको छ, यसबारे नेपाली जनताले जान्नुपर्छ भन्ने मनमा आयो । फेरि मेरो घर ठ्याक्क छाउनी हस्पिटलको पछाडि, त्यहाँ भएको हरेक गतिविधि देखिरहेको छु । अन्ततः म समाचार छाप्ने निश्कर्षमा पुगें । अनि हातमा सानो टर्च लिएर गल्लीगल्ली हुँदै अफिसतिर हान्निएँ ।
जब अफिस पुगे मैले त्यहाँ समाचार छाप्ने भनेर भने । तर त्यहाँ दुविधा थियो, समाचार त छाप्ने तर के भनेर छाप्ने ? त्यतिबेलासम्म मलाई भने राजपरिवारका सबै सदस्य मरिसकेका छन् भन्ने अनुमान भइसकेको थियो । तर, कसले मा¥यो भन्ने अझैं थाहा थिएन । त्यही भएर कसले गोली चलायो, को हताहत भयो भनेर लेख्नुभन्दा पनि हामीले यसरी समाचार लेख्ने निर्णय ग¥यौं कि जसबाट जनताले दरबारमा के भएको भन्ने खबर पनि पाओस् र पछि हामीले कुनै कानुनी झमेला पनि खेप्न नपरोस् । त्यही भएर समाचारमा राजपरिवारको फोटो सहित ‘दरबारमा गोलीकाण्ड, कयौं हताहत, राजारानी र युवराजको अवस्था आधिकारिक रुपमा अपुष्ट’ भनेर समाचार छाप्यौं । तल बक्समा भने ‘राजगद्दी उत्तराधिकारी सम्बन्धी संवैधानिक व्यवस्था’ भनेर पनि छाप्यौं ।
अरु धेरै पत्रिकाले यसलाई छाप्ने आँट गरेनन् वा दरबारको दवाब खेप्न सकेनन् । हामीले रातभर छाप्यौं । काठमाडौंबाट मात्र एक लाख र बिराटनगरबाट ६० हजार जति कपि छापेका थियौं । पछि खबरहरु सुन्दा त दिउँसो हाम्रो पत्रिकाको फोटोकोपी समेत विक्री भयो रे । अन्तर्राष्ट्रिय मिडियामा पनि उक्त दिन खिचिएको अधिकांश फोटोहरुमा मानिसहरुले नेपाल समाचारपत्र नै पढिरहेको फोटोहरु आएको थियो ।
उक्त समाचार छापेपछि चाहीँ दरबारबाट केही भन्ने होकी भन्ने मलाई डर लागको थियो । त्यत्रो आग्रह गर्दा पनि किन समाचार छाप्यो भन्छन् होला भन्ने लागेको थियो । तर, दिनभर कसैको फोन आएन । सायद अन्र्राष्ट्रिय मिडिया पनि यो कुरा आइसकेकोले होला वहाँहरुले केही भन्नुभएन ।
अहिले चाहीँ के खुसी लाग्छ भने नेपालमा पत्रकारिता पढाउँदा पनि बे्रकिङ न्युजका बारेमा उदाहरण दिँदा उक्त समाचारलाई उदाहरण बनाइने रहेछ । मेरा धेरै साथीहरुले कलेजमा पढाउँदा यसलाई उदाहरण स्वरुप प्रस्तुत गर्छु भनेर सनाउनुहुन्छ । सायद पत्रकार भएर होला मलाई यतिमा नै खुसी लाग्छ ।
ratopati

,

news and entertainment