दीर्घरोग र खानपान



नेपाली समाजमा दिनप्रतिदिन दीर्घ रोगी बढ्दैछन् । क्यान्सर, मिर्गौला, मधुमेह, हृदयाघात, उच्च रत्तचाप (ब्लडप्रेसर) जस्ता दीर्घ रोगले नेपाली समाजलाई निकै पिरोलिरहेको छ । उच्च ओहोदाका कर्मचारी, नेता, व्यापारी, पत्रकार साहित्यकार, उद्योगपति, सल्लाहाकारदेखि लिएर सामान्य मजदुर, कृषक र वैदेशिक रोजगारमा गएका नेपाली दीर्घ रोगका शिकार भएका छन् । साहित्यकार जगदिश घिमिरे, उपकारी डाक्टर चित्रप्रसाद वाग्ले र प्रसिद्ध चलचित्र निर्देशक शिब रेग्मीले दीर्घरोगकै कारण मृत्युवरण गरिसकेका छन् । कैयौं वरिष्ठ डाक्टर, साहित्यकार, कलाकार र आममानिस पनि त्यसैको शिकार भई मृत्युलाई पर्खेर बाँचिरहेका छन् । अबको नयाँ नेपाल दीर्घरोगको घर बन्ने पक्का भएको छ । नेपाल सरकारका निकायले गरेको कामलाई नकारात्मक रुपमा लिन सकिन्न, तर दीर्घ रोगको समाधानका लागि आवश्यक ठोस कदम चालेको देखिँदैन । हरेक चेतनशील र विवेकशिल नेपालीको मन मस्तिकमा अबको प्रमुख लडाईमध्ये  एक दीर्घ रोगविरुद्ध हुनुपर्ने जरुरी देखिन्छ ।
दीर्घरोगसँग लड्न जनस्तरमा निकै चेतनाको विकास गर्न जरुरी देखिन्छ । यसबाट बच्न कस्ता उपाय अबलम्बन गर्न सकिन्छ भन्ने कुरामा ध्यान दिनुपर्ने हुन्छ । क्यान्सरजस्तो दीर्घरोगबाट बच्न प्राइटाकेमिकल भएका खानेकुरा जस्तै लसुन, अदुवा, स्याउ सन्तुलन मिलाई सेवन गर्ने तरिकाको चेतना जनमानसमा पु¥याउन जरुरी छ । मिर्गौला रोगसँग लड्न नियमित प्रोटिनजन्य खानेकुरा जस्तैः– माछा, मासु, अण्डा, दाल गेडागुडी, दुध उचित मात्रामा सेवन गर्ने तरिका जान्न जरुरी देखिन्छ ।
सरदर १ ग्राम प्रोटिन प्रति किलो तौलअनुसार खान र यसलाई घरेलु नापमा परिवर्तित गरि आमनेपाली माझ चेतना पु¥याउन सक्नु नै उत्तम उपाय हुनेछ । मिर्गौला रोगका विषयमा जनचेतनामुलक कार्यक्रम ल्याउन जरुरी देखिन्छ । उदाहरणका लागि हरेक व्यक्तिलाई आफ्नो जन्म दिनको अवसरमा सहुलियत दरमा स्वास्थ्य परीक्षण गर्न छुट दिन सरकारले उचित पहल गर्नुपर्छ । यस कार्यक्रमलाई सरकारले निजी संस्थासंग  सहकार्य गरि अगाडि बढाउँदा त्रिपक्षीय लाभ हुने देखिन्छ ।  उच्च रक्तचाप र चिनी रोग (डायबेटिक) सँग लड्नका लागि पनि सन्तुलित भोजनको नापलाई अगागि पु¥याउन जरुरी छ । उच्च रक्तचापलाई रोक्न जनतामाझ पोलिफिनोल र सल्फाइड पाईने खाने कुरा जस्तै अमला, स्याउ, केसरी, कागति, लसुन, अदुवा, दाल, चिनी आदि लाई सन्तुलन मिलाई सेवन गर्नुपर्छ । चिल्लो पदार्थ र अन्य जङक खानेकुराबाट हुने हानीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कुरा जनमानसमा सिकाउनु जरुरी छ । उदाहरणका लागि जनावरवाट आउने चिल्लो पदार्थ  सेवनमा कमी ल्याउन जरुरी देखिन्छ ।
हाम्रा चलनचल्तीमा बढी मात्रामा सेवन हुने खानपिन जस्तै चाउमिन मःमः पुरि, मालपुवा, जेरी, समोसा र चियामा के कस्ता हानिकारक वस्तु छन् र यसको सम्वन्ध दीर्घ रोगसंग कस्तो छ भन्ने कुरालाई राष्ट्रव्यापी रुपमा अनुसन्धान जरुरी देखिन्छ ।
यस्तै अन्य दीर्घरोगसँग जुध्न पोषण विज्ञानलाई अगाडि बढाउन जरुरी छ । पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन आमसञ्चार जगतले खानपिनबाट हुने हानीका बारेमा विभिन्न सञ्चार माध्यममा दैनिक जसो समाचार आउनुपर्छ । अन्य विभिन्न निकायमा जस्तै, उपभोक्ता समूह जनप्रतिनिधि, व्यापारी, कलाकार, साहित्यकारले पनि यस विषयमा आवाज उठाई अधिकारसम्पन्न ‘खाद्य सुरुक्षा आयोग’ र ‘पोषण आयोग’ गठन गर्न जरुरी देखिन्छ ।
सरकारी निकायले पनि एउटा निश्चित मापदण्ड बनाइ अनुसन्धनात्मक काम गर्न जरुरी देखिन्छ । नेपाली जनतामा दिनहुँजसो बढ्दै गरेका विभिन्न दीर्घ रोग कुन खानेकुराबाट भएको छ र यसलाई रोकथाम गर्न कस्ता उपाय अबलम्बन गर्न सकिन्छ भन्ने निचोड निकाल्न सरकारी पक्षले चासो दिनु जरुरी छ । हुन सक्छ नेपालीले दैनिक सेवन गर्ने चिया, मालपुवा, मःम, चाउमिन र अन्य बजारिया वस्तु नै दीर्घरोगका कारण त हैनन् ? यी कुरालाई चिन्तनमनन गरि बेलामा ध्यान दिन सके अब आउने दिनमा हाम्रा भावी सन्तान दीर्घ रोगबाट पीडित हुनुपर्दैन कि ?
swasthyakhabar.com

, ,

news and entertainment