बाबुले छोरी नस्वीकार्दा दुई वर्षदेखि तनावमा रहेकी यहाँकी एक युवतीले न्याय पाएकी छन्। नाबालिग उमेरमा बिहे गरी सम्बन्धविच्छेदपछि माइतीमै फर्केकी वडलम्जी-४ की सरिता अधिकारीलाई अंश दिलाई अभिभावकीय संरक्षकत्व प्रदान गर्न जिल्ला अदालतले फैसला सुनाएको हो।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले सरितालाई राजारामकै छोरी ठहर गर्नुका साथै बालविवाहको वैधानिक अस्तित्वसमेत नरहेकाले अंश दिलाउन भनेको हो। फैसलामा भनिएको छ, 'घरमूली राजाराम, उनकी हालकी श्रीमती १, छोराछोरी ४ तथा वादीसहित अंशियार रहेको देखिएकाले प्रतिवादीले पेस गरेको अंश फाँटवारीका आधारमा ७ भागको १ भाग अंश सरितालाई छुट्याइदिनू।' अब सरिताले १ लाख ३ हजार ९ सय ७५ रुपैयाँ ३३ पैसा बराबरको अंश पाउनेछिन्।
फैसलामा सरिताले फिरादपत्र दायर गर्दाको 'कोर्ट फी' ३२ सय ४९ रुपैयाँ प्रतिवादी अर्थात् बाबु राजारामबाटै असुल गर्ने उल्लेख छ। लैंगिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३ अन्तर्गत २० वषर्ीया सरिताले ०६९ असोज १ गते दैलेख जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन्।
सरिता र राजारामबीचको नाता विवाद, सरिताको बालविवाह र सम्बन्धविच्छेदको वैधानिक अस्तित्व र बाबुबाट अंश पाउने/नपाउने सन्दर्भमा कानुनी जटिलता उत्पन्न भएको भन्दै अदालतले 'एमिकस क्युरी' को सहायता लिएको थियो। त्यस आधारमा प्राप्त मिसिल र बहसका आधारमा ०७० फागुन १ गते अदालतले
उठ्यो। फिरादपत्रमा स्वयं वादी अर्थात् सरिताले ०६३ चैत १० मा नन्दाराम जैसीसँग बिहे भएको, आफूहरूबाट कुनै जायजन्म नभएको र घरमा बस्न नदिएकाले सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी थिइन्। सरिताको १३ वर्ष २२ दिनमा विवाह र १७ वर्ष ९ महिना ८ दिन हुँदाको अवस्थामा सम्बन्धविच्छेद भएकाले कानुनले बर्जित गरेको उमेरमा भएको विवाहलाई अदालतले तथाकथितको संज्ञा दिएको छ। बाबु राजारामबाट परित्याग गरिएको र आमाले दोस्रो विवाह गरेबाट सरिता माइतीको संरक्षणमा हुर्केकी थिइन्।
नाबालिग अवस्थामा आमाबाबुबाट परित्यक्त भई संरक्षण पाउने लगायतका बालअधिकारबाट वञ्चित हुनुपरेको, कानुनको व्याख्या बालबालिकाको सर्वोत्तम हित हुने ढंगबाट गरिनुपर्छ भन्ने विश्वव्यापी मान्यतासमेत रहेकाले सरिताले १३ वर्षकै उमेरमा तथाकथित विवाह गर्नुपरेको बाध्यता र कानुनले बिहे गर्नका लागि तोकेको न्यूनतम उमेर अगावै सम्बन्धविच्छेद भइसकेकाले उक्त विवाहले वैधानिक अस्तित्व नपाउने फैसलामा उल्लेख छ। सरिता राजारामकै छोरी भएको अदालतको ठहर छ।
फैसलामा इन्द्रकलासँग आफ्नो घरसारमा सम्बन्धविच्छेद हँुदा २ छोरी रहेको बाबु राजारामले स्वीकारेको, घरसारमा भएको सम्बन्धविच्छेदले कानुनी मान्यता नपाउने हुँदा आमा इन्द्रकलाको पेटबोलीका आधारमा सरिता राजारामकै छोरी भएको उल्लेख छ।
फैसलापछि सरिताले न्याय पाएको भन्दै खुसी व्यक्त गरिन्। अब उनलाई बाबुकै नाउँबाट नागरिकता पाउने बाटो खुलेको छ। 'जन्म दिएका बाबुले बेवास्ता गर्दा न्यायका लागि कठिन संघर्ष गर्नुपर्यो', फैसला सुनेपछि उत्साही भएकी सरिताले कान्तिपुरसँगको टेलिफोन सम्र्पकमा भनिन्, 'आफूले जस्तो दुःख अरू कुनै दिदीबहिनीले भोग्नु नपरोस्।'
