गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागको औचित्यका बारेमा प्रश्न उठेको छ । राष्ट्रका गम्भीर सूचना संकलन गरी सरकारलाई जानकारी गराउनमा सँधै असफल देखिँदै आएको विभागलाई यही रुपमा राखिरहनुभन्दा खारेज गर्न गृहमन्त्री वामदेव गौतमले सुझाव पाइरहेका छन् ।
अझ सबभन्दा गम्भीर कुरा त सूचना बिक्री गरी विदेशीलाई लाभ दिलाउन विभागका माथिल्लो तहका अधिकारीहरु नै सक्रिय रहेको सूचना प्राप्त भएको छ । देशको एउटा मात्र गुप्तचर विभागका गुप्तचर प्रमुखले दलाल खडा गरी भित्र-भित्र ‘कभरमा’ भन्दै आफ्ना नातागोता र पैसा खाएर भर्ती केन्द्रको अखण्डा बनाइरहेको बुधबार साप्ताहिकमा खबर छ ।
प्रधानमन्त्री र मन्त्रीको समेत कार्यकर्ता र आफन्त भर्ती गर्ने केन्द्र बनेपछि गुप्तचरका अधिकारीहरुलाई अनियमितता गर्न सजिलो भएको छ । छानबिन गर्नुको सट्टा त्यस्ता तत्वहरुलाई छुट दिने गरेकाले गलत कामले प्रश्रय पाएको अनुभवीहरुले बताउने गरेका छन् ।
स्रोतका अनुसार, सातामा पाँच-छ जनाले अवकाश पाउने गरेको विभागमा गुप्तचर प्रमुखको मिलेपतोमा पैसा खाएर मान्छे राख्ने गरिन्छ । स्वाभाविक रुपमा प्रश्न उठ्छ-त्यसरी राखिएका मान्छेले संकलन गरेको रिर्पोट कस्ता होलान ? नेपाली जनताको पसिनाबाट उठेको कर दलाललाई खुवाउने काम भएको भन्दै आक्रोश व्यक्त भएको छ । सरुवा, बढुवा, भर्ती प्रक्रियालाई गलत तत्वले आफूखुसी गरिरहेकाले विभागमा समस्या देखिएको बताइन्छ । गोप्य भन्दै भित्र-भित्र केटीहरुलाई भर्ना गरी यौन शोषण गर्ने, उनीहरुको कोठा-कोठामा गएर तलब पुर्याइदिने जस्ता काममा समेत त्यहीँका अधिकारीहरु संलग्न रहेको कुरा बारम्बार उठ्ने गरेको छ ।
www.onlinekhabar.com
गुप्तचरबाटै सूचनाको बिक्री !
news and entertainment
