मलाई ज्यानको खतरा छः प्रचण्ड
८ फागुन, काठमाडौं ।
एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई ज्यानको खतरा उत्पन्न भएको दावी गरेका छन् । आफूलाई सिध्याउने तानाबाना बुनेको जानकारी आफूले आज विहान (शुक्रबार) मात्र पाएको प्रचण्डको दावी छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संघ र नेपाल राष्ट्रिय इन्जिनिरिङ संगठनले राजधानीमा आयोजना गरेको अन्तरक्रिया बोल्दै प्रचण्डले आफूलाई ज्यानको खतरा भएको बताएका हुन् ।
उनले भनेः म माथि गम्भिर खतरा छ । ज्यानकै खतरा छ । विपी कोइरालाले सँधै राम्रो गर्न खोज्नु भो । उहाँलाई कहिले जेल हालियो कहिले निर्वासनमा पठाइयो कहिल्यै राम्रो काम गर्न दिइएन । मदन भण्डारीले पनि गर्न खोजे तर दुर्घटनामा मारियो । गिरिजा र म हुँदा कुरा मिल्थ्यो अव गिरिजा मरेपछि प्रतिगामी क्वार्टरबाट मलाई सिध्याउने तानाबाना बुनिएको जानकारी पाएको छु । आज विहान मात्र जानकारी पाएँ ।
तरबार र म्यानको प्रसंग
प्रचण्डले कांग्रेस एमालेसँग रहेको बहुमतलाई तरबारको सज्ञा दिँदै तरबार म्यानमा नराखे सम्म आफूहरु संविधानसभामा नफर्किने बताए । प्रचण्डले भनेः काँग्रेस एमालेसँगको बहुमत तरबार झुण्डाएको थाहा थियो । उनीहरुले ५ गते म्यानबाट तरबार झिके हामी झस्कियौं । उनीहरुले भित्रै राख्न भन्दा मानेनन् । उनीहरुले ११ गते तरबार निकालेर हानी नै हाले अनि हामी मर्ने डरले भाग्यौं । हामी फर्किने हो भने तरबार म्यान भित्र राख्न आग्रह गरेका छौं । हामीलाई अहिलेको आन्दोलन रहर होइन बाध्यता हो । हामी कमजोर भएका छौं । हामी कमजोर हुँदा बहुमतको तरबार देखाएका छन् । हामीलाई अलिकित शक्ति दिनुस् त्यही शक्तिका साथ संविधानसभामा फर्किन्छौं ।
प्रचण्डले सके सम्म अझै पनि सहमतिमै संविधानका लागि अधिकतम प्रयास गर्ने र अन्तिम सम्म लाग्ने बताए ।
