गाडीमा ढुंगा हान्न बालकलाई २० रुपैयाँ ‘हामी सुतिरहेका थियौं, दुईजना आएर २० रुपैयाँ दिन्छु, ढुंगा हान भन्यो
मधेसी मोर्चाद्वारा आन्दोलनमा बालबालिकाको प्रयोग
सिमरा : कर्फ्यू लगार्इ मध्यरातमा स्कर्टिङ गरिएको गाडीमा ढुंगा हान्न मधेसी मोर्चाले बारामा कलिला बालकलाई रकम दिएर प्रयोग गरेको पाइएको छ ।
ढुंगा हानिरहेको अवस्थामा बुधवार बिहान दुई बजे जीतपुरस्थित काँटाबाट तीन बालक पक्राउ परेपछि पैसाको प्रलोभन देखाएर बालकहरु प्रयोग भइरहेको खुलेको हो ।
पक्राउ परेका तीनजना बालकले आफूहरुलाई २० रुपैयाँ दिएर ढुंगा हान्न लगाएको बयान प्रहरीसमक्ष दिएका छन् ।
स्कर्टिङमा लस्करै आइरहेको गाडीमा साना बालकलले ढुंगा हानिरहेको सूचना पाएपछि पुगेको इलाका प्रहरी कार्यलयको टोलीले तीनजना बालकलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ९ वर्षीय अर्जुन सिंह, ९ वर्षकै बिकी साह र १२ वर्षीय विनोद महतो रहेको इलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
पक्राउ परेकामध्ये सिंह र महतो तीन कक्षामा पढ्छन् भने साह दुई कक्षामा पढिरहेका छन् ।
राति घरमा नआएको भन्दै खोजीरहेका उनका अभिभावकले बालक पक्राउ परेको जानकारी बिहान मात्रै पाएका थिए । आफूहरुलाई नभनी बालकहरु घरबाट निस्किएको अभिभावकको भनाइ छ ।
पक्राउ गरी इलाका प्रहरी कार्यलय सिमरामा ल्याएपछि डराएका बालकहरुले आफूहरु कहिल्यै त्यस्तो काममा नजाने भन्दै छोडिदिन प्रहरीलाई आग्रह गरिरहेका थिए ।
आफूहरुलाई २० रुपैयाँ दिने भन्दै दुईजना ब्यक्ति आएर ढुंगा हान भन्दा नमानेको बालक सिंहको भनाइ छ ।
‘हामी सुतिरहेका थियौं, दुईजना आएर २० रुपैयाँ दिन्छु, ढुंगा हान भन्यो’ सिंहले भने ‘हामीले मानेनौ त्यसपछि उनीहरुले ढुंगाा हानिरहे । त्यसको केहीबेरमा प्रहरी आएर हामीलाई पक्राउ गर्यो, उनीहरु भने फरार भए ।’
मध्यरातमा ढुंगा हानिरहेको स्थानबाट समातिएका तीनैजना बालकले आफूहरु काटा नजिकैको छिमेकीको घरमा सुतिरहेको बताएका छन् । प्रहरी निरीक्षक खड्काले भने उनिहरुलाई रकमको प्रलोभनमा पारेर प्रयोग गरेको पाइएको बताए ।
‘रकमको प्रलोभनमा पारिएको छ, यस्ता कलिला बालकलाई प्रयोग गरेर गाडीमा ढुंगा हानेको भन्दा ठुलो अपराध गरिरहेका छन्,’ खड्काले भने ‘यस्ता गतिविधिमा कलिला बालकको प्रयोग गर्नुहुँदैन । आन्दोलनरत सबै पक्षले सोच्न जरुरी छ ।’
साना बालबालिकालाई आन्दोलनमा नपठाउन सुझाव दिँदै नियन्त्रणमा राखिएका बालकलाई अभिभावकको जिम्मा लगाएर पठाएको खड्काले बताए ।
जारी आन्दोलनमा साना बालबालिकाको प्रयोग बढी मात्रामा देखिएको खड्काले बताए । साना बालबालिका हातमा भाटा र लाठी बोकेर आन्दोलनरत पक्षको प्रदर्शनमा सहभागी भएको अवस्था देखिएको खड्काको भनाइ छ ।
