ठगी धन्दाको रामकहानी, नेपालीमूलका अष्ट्रेलियन नागरिक सुनील उप्रेती हुन् ठगका नाईके
काठमाडौं,कार्तिक २८ – राजधानीको बागबजार स्थित रत्नराज्य क्याम्पसको पछाडी भव्य महल छ । त्यो महलको दोस्रो तलामा ‘द लाष्ट मिनेट ग्रयब डटकम’ लेखिएको होर्डिङ्ग बोर्ड देखिन्छ । होर्डिङ्गबोर्ड पछ्याउँदै जादा त्यहाँ यस्ता कोठाहरु छन् जहाँ सरकारले अवैध घोषणा गरेको नेटवर्किङ्ग व्यवसायदेखि हुण्डीसम्मको कारोबार हुनेगर्छ । नेपाली मूलका अष्ट्रेलियन नागरिक सुनील उप्रेती उक्त धन्दाका सञ्चालक हुन् । उक्त स्थानमा के के धन्दा चल्छ त ? अवैधानिक धन्दाको फेहरिस्त यस्तो छ ।
कोठा न : १
दोस्रो तला चढे लगतै एउटा कोठा देखिन्छ । त्यहाँ तपाइले अध्ययनको लागि विदेश जाने परामर्स पाउनुहुनेछ । विद्यार्थी भिसामा अष्ट्रेलिया, जापानलगायतका देश जाने काउन्सेलिङ्ग त्यहाँ गरिन्छ । त्यहाँ कन्सल्टेन्सीको रुपमा तपाइलाई स्वागत गरिन्छ । अध्ययनको लागि विदेश पठाउने आश्वासन पनि दिइन्छ । अध्ययनको लागि अष्ट्रेलिया जान १० देखि १५ लाखसम्म तिरे पुग्छ भनिन्छ । तर एक जना विद्यार्थीसंग २४ लाखसम्म असुलेको भेटिएको छ । एक पिडित विद्यार्थीले यसरी ठगीएपछि विभिन्न निकायमा उजुरी गरिन् । तर, मालिक अष्ट्रेलियन भएकाले नेपाल सरकारले केहि गर्न सकेन । ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर’ मार्फत विद्यार्थीहरु अझै ठगिँदै आएका छन् । विद्यार्थी मात्रै होइन ट्रेनिङ्ग भिसा र वर्क पर्मिट भन्दै एक जनाबाट ३० लाखसम्म असुल्ने गरेको पाइएको छ ।
कोठा न : २
संगैको अर्को कोठामा नेटवर्कीङ्ग व्यावसाय निर्वाध रुपमा सञ्चालन गरिन्छ । सर्वसाधारण ब्यापक रुपमा ठगिएपछि नेटवर्कीङ्ग व्यावसायलाई सरकारले प्रतिबन्ध लगाएको छ । तर यहाँ त्यो नियम लागु हुँदैन । सो व्यावसायका विजनेस म्यानेजर बताउने राजेश श्रेष्ठले रातोपाटीलाई प्राप्त अडियोमा भनेका छन्, ‘नेपालमा अनलाइन नेटवर्किङ्ग विजनेस त्यति राम्रो छैन तर हामी नेपालीहरुलाई सिकाउने फेजमा छौं यो क्रम जारी रहनेछ ।’ सञ्चालक को हुनुहुन्छ भन्दा उनले भने ‘उहाँ नेपालका हुनुहुन्न अष्ट्रेलियन नागरिक भएको हुन् ।’ ‘लास्ट मिनेट ग्राय्ब नेपाल’ यसको मालिक पनि उनै उप्रेति हुन् । जून नेपाल सरकारले अवैध घोषणा गरेको नेटवर्कीङ्ग व्यावसाय हो ।
कोठा न: ३
तेस्रो कोठामा एसएनएस ट्राभल पोइन्ट, लेखिएको छ । एक कर्मचारीका अनुसार सो कोठामा ट्राभलको काम अक्सर हुने गर्दछ तर त्यहाँ ट्राभल भन्दा पनि हुण्डीको व्यवसाय भने व्यापक चल्ने गरेको छ । सरकारले हुण्डी कारोबार गर्न रोक लगाएको छ तर यहाँ सरकारी रोकको कुनै वास्तै हुदैन । ती कर्मचारी भन्छन् ‘कारोबार निर्वाध रुपमा चलिरहेको छ ।’
राजश्व छलिको उजुरी परेपछि अन्तरिक राजश्व विभागले सो कम्पनिमा छापा मार्यो । दर्ता कसको नाममा भनेर बुझ्दै जाँदा पत्ता लाग्यो, राम प्रसाद उप्रेतीको नाममा रहेछ । राजश्व विभागका अनुसार दर्ता नाम र व्यवसायी फरक फरक भेटिएको छ । रातोपाटीलाई प्राप्त कागजातमा चार वटै कारोबारको मालिक भने सुनिल उप्रेति लेखिएको छ । तर संस्था भने अर्कैको नाममा दर्ता छ । यहाँ हुने सम्पूर्ण कारोबारको रकम भने सिधै अष्ट्रेलिया पुग्ने गरेको ती कर्मचारी बताउँछन् । यी विभिन्न चार व्यावसाय (ट्राभल, कन्सलटेन्सी, हुण्डी, र नेटवर्किङ्ग व्यावसाय) को फोन नम्बर भने एकै छन् ।
विभिन्न स्थानमा झुटो शाखा कार्यालय
वेभसाइटमा आम मानिसलाई विश्वास दिलाउन देशका विभिन्न स्थानमा शाखा कार्यलय रहेको बताइएको छ । तर ति सबै झूटा हुन् । विराटनगर कार्यलय भनेर दिइएको नम्बर ९८४२०२७५२६ मा सम्पर्क गर्दा फोन उठाउने व्यक्तिले आफूलाइ कम्पनिकै विषयमा थाहा नभएको बताउँछन् । त्यस्तै अन्य स्थान,पोखरा,बुटवल विर्तामोड, धनगढि चितवन, फीलीपिन्समा कार्यलय रहेको झूटो कुरा वेभसाइटमा लेखिएको छ । विर्तामोड शाखा कार्यलय बताइएको नम्बरमा फोन गर्दा सहिद आचार्यले उठाए । उनले वेभसाइटमा बताइए अनुसार आफुलाई फोन आउने गरेको तर शाखा कार्यलय नभएको बताए । उनका अनुसार सबै स्थानमा शाखा कार्यालय छैनन् ।
उनको कारोबारको विषयमा प्रश्न उठेपछि ललितपुर पत्रकार महासंघका सदस्य मनोज गौतमले अष्ट्रेलियामै उनकै कार्यकक्षमा गएर बुझ्न खोज्दा उप्रेतिले उल्टै गौतमलाई ज्यान मार्ने धम्की दिएको गौतमले बताए ।
त्यस्तै गरि उप्रेतिको कारोबारको विषयमा अष्ट्रेलियन सरकारले समेत छानविन गरिरहेको बताइएको छ ।
http://www.ratopati.com/2014/11/13/182145.html#sthash.tbpAqjYS.pvtDRNlG.dpuf
