दुई नेताबीच बोलचाल बन्द!
काठमाडौं । समय र परिस्थितिले मानिसको सम्बन्धलाई कतिसम्म प्रभावित गर्दोरहेछ भन्ने कुराको उदाहरण नेपाली राजनीतिका दुई चर्चित पात्र बनेका छन्। एमाओवादी अध्यक्ष प्रचण्ड र काङ्गे्रस महामन्त्री कृष्ण सिटौलाबीचको सम्बन्ध एक समय यति कसिलो मानिन्थ्यो कि प्रचण्डसँगको मित्रताकै कारण काङ्गे्रसभित्र सिटौलालाई माओवादीको मान्छेका रूपमा लिइन्थ्यो।
०६३ असार १ गते कास्की पुगेर प्रचण्ड–बाबुरामलाई काठमाडौं ल्याउने कार्य गरेयता सिटौलालाई सधै प्रचण्डनिकटका व्यक्तिको रूपमा हेनेए गरिएको थियो। तर, संविधानसभाको दोस्रो निर्वाचनपछि दुई नेताबीचको सम्बन्ध हिउँझैँ चिसो हुन पुगेको छ। प्रचण्डको विचारमा ‘सिटौला एक खुँखार षड्यन्त्रकारी’ हुन् र उनकै कारणले एमाओवादीलाई अप्ठ्यारो परिरहेको छ। प्रचण्डले सिटौलाको बारेमा आफ्ना निकटका व्यक्तिहरूसँग उल्लिखित टिप्पणी गर्न थालेको धेरै भए पनि सिटौलाको मुखैमा ‘षड्यन्त्रकारी’ भनिदिएकोचाहिँ धेरै भएको छैन। दुई साताअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले सिटौलाको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै भन्नुभएको थियो, ‘यो सब षड्यन्त्र गर्ने तपाईं नै हुनुहुन्छ। तपाईंकै कारण सहमति बन्न सकिरहेको छैन।’ त्यसरी सिटौलालाई षड्यन्त्रकारी भनिसकेपछि उहाँहरूबीच खासै संवादको स्थिति रहेको छैन र बुझिएअनुसार प्रचण्डले सिटौलासँग कुनै संवाद गर्न चाहनुभएको पनि छैन। प्रचण्डझैं सिटौला आफ्नो स्वभावअनुसार प्रतिक्रिया जनाउने या नकारात्मक टिप्पणी गर्ने गर्नुहुन्न।
तर, पछिल्लो समयमा प्रचण्डसँग संवाद गर्न त्यति उत्साही पनि उहाँ हुनुहुन्न। दुई नेताबीच अहिले सामान्य बोलचालसमेत हुन सकेको छैन। प्रचण्ड रक्षात्मक अवस्थामा पुगेपछि धेरैले उहाँको साथ छोडिसकेका छन्, त्यसैले सिटौला वक्री हुनुलाई अनौठो भने मानिएको छैन।
www.weeklynepal.com
www.weeklynepal.com
