प्रचण्डका छोराबाट ज्ञानेन्द्रका छोराले सिक्ने पाठ



नेपाली राजनीतिमा एमाओवादीका अध्यक्ष पुष्कमल दाहाल र २४० वर्ष पुरानो राजसंस्थाको अवसानको कारण बनेका पूर्वराजा ज्ञानेन्द्रको समय समयमा विभिन्न तरिकाले तुलना हुन्छ । पूर्वराजाले आफ्नो पुर्ख्यौली संस्था सखाप पारे र त्यसलाई सखाप पार्ने मुख्य कारण बने प्रचण्ड । यहाँ प्रचण्ड र ज्ञानेन्द्र भन्दा पनि यी दुई खेलाडीका पुत्रको चर्चा गरिएको छ ।

त्यसो त पुर्व राजा ज्ञानेन्द्रले राजनीतिक रुपमा ठुलो 'ब्लण्डर' नै गरेका हुन्। जीवनमा दोस्रोपटक हात लागेको गद्दी वाहियात महत्वकांक्षामा गुमाए। धेरै खोज्दा भएको पनि पोखिएपछि उनी हरितन्नम छन् यतिखेर। तर 'सर्वस्व' गएपछी भने उनले बेवकुफी देखाएन। उनी नत देशै छोडेर न भागे। नत उनले गणतान्त्रिक सरकारको कुनै निर्णयको विरोध गरे। चुपचाप सामान्य नेपाली नागरिक बन्न उनले मिनेट पनि लगाएनन्। उनी जनताले चाहे एक दिन राजतन्त्र फर्केला भन्ने आशमा बसेका छन्। उनले अहिलेसम्म धैर्यता देखाएकै छन्। हुनत उनीसंग धेरै विकल्प नभएको पनि उत्तिकै साँचो हो।
मान्छेले गल्ती गरेरै सिक्ने गरेको छ। कसैले थोरै गल्तीमा सिक्छन् कसैले केही बाँकी नरहँदा मात्रै सिक्छन्। दोस्रो सिकाइका पनि उपादेयता छन् । सिकाइ आफै सकारात्क कुरा हो। यही कुरा ज्ञानेन्द्र शाहमा हुबहु लागु हुन्छ।

ज्ञानेन्द्र शाहको यो नियती उनका पुत्र पारस शाहमा पनि मिल्छ। होनहार हुन नसकेपनि पारसले जिन्दगीका पानामा अझै शब्दहरु भर्न बाँकी छ। हुँदा खाँदाको राजगद्दी बाबुले सुझबुझ नेदखाउँदा गएको ठान्दै बिरक्तिएर बैंकक पसेका पारसका आफ्नै कथा व्यथा होलान्। एकबारको जुनीमा राजा हुने रहर उनलाई पनि हुँदो हो। सबै रहरहरु पुरा हुँदैनन् र जरुरी पनि छैन् ।

बैंककमा बसेर पनि उनलाई गुन भने नेपालीले नै लगाएको उनि आफैले स्विकार गरिसकेका छन् । झण्डै मृत्युको मुखमा पुगेका उनी नेपालीकै सहयोग र प्राथनाले गर्दा बाँचेको उनकै मुखबाट सुनिएको हो।

उनै पारसले अहिले नेपाल आउने हल्ला चलाएका छन्। केही समय यता उनी नेपाल आउने बाक्लो चर्चा चलिरहेकै थियो। उल्लेखनिय कुरा के हो भने राजसस्था रहँदा सम्म पारसको छवि पटक्कै राम्रो थिएन। थाइल्याण्डमा मृत्युसंग लडिरहँदा मात्रै उनले सहानुभुति प्राप्त गरेका हुन्। उनले आफ्नै परिवारलाई पनि पटक पटक सकसपुर्ण अवस्थामा पर्याएकै हुन । पहिले उनले गरेका कर्महरु त जगजाहेरै छ।

त्यसैले पुरानै पारस नेपाल फर्किएर आऊन भन्ने चाहना उनका प्रशंसक,परिवार र उनी स्वयमै पनि नहोला। थाईल्याण्डमा रहँदा मृत्युको मुखबाट बचेका उनको यो जिन्दगी नाफाकै हो। यो नाफाको जिन्दगीलाई उनले नेपालमा आएर राम्रो काममा लगाउनु पर्छ। त्यसैले नेपाल आउनु अघी पारसले दुई चार कुरा सिकेर ,बुझेर र मनन गर्न जरुरी देखिन्छ। यो उनको जिन्दगीको नयाँ अध्याय हुनेछ। पारसको पृष्ठभुमिका कारण उनका लागि यो पक्कै अफ्ट्यारो होला तर उनका लागि खुसीको कुरा के हो भने उनले घरैबाट सिक्ने मौका पाउनेछन्।

हो घरैबाट आफ्नै पिता ज्ञानेन्द्र साह र श्रीमती हिमानी शाहबाटै उनले सिकाइ शुरु गरे हुन्छ। परिवर्तनलाई कसरी आत्मसाथ गर्ने र धैर्यताको उदाहरण उनले आफ्नै बाबुलाइ मान्न पर्छ।

राम्रो समय पर्खेर बस्ने गुणपनि पारसले उनैबाट सिके हुन्छ। परिवर्तन सबैको जिन्दगीमा आउँछ अनुपातको मात्र कुरा हो। हिजो राजसस्था थियो आज छैन तर आकाशै त खसेको छैन्। यति ठुलो 'बज्रपात' पछि पनि जिन्दगी रोकिन्न र जिन्दगीलाई जिउनेहरुले यो चीज जान्दछन् उनले आफ्नै बाबुबाट सिके हुन्छ।

यो जिन्दगी केही गरेर देखाउन हो, त्यसका लागि कुनै पद र सम्मान जरुरी छैन्। उनैले हेला गरेर छोडेकी उनकै श्रीमती हिमानीले आफ्नै बलबुतामा समाजसेवामा राम्रै उपस्थिति जनाएकी छन्। सन्तान र सासु ससुराको राम्रो हेरबिचार गरेर बसेकी हिमानीको संघर्ष पनि पारसको लागि सिक्ने विद्यालय हो। पारसको बेवास्ताका बाबजुदले उनले जस्तो उत्साह र शाहस देखाएकी छिन् पारसले आफुलाई भाग्यमानी सम्झनु पर्छ। उनले हिमानीको समासेवाम सघाएर बाँकी जिन्दगी सार्थक पार्न सक्दछन्। जतिसुकै सुखसयल र रवाफमा बाँचेपनि मरेपछी यो दुनियाँलाई सम्झना छोडेर जाने हो त्यसका लागि हिमानीपथ पारसका लागि पर्याप्त छ ।

सिक्नका लागि घरमै मात्र खुम्चिनु पनि पर्दैन। निर्मलनिवासबाट अल्लिपर ठुलो लाजिम्पाट दरबार छ, प्रचण्ड निवास। तर प्रचण्डका पत्र प्रकाश दाहाल आजकल पितासंग त्यहाँ बस्दैनन। माओवादी शान्तिपुर्ण राजनीतिमा आएर शिखरमा रहँदा प्रकाशपनि पारसकै तहमा बदनाम भएका थिए। तर प्रकाश आजकल नकारात्मक विषयका लागि चर्चामा आउँदैनन्।
आफ्नै छोराका कारण कुनै समय दिक्क भएका प्रचण्डलाई अहिले छोराको विषयमा नकारात्मक समाचार सुन्नु पर्दैन । खासमा भन्दा प्रकाशमा सकारात्मक रुपमान्तरण भएको छ ।

उनी निक्कै 'सुध्रिएको' उनी नजिककाहरु बताउँछन्। प्रकाशले आजकल चितवन र काठमाडौंमा कृषि फार्म चलाइरहेका छन् । चितवनमा गाई पालन व्यवसाय गरेका प्रकाशले काठमाडौंमा बंगुर पालन पनि गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रका पुत्र पूर्व युवराज पारसले प्रचण्डका छोरा प्रकाशबाट रुपाण्तरणको पाठ सिक्न सक्छन् । प्रकाशको कथा पारसलाई प्रेरणादायी हुन सक्छ। प्रकाशले ऋण खोजेर व्यवसाय शुरु गरेको बताउने गरेका छन् तर पारसका लागि भने त्यति रकम जोहो गर्न त्यति ठुलो समस्या हुने समेत देखिन्न।
nepaliheadlines.com

, ,

news and entertainment