किन छाडे बोकेदाह्रीले काठमाण्डौ खाल्डो ?


 AX ‘ए बा किन्देउ न भट्भट्टे……..’ एकदशक अघि यो कमेडी गीत एकदमै हिट भयो । उम्रेदेखि खुम्रेसम्मका सबैको जिब्रोमा ‘ए बा किन्देउ न भट्भटे’ झुन्डिएको थियो ।
केहि बर्ष यो लगायत श्रीकृष्ण लुईटेलका गीतले अड्डा जमायो । पुर्वेली ग्रामिण क्षेत्रमा बोलिने शैलीको यो गीत अति लोकप्रिय भयो । बोकेदाह्री एल्बममा अन्य गीत पनि त्यतिकै राम्रा र कमेडियन थिए ।
तर, दर्शक र श्रोताले श्रीकृष्णको त्यो गीत आंैधी मन पराए । उनको गिती क्यासेट र सिडीको व्यापार पनि राम्रै जम्यो । श्रीकृष्णको लोकप्रियताको पारोले शिखर चुम्यो । नाम र दामसँगै उनको परिचय पनि बदलियो । उनलाई श्रीकृष्ण होइन ‘बोकेदाह्री’ भनेर सबैले चिन्न थाले । उनले पनि दर्शक र श्रोताले गरिदिएको न्वारायणलाई स्वीकारे । भरखरै पलाउन थालेका दाह्री उनको नयाँ परिचयले पाल्नुपर्ने बाध्यता बनायो । ‘सबैले बोकेदाह्री भनेर चिन्छन्’ उनले आफ्नो दाह्रीको प्रसंगमा भने ‘दाह्री मेरो ब्रान्ड बन्यो, काट्दा परिचय हराउने खतरा छ ।’ बोकेले ठट्याउली पाराले भने ‘दाह्री काटेँ भने श्रीकृष्ण भन्दापनि चिन्दैनन् होला !’
त्यसो त बोकेलाई बोकेदाह्री एल्वमले नाम मात्र दिएन दाम पनि दियो । गीत चलुन्जेल ६० लाख कमाई भएको उनले सुनाए । त्यसबेला त आम्दानी अव यस्तै होला जस्तो लागेको थियो उनलाई । तर, जतिनै हिट भएपनि अव उबेलाको जस्तो आम्दानी हुन नसक्ने उनले बताए । बोकेदाह्री एल्बमबाट कमाएको पैसा जसरी ह्वारर आयो त्यसरी नै गयो । उनले आफ्नो महत्वकांक्षा गीतमा मात्र सीमित गर्न चाहेनन् । कमेडी फिल्म बनाएर राम्रै नाम र दाम कमाउने आकांक्षा पाले । र बस नम्बर १३६ बनाए । ‘३५ लाख लगानी गरें, तर के गर्नु फिल्म बनाउने भएर खरानी भइहाल्यो’, आर्थिक रुपले उनको बढेको पारो फिल्म फ्ल्प भएपछि एकैचोटी झर्यो ।
कलाकारिता धान्नका लागि बोकेले बर्षमा एउटा एल्वम निकाल्दै आएका छन् । यस बर्ष निकालेको एल्बमका सातवटा गीत निकै राम्रा रहेको उनले बताए । ‘ओई बिम्ली’ एल्बममा ‘पागल बनायो नारान पापी फेसबुकले’, ‘बाँके बर्दिया’, ‘तेरो बाउ थोते’, जँुगा तान्दिन्छु भ्वाक्कै हान्दिन्छु’, ‘ओई बिम्ली’, ‘तामा गाग्री खड्कुलो’, ‘नेपालमा ठाउँ पाएन चोलो साडिले’ गीत तयार गरेका छन् । कमेडी मात्र होइन कमेडी शैलीका सन्देश मूलक गीत पनि भएको बोकेले बताए । गीतको प्रमोशनका लागि कान्तिपुर टिभीमा तीन महिना बिज्ञापन गरे । तर, कान्तिपुर टिभीले नै ‘पागल बनायो नारान पापी फेसबुकले’ भन्ने गीत प्रसारण नगर्ने निर्णयले आफुलाई दुःखी बनाएको गुनासो गरे ।
बस नम्बर १३६ फिल्म डुवेर तर्सेका बोके ‘ओई बिम्ली’मा लगानी भएको आठ लाख पनि डुब्ने हो की भन्ने कुराले पिरोलिएका छन् ।
राष्ट्रियस्तरका कलाकारले हिजोको जस्तो क्यासेट र सिडी बेचेर पैसा कमाउने जमाना गइसक्यो । एकदशक अघिसम्म एउटा गीत मात्र हिट हुँदा लाखौं कमाई हुन्थ्यो । अहिले प्रविधिले धेरै कलाकारलाई गरीव बनाएको छ । लाखौं खर्च गरेर तयार गरेको गीत र म्यूजिक भिडियो संचारमाध्यममा सित्तैमा बज्दैनन्, बिज्ञापन गर्नुपर्छ । त्यसपछि गीत चल्यो भने अरु मिडियाले बजाउने हुन् । ‘सिआरबिटी र यू–ट्यूवबाट धेरै चले लागतसम्म उठ्ला’ बोकेले भने ‘गीत धेरै हिट भए कार्यक्रममा कलाकार बोलाउँछन्, र आयोजकले दिने थोर बहुत पारिश्रमिक नै अहिले बलाकारको टिक्ने आधार हो ।’ बिदेशबाट निम्तो आए अलिअलि कमाई हुने स्वदेशकै निम्ताले गुजारासम्म चल्ने अनुभव बोकेले सुनाए । कहिले कसले बोलाउला भनेर रुँगेर बस्नु पर्ने अवस्था कलाकारको रहेको उनले बताए । उनले भने ‘कलाकारिता यजमानी पेशा जस्तै भएको छ ।’
नेपालका धेरै कलाकारलाई आर्थिक रुपले टिकिरहन समस्या छ । काठमाण्डौमा नबसी राष्ट्रिय कलाकार हुईदैन भन्ने फोबियाले धेरै कलाकारलाई गाँजेको छ । काठमाण्डौको बिलासी जिवन र महंगी थेग्न सामान्य आय भएका कालाकारलाई गाह्रो पर्छ । राम्रो आम्दानीको स्रोत नभएका कलाकार परिवारसहित त परै जाओस एक्लै पनि टिक्न कठिन हुने बोकेको भोगाई छ । कलाकारिताले मात्र जीवन चल्न सक्दैन । यो नियति नेपालका धेरै कालाकारले भोगेका छन् । काठमाण्डौ खाल्डोमा आर्थिक रुपले टिक्न नसकेर ख्याति कमाएका कलाकार बिदेश पलायन भएका छन् । कतिले पेशा नै छाडेका छन् । लोक गायनका किंङ मानिएका प्रेमराजा महत अमेरिका भाँसिएको एक दशक भइसक्यो । ‘बाँजो खेतमा छड्के सलाम छ, मायाालाई पहिलो भेटमा’ लगायत दर्जनौ लोकप्रिय लोकगीत गाएका महत कलाकारिता जोगाउन अमेरिकामै भएपनि गीत गाउँदै आएका छन् । आर्थिक अभावले नै महतलाई अमेरिकाले तानेको हो । ‘ठूलाठूला महल होइन सीप सिकाउने झुपडी देउ’, ‘हिंसा माग्ने तरवार होइन धान उमार्ने खेत देउ’ जस्ता लोकप्रिय मात्र होइन कर्णप्रिय गीत गाउने कर्णदासको वास पनि अमेरिका भएको छ । राजु लामा, रोशन गुरुङ, सपना श्री, जगदिस समाल लगायत दर्जनौ गायन र सांगीतिक क्षेत्रमा स्थापितको वास पनि अमेरिका बनेको छ । अधिकांश कलाकार आर्थिक अभावले अमेरिका लगायतका देशमा जान बाध्य भएका हुन् । त्यसो त गायन क्षेत्रका मात्र होइन चलचित्रमा स्थापित नायक सरोज खनाल, नायिका कृष्टी मैनाली, सारंगा श्रेष्ठ, नायक रमेश उप्रेती, रमित ढुङ्गाना लगायत दर्जनौ कलाकार विदेश पलायन भएका छन् ।
बस नम्बर १३६ले डुवाएपछि बोकेले बिदेश भाँसिनु भन्दा काठमाण्डौको बिकल्प खोज्न थाले । कतार, दुवई, वहराइन, ओमन, मलेशिया, सिंगापुर, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया लगायतका एकदर्जन देश टेकेका बोकेलाई बिदेश भाँसिन मन लागेन रे ! उनले काठमाण्डौमा घिस्रिएर हिड्नु भन्दा पुर्वतिर गएर ठिङ्ग उभिनु बेस ठाने । र, सात बर्ष अघि नै काठमाण्डौबाट झापाको बिर्तामोडमा लुसुक्क डेराडण्डा सारे । बोकेले काठमाण्डौसँग आउजाउको सम्बन्ध भने कायम राखे । आफ्ना धेरै सहकर्मीलाई झापा सरेको पत्तो पनि दिएनन् । न त उनि झापाको मिडियामा नै नजिकिए । तर, अहिले भने बोकेदाह्री काठमाण्डौसँगको आउजाउको सम्बन्ध कायम राख्दै पूर्वमा सक्रिय हुने निर्णयमा पुगेको बताउँछन् । उनले काठमाण्डौबाट झापा आउन जति समय लाग्छ झापाबाट काठमाण्डौ जान पनि त्यति नै समय लाग्ने भएपछि किन काठमाण्डौ बसिरहने भन्ने प्रश्न गरे । उनले भने ‘अव डिजिटल मिडियाको दुनियाँमा जहाँ बसेर पनि दर्शक र स्रोतासँग नजिक हुन सकिन्छ ।’
बोकेको जन्मस्थल मोरङ भएपनि गरिखान झापाको बिर्तामोड छाने । ‘निम्तो आए कार्यक्रममा जाने, नयाँ केहि भए सिर्जनामा लाग्ने, फुर्सदको समय छोरी र श्रीमतीलाइृ दिने’ उनको दिनचर्या बनेको छ । दार्जिलिङ्गका प्रसिद्ध गायक तथा संगीतकार जीवन अधिकारीकी भतिजी बिवाह गरेका बोके झापा बसाई शान्त रहेको बताउँछन् । काठमाण्डौको जस्तो कोलाहल र दौडधुप छैन । जीवन सरल ढंगले चलेको उनको पछिल्लो अनुभव छ । काठमाण्डौमा तनवमा जिउनु भन्दा झापाको शान्तपूर्वकको बसाई कयौ गुणा आनन्दपूर्ण रहेको उनले बताए ।
 

,

news and entertainment