कंगो गणराज्यको किन्शासा शहरबाट एचआइभी एड्स
विश्वमा महामारीको रुपमा फैलिएको एचआइभी एड्सको उत्पत्ति कहाँबाट भएको थियो भन्ने वैज्ञानिकहरुले पत्ता लगाएका छन् । एड्सको उत्पत्ति किन्शासा शहरबाट भएको वैज्ञानिकहरुले बताएका छन् । जसलाई अहिले कंगो गणराज्यको रुपमा चिनिन्छ ।
एचआइभी एड्स फैलिएको ३० वर्षपछि उत्पत्ति कहाँबाट भएको थियो भन्ने पत्ता लागेको बीबीसीले जनाएको छ । वैज्ञानिकहरुले एचआइभी भाइरसको जेनेटिक कोडका नमुनाहरुको विश्लेषण गरेको साइन्स जर्नलमा प्रकाशित रिपोर्टमा उल्लेख गरिएको छ ।
जेनेटिक कोडको विश्लेषणबाट एड्सको उत्पत्ति तत्कालिन किन्शासबाट भएको पत्ता लागेको हो । तिब्र गतिमा बढ्दै गएको यौन व्यवसाय, मानव बस्ती तथा अस्पतालहरुमा संक्रमित सिरिन्जको प्रयोग एचआइभी फैलनुको मुख्य कारण रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
इंगल्याण्डको अक्सफोर्ड र बेल्जियमको ल्युवेन युनिभर्सिटीका अनुसन्धानकर्ताहरुको टोलीले एचआइभीको फेमिली ट्री को पुनर्संरचना गर्ने प्रयास गरेका छन् ।
वैज्ञानिकहरुका अनुसार चिम्पान्जी भाइरसको परिवर्तित रुप नै एचआइभी भाइरस हो । चिम्पान्जी भाइरसलाई सिमियन इम्युनोडिफिसिएन्सी भाइरसको नामले पनि चिनिन्छ । यो भाइरस चिम्पान्जी, गुरिल्ला तथा बाँदर हुँदै मानिसमा सरेको वैज्ञानिकहरुले बताएका छन् ।
