इबोला रोक्ने तयारीबारे सरकारलाई रुलिङ

काठमाडौं, २९ साउन । इबोला भाइरस भित्रन नदिनका लागि सरकारले गरेको तयारीका विषयमा जानकारी दिन संसद्ले रुलिङ गरेको छ ।
आजको बैठकमा सांसद धनराज गुरुङले विश्व नै इबोला भाइरसबाट आतंकित भइरहेको र संयुक्त राष्ट्रसंघले पनि सचेत रहन आह्वान गरिरहेको उल्लेख गर्दै सरकार भने विज्ञप्ति मात्र जारी गरेर बसेको भन्दै रुलिङको माग गरेका थिए । त्यही प्रश्नका आधारमा सभामुख सुवास नेम्बाङले इबोला भाइरस भित्रन नदिनका लागि सरकारले चालेका कदमबारे जानकारी दिन निर्देशन दिएका हुन् ।
‘पश्चिम अफ्रिकी देशहरूमा देखिएको अति नै गम्भीर किसिमको रोग छ, यो अन्य देशमा पनि फैलिरहेको छ र हामी पनि यसबाट अछुतो रहन्छौं भन्ने छैन’, सभामुख नेम्बाङले भने, ‘त्यसकारण यसको संक्रमणबाट जोगिन सरकारले के तयारी गरेको छ, त्यसबारे यथाशीघ्र सदनलाई जानकारी गराउन निर्देश गर्दछु ।’

news and entertainment