विदेशबाट रोगी भएर फर्किएपछि पत्नीले छोडिन् !

ज्यानमा बल हुँदासम्म खान लाउनको पीर थिएन । जसोतसो कमाएर गुजारा चलिरहेको थियो । तर अहिले कहिल्यै निको नहुने रोग लागेपछि आफ्नो त बिचल्ली भयो नै । छोराछोरीले समेत दुःख पाए ।
यो व्यथा हो, भक्तपुर चाँगुनारायण गाविस ७ मिजार गाउँका रामकृष्ण सार्की (मिजार) को । गाउँमा छँदा जुत्ता सिलाउने काम गर्ने मिजार अलि धेरै कमाउने आशाले साउदी अरब पुग्नुभयो । त्यहाँ पनि जुत्ता सिलाउने काम नै गर्नुभयो । तर काम गर्दै जाँदा उहाँलाई रोगले थला पार्यो । ४० वर्षिय रामकृष्ण तीन महिना अरबमै थलिएर फर्कनुभयो ।
गएको बैशाख १६ गते साउदीबाट सिधै बीर अस्पताल लगेर तीन महिना उपचार गर्दा डाक्टरले अब निको हुँदैन भनेर फर्काएपछि दैनिक घरमा बाबु कुरेर बस्नुपरेको जेठी छोरी सविताले बताइन् । श्रीमान सिकिस्त भएको थाहा भएपछि रामकृष्णकी श्रीमतीले पनि छोडेर हिँडिन् ।biramivhaypa6i‘बाबु बोल्न, चलमल गर्न नसक्ने गरि विरामी परे, आमा अरुसंगै भागेर गईन्, बुबाको उपचारदेखि खानलाउन समेत ठूलै समस्या पर्यो, हामी त विचल्लीमा पो पर्याै’ आँखाभरी आँसु पार्दै सविताले भनिन् ।
अस्पतालमा उपचार गर्दा लागेको तीन लाख रुपैया अरबमा बस्दा कमाएको पैसा र गाउँलेले चन्दा संकलन गरेर दिएको रकमबाट तिरेको बताउँदै रामकृष्णका ६६ वर्षका बाबु चतुरे सार्की (मिजार) ले अहिले घरमा दैनिक एकहजार रुपैया खर्च हुने गरेपनि आम्दामी नहुँदा ठूलो समस्या परेको बताउनुभयो ।
जेठी छोरी सवितासंगै, १२ वर्षका छोरा सरोज, ८ वर्ष की छोरी सलिनाको दिनचर्या त्यही बाबुको स्याहार गर्न र गाउँमा चन्दा माग्दैमा बित्ने गरेको छ । रुँदै सविताले भनिन्, ‘बुबाको होस छैन, कसैलाई चिन्नुहुन्न, सुतेको सुतै हो, दालको रस, दूध नाकमा राखेको पाईपबाट खुवाउने गरेका छौ, दिसा, पिसाबका लागि पाईप जोडिएको छ, हाम्रो त साह्रै बिजोग भयो ।’ कहिले त दूध किन्ने पैसा समेत नहुने गरेको बताउँदै उनले आफ्नो र भाइ बहिनीको पढाई समेत बिग्रिएर भविश्य नै अन्यौल बनेकोे बताइन् ।
चाँगुनारायणका समाजसेवी रमेश बुढाथोकीले विरामी भएर रामकृष्ण नेपाल आएदेखि नै गाउँलेले चन्दा उठाएर सहयोग गर्दै आएपनि यो दीर्घकालिन नभएको बताउनुभयो ।
तीन बच्चाको बिचल्ली भएको बताउँदै उहाँले कसैले सहयोग गरिदिन्छ की भनेर गाउँलेले नेपाल बैंक भक्तपुर शाखामा १९—१०—१९२८८४ नम्बरको खाता खोलिदिए पनि कतैबाट सहयोग नजुटे पछि दलित परिवारको थप बिचल्ली भएको बताउनुभयो ।
बुढाथोकीले रामकृष्णको उपचार, तीन बच्चाको पढाई र खानेखर्चका लागि सहयोग गरिदिन आग्रह समेत गर्नुभयो ।स्रोत : उज्यालो अनलाइन 

,

news and entertainment