ओसिएले नेपालमा खेल प्रशिक्षण केन्द्र निर्माणमा सघाउने



ओलाम्पीक काउन्सील अफ एशियाले नेपालमा आधुनिक प्रशिक्षण केन्द्र निर्माणमा सघाउन ईच्छुक रहेको जानकारी दिएको छ ।

१७ औँ एशियन  खेलकुदका अवसरमा दक्षिण कोरियाको ईन्चोनमा रहेका युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई भेटेर ओलाम्पीक काउन्सील अफ एशियाका अध्यक्ष शेख अहमल अल सवाले नेपाली खेलाडीहरुको  विकासका लागि आधुनिक खेल प्रशिक्षण केन्द्र निर्माणमा सघाउन ईच्छुक रहेको जानकारी गराए । सवाले खेल प्रशिक्षण केन्द्र निर्माणको औपचारिक प्रस्ताव जति सक्दो छिटो पठाउन आग्रह गर्दै ओसीएलाई अगाडी बढाउन गरेको योगदानका लागि मन्त्री पौडेललाई धन्यबाद दिए ।

अध्यक्ष सवाले ओसीएको सहयोगमा बन्ने प्रशिक्षण केन्द्रबाट नेपाली खेलाडीहरुलाई आफ्नो क्षमतालाई थप प्रस्फुटनमा मद्दत मिल्ने विश्वास व्यक्त गरे ।

जवाफमा मन्त्री पौडेलले नेपालको खेल क्षेत्रमा योगदान गर्ने ओसीएको प्रस्तावलाई आफुले अवसरका रुपमा लिएको भन्दै सरोकारवालाहरुसंग छलफल गरेर छिट्टै प्रशिक्षण केन्द्र निर्माणको प्रस्ताव पठाउने जानकारी दिए । मन्त्री पौडेलले ओलाम्पीक अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले कुनै कसर बाँकी नराख्ने समेत बताएको भेटमा सहभागी नेपाल ओलाम्पीक कमिटीका अध्यक्ष धुब्रबहादुर प्रधानले जानकारी दिए ।
nepaliheadlines.com

,

news and entertainment