दलहरुले गुण्डालाई संरक्षण दिरहेकाछन् तिमीहरु नडराउनु परेमा जस्तो कार्वाही गर्न पनि म तयार छु ;उपेन्द्रकान्त अर्याल

गौरव पोखरेल। भीमढुङ्गामा प्रहरीसँगको मुठभेडमा कुख्यात गुण्डा र राजनैतिक कार्यकर्ता दिनेश अधिकारी उर्फ ‘चरी’ मारिएको खबर सुख्खा मौसममा खरमा लागेको आगो जस्तै नेपालभरि फैलिन केही समय लागेन । सामाजिक संजालहरु चरीकै कथाहरुले भरिए र आमसंचार पनि उसकै पछि दौडिए ।
nepal-police-headquater
संभवत नेपालमा गणतन्त्र आईसकेपछि राजनैतिक संरक्षण प्राप्त गुण्डा र कार्यकर्ता मारिनेमा पहिलो भएकाले नि हुनसक्छ समाजले यो घटनामा यति धेरै चासो देखाएको । उक्त घटनाबाट सर्वसाधारण खुशी थिए र नेपाल प्रहरीले बधाई खाइरहेको थियो भने गुण्डा सम्बद्ध राजनैतिक दलका केही कार्यकर्ता र सांसद गुण्डालाई हिरो बनाउने काममा लागिपरेका थिए । गुण्डा मारिएको बिषयलाई संसद अवरोधको धम्कीसम्म दिन भ्याए केहि सांसदले तर सकेनन र शान्त भए । गृहमन्त्रीले संसदमा जवाफ दिए प्रहरीसँगको मुडभेडमा चरी मारिएको हो । पहिलो चरणको कथा सकियो ।

राजनैतिक दल निकट मानवअधिकारवादी र बरिष्ठ अधिवक्ताहरुले गैर न्यायिक हत्या भन्दै उक्त चरी प्रकरणको न्यायिक र संसदीय छानविन हुनुपर्ने जिकिर गरे पनि आजको मितिसम्म उक्त कुराहरु केही भएका छैनन् । हुन्न भनेर भन्न सकिन्न। काण्ड थामथुम पार्नका लागि कुनै समिति बन्न पनि सक्छ । कारण ‘चरी’को शरिर अहिले पनि अस्पतालमा राखिएको छ र छानविन समिति नबनेसम्म परिवारले लाश नबुझ्ने अड्डी लिएका छन्। (यो लेख लेख्दासम्म कुनै समिति बनेको छैन)

कडा बन्दै प्रहरी:
प्रहरी परिसर काठमाडौंका एसएसपी पुष्कर कार्कीले अरु गुण्डाहरु तर्फ ईंगित गर्दै प्रष्ट पारिसकेका छन् ‘ हतियार बोकेर हिड्नेहरु बढ्दैछन। मेरा अफिसरहरुसँग पनि हतियार हुन्छ र चलाउन जान्दछन’। उनको यो अभिव्यक्तिले प्रष्ट पार्छ अब नेपाल प्रहरी आईलाग्ने माथि जाईलाग्ने छ। प्रहरी सुत्रका अनुसार राजधानी लगायत नेपालका प्रमुख शहरमा गुण्डाहरुको प्रभाव घटेको छ। सायद गुण्डाहरु लुकेका छन् वा भागेका छन्।


एसएसपी पुष्कर कार्कीpuskar-karki-ssp-hanuman-dhoka-police
‘चरी’ काण्ड पछि निर्भिक गुण्डाहरुमा त्रास फैलिएको छ। केहि गुण्डाहरु शहरमा देखिए पनि प्रहरी अब ठुला-साना गुण्डाहरुको खोजीमा लागेको छ। यसक्रममा मुठभेड भएमा अरु गुण्डाहरु फेरि मारिन सक्छन्। राजनैतिक दल वा नेताको संरक्षणको प्रवाह नगरी गुण्डा समात्ने अभियानमा लागेको एक प्रहरी अधिकृतले बताएका छन्।

सन् २०१३मा प्रहरी प्रमुख भएका उपेन्द्रकान्त अर्याल कामका लागि मानिएका प्रहरी हुन् । उनी प्रहरी प्रमुख भए लगत्तैको आफ्ना अधिकृतहरुसँगको बैठकमा उनले प्रष्ट परेका थिए-’ राजनैतिक दलहरुले गुण्डालाई संरक्षण दिरहेकाछन् तर तिमीहरु नडराउनु परेमा जस्तो कार्वाही पनि गर्नु म छु तिमीहरुसँग’। नाम नलेख्ने सर्तमा प्रहरीका बहालवाला एसएसपिले आफ्नो स्मरण सुनाए। अर्यालले राजनैतिक दलहरुले गुण्डालाई संरक्षण दिएको कुरामा साह्रै दु:ख मानेको कुरा पनि उनले सुनाए।

माफिया र ईन्काउण्टर:
माफिया शब्द नेपाल लगायत पुरा विश्वमा चर्चित छ। माफिया भन्नाले संगठित रुपमा गरिने गैर-कानुनी क्रियाकलाप भनेर बुझिन्छ। ईटालीको सिसिलियामा रहेका अपराधिक संगठनबाट आएको शब्द अमेरिकी माफिया, रुसी माफिया हुँदै नेपालमा भु-माफियासम्म प्रयोग भएको पाईन्छ। साठीको दशकमा माफियाको दबदबा भएपछि ईटाली प्रहरीले समात्नुको सट्टा सिधै मार्ने (ईन्काउन्टर) काम गर्न थाल्यो जुन बिस्तारै बिभिन्न देशले अंगिकार गरेका थिए।

सन् ८०को दशकमा भारतमा पहिलो ईन्काउण्टर गरिएको थियो र पछि ९०को दशकमा भारतीय प्रहरीले ईन्काउण्टर सेल स्थापना गर्‍यो। भारतमा अपराधीहरुलाई तह लगाउनका लागि उक्त सेलले मार्ने अभियान संचालन गर्थ्यो।

महानगरीय प्रहरी परिषद् हनुमानढोका

नेपाल प्रहरी र ईन्काउण्टर:
नेपालमा ३० र ४०को दशकमा तराई क्षेत्रमा डाँकाहरुको बिगबीगी रहेको थियो। जुन अपराधलाई निमिट्यान्न पार्न नेपाल प्रहरीलाई हम्मे-हम्मे परेको थियो। नेपाल-भारत खुला सिमाना भएको कारणले पनि यता डकैती गरेर भारतमा लुक्ने हुँदा अपराधी समात्न गाह्रो हुने गरेको थियो। नेपाल प्रहरीले डाँका तह लगाउन ‘ईन्काउण्टर’ शुरु गरेको मानिन्छ। पश्चिम नेपालको भैरहवा नजिक उक्त अभियान चलाईएको थियो जस्को सफलता पछि उक्त क्षेत्रमा डाँका समाप्त भएका थिए।

२०४६ सालको प्रजातन्त्र पुन:स्थापना पछि ‘माफिया’ शैली मौलाएको मानिन्छ। राजनीतिको आवरणमा गुण्डागर्दी गर्न सजिलो भयो र राजनीतिक संरक्षण पनि प्राप्त हुन थाल्यो। त्यसयता प्रहरी पनि कति पटक यस्ता ‘माफिया’हरुसँग मिलेमतोमा समातिएका रेकर्डहरु पनि छन् । नेपाल प्रहरीले प्राकृतिक न्यायको सिद्धान्त अनुसार पक्रन खोज्दा खोज्दै आफ्नो ज्यान खतरामा पर्ने गरी आक्रमण गरेमा गोली हान्ने गरेको सार्वजनिक गर्दै आएको छ। भीमढुङ्गामा भएको चरीको ‘ईन्काउण्टर’ पनि उक्त प्राकृतिक न्यायको सिद्धान्त अनुसार भएको प्रहरीको दाबी रहेको छ।



ईन्काउण्टर मुड:
संगठित अपराध र राजनैतिक संरक्षणले जति पटक गुण्डाहरु पक्रिए पनि छाडिने भएको हुँदा गुण्डाहरुको मनोबल उच्च रहेको र प्रहरीको मनोबल खस्किएको बारम्बार सुन्नमा आईरहने कुरा हो । नेपाल प्रहरी अब कुनै पनि गुण्डा वा अपराधीलाई पक्रने भन्दा ईन्काउण्टर गर्ने सोचमा रहेको हो त भन्ने प्रश्नको जवाफमा प्रहरी प्रवक्ता गणेश केसी भन्नु हुन्छ -’ प्रहरीको सोच भन्दा पनि गुण्डा पक्रन जाँदा कस्तो परिस्थिति सृजना हुन्छ त्यसले निर्धारण गर्छ के गर्ने भन्ने कुरा, स्थलगत परिस्थितिमा आवश्यक देखिएमा प्रहरी इन्काउण्टर गर्न पनि पछि पर्दैन्’।

नेपाल प्रहरीले पछिल्लो समयमा सांगठनिक अपराध गर्दै आएका गुण्डाहरुको खोजी कार्य तिव्र पारेको छ र यसैक्रममा केही गुण्डाहरु पक्राउ पर्ने क्रम जारी रहेको पनि केसीले बताउनुभयो। प्रहरीको अपराध हेर्ने आफ्नै सेल रहेको र उसले आफ्नो कार्य कुशलतापुर्वक गरिरहेको पनि केसीले जानकारी दिनुभयो ।

गुण्डाहरुलाई राजनैतिक संरक्षणको दिने बिरुद्ध आवाजहरु उठ्न थालेपछि नेताहरु पनि केही हच्किएका छन् । ‘चरी’ काण्डमा संसदसम्म अवरोध गर्ने भनेर हल्ला गरेका धादिङका एमाले सांसद राजेन्द्र पाण्डे अहिले शान्त छन् । सामाजिक संजालहरुमा ‘चरी’ काण्ड पछि नेताहरुले गर्ने गुण्डा संरक्षणको खिलाफमा एक मत देखिएको थियो । नेपाली समाजिक संजाल प्रयोगकर्ताहरुले देश बुझेका छन् र निर्धक्क मनमा लगेको कुराहरु राख्ने हुनाले अब पार्टीहरु र नेताहरुलाई मनलागी गर्ने छुट हुने छैन् । एउटा कुरो के प्रष्ट छ देखिन्छ भने अब नेताहरुलाई गुण्डालाई संरक्षण दिईरहन र तिनलाई बचाईरहन हम्मे पर्ने छ ।
www.hamrakura.com

, , ,

news and entertainment