उपलब्धिको रक्षा र आन्दोलनरत शक्तिसँग वार्तामा लागि प्रचण्डले जारी गरे ११ बुँदे विज्ञप्ति
काठमाडौं– एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले नयाँ संविधानसभाबाट प्राप्त भएका उपलब्धीको रक्षा र आन्दोलनरत शक्तिसँग वार्तामा जोड दिएका छन् । बुधवार विज्ञप्ति जारी गर्दे प्रचण्डले उपलब्धिको संस्थागत र वार्तामा जोड दिएका हुन् ।
१– संविधानसभाबाट प्राप्त भएका संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीकरण, सामाजिक न्याय लगायतका जनताका महत्वपूर्ण उपलब्धिहरुको रक्षा गरौं ।
२– दुई, अन्दोलनकारी शक्तिहरु र उत्पीडित समुदायसँग इमान्दार एवम् गम्भीर वार्ता र राजनीतिक समाधानको सक्रिय पहल गरिनु पर्दछ । बल प्रयोगमा आधारित भएर समस्याको समाधान नहुने भएकाले वार्ता एवम् राजनैतिक सम्बोधनमा जोड दिनु पर्दछ ।
३– सरकार र प्रमुख पार्टीहरुले यसमा उपलब्धी संस्थागत र वार्तामा तथा आन्दोलनकारी शक्तिहरुले संविधानमा संस्थागत हुन सकेका विषयहरुको महत्व एवम् उपलब्धिलाई आत्मसाथ गर्दै अहिलेका संघर्षका जायज मुद्दाहरुलाई पूरा गर्न वार्तामा बस्न आवश्यक रहेको छ ।
४–आन्दोलनलाई शान्तिपूर्ण बनाउन र देशभक्तिपूर्ण भूमिकाका निम्ति सधै अग्रपंक्तिमा स्थापित मधेशी जनसमुदायलाई लान्छित गर्नेगरी राष्टिय भौगोलिक अराजकताविरोधी प्रवृत्तिले लाभ लिन नपाओस् भन्ने कुरामा सतर्क रहन आन्दोलनरत शक्ति एवम् जनसमुदायसँग अपिल गर्दछौं ।
५–हाम्रो पार्टीले जनयुद्ध, एवम् सो को समायोजनमा भएको ऐतिहासिक जनआन्दोलनको निर्देश उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग र समुदायका मुद्दाहरु संविधानमा संस्थागत गर्न अन्तिमसम्म संघर्ष गर्दा पनि कतिपय मुद्दाहरु अझै संस्थागत हुन सकेका छैनन् । यस प्रति हाम्रो पार्टीले संविधानसभामा विरोध, असहमति र मतभेद दर्ज गरेको छ । मजदूर, किसान, महिला, दलित, आदिबासी जनजाति, मधेशी, मुस्लिम, थारु, सीमान्तकृत समुदाय लगायत उत्पीडित समुदायका ती मुद्दाहरुमा पार्टी संघर्षरत रहिरहेको छ । यस विषयलाई आत्मसाथ गर्न सम्पूर्ण पार्टी पंक्तिलाई आव्हान गर्दछ । साथै संक्रमणकालीन न्यायसँग सम्बन्धित शान्ति प्रक्रियाका बाँकी कार्यहरुलाई विस्तृत शान्ति सम्झौताको मर्म र भाव अनुसार सम्पन्न पार्ने दिशामा अघि बढ्न पनि सबैमा अपिल गर्दछौं ।
६–राष्ट्रिय स्वाधिनताको रक्षामा दृढ रहँदै उपरोक्त कार्यभारहरु पूरा गरी समाजवाद निर्माणको दिशामा अघि बढ्न पार्टी प्रतिबद्ध रहनेछ ।
७ एमाओवादीले नयाँ संविधानको घोषणालाई ऐतिहासिक उपलब्धिका रुपमा स्वागत गर्दै खुशी प्रकट गरिरहँदा यस सन्दर्भमा देखिएका केही गम्भीर कमी कमजोरी र गलत विषयहरुप्रति विरोध, असहमति र मतभेद राख्दै आएको तथ्य पनि सबैलाई विदितै छ ।
८–संविधानसभा भित्र रहेका कतिपय मुख्यतः मधेश केन्दित पार्टीहरु संविधान निर्माणको अन्तिम प्रक्रियाबाट नै अलग भई आन्दोलनरत छन् । थारु लगायत विभिन्न उत्पीडित वर्ग एवम् समुदायप्रति नयाँ संविधानले पहिचान र आफ्नो हक अधिकारको मुद्दालाई सम्बोधन गर्न नसकेको भन्दै सघर्षमा छन् । त्यसक्रममा तराई मधेशमा ४० भन्दा बढी आन्दोलनकारी र केही प्रहरी सुरक्षाकर्मीको मृत्यु भइसकेको छ । जनजीवन र आर्थिक क्रियाकलाप अस्त–व्यस्त छन् । यो ज्यादै दुःखको विषय हो । यसबाट हाम्रो पार्टी मर्माहत भएको छ ।
९–हाम्रो पार्टीले प्रमुख पार्टीहरुको बीचमा संविधान घोषणा अघि र पछि लगातार यसको राजनैतिक सम्बोधन र समाधानको पक्षमा प्रस्ताव सहित जोड गर्दै आएको छ । तर यस सन्दर्भमा उपयुक्त सहमति हुन नसक्दा एकातिर संविधान घोषणा गर्दा संविधानसभमा रहेको सबै शक्तिहरुको सहभागिता र स्वामित्व कायम हुन सकेन भने संविधानको घोषणा पछि देशमा तनाब र द्वन्द जडित स्थिति कायम रहिरहेको छ । यो नेपाल र नेपालीको हितमा नहुने कुरा स्पष्ट छ ।
१०– संविधानसभाबाट संविधान बन्न नदिने र प्राप्त उपलब्धि समाप्त गर्ने कुनै पनि शक्ति, प्रवृत्ति र षड्यन्त्रसँग सम्झौता नगर्ने दृढताका साथ सबै प्रकारका चुनौतिहरुलाई चिर्दै संविधान निर्माण प्रकृयालाई घोषणाको यो बिन्दुसम्म पु¥याउन नेतृत्वदायी भूमिका खेल्ने हाम्रो पार्टी सम्पूर्ण नेपाली जनता र नेपालको हित चाहने सबैका लागि यो हर्ष र प्रसन्नताको विषय हो । हामी यस अवसरमा देश, जनता, संविधानसभा र यो परिवर्तनको मुद्दाहरुको निम्ति संघर्षमा जीवन बलिदान गर्नु हुने महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र वेपत्ता योद्धाहरुप्रति हार्दिक सम्मान प्रकट गर्दै घाइते योद्धाहरुलाई अभिनन्दन गर्न चाहन्छौं र नेपाली जनताप्रति आभार एवम् धन्यवाद प्रकट गर्दछौं ।
११– नेपाली जनताले आफ्नो संविधान आफैं बनाउन करिब ७ दशकदेखि गर्दै आएको निरन्तरको संघर्षको परिणाम स्वरुप संविधानसभाबाट नयाँ संविधान घोषणा भएको छ । संविधानसभा र नयाँ संविधान संस्थागत भएमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी एवम् समाजिक न्यायसहितको समावेशी लोकतन्त्रलाई राष्ट्रको तात्कालिक कार्यसूची बनाउँदै त्यसको पक्षमा मुख्य रुपमा संघर्ष गर्ने हाम्रो पार्टी एकीकृत ने.क.पा.(माओवादी) र सिंगो राष्ट्रको लागि यो ऐतिहासिक उपलब्धि हो ।
