भारतले नाकाबन्दी गरे चीन र पाकिस्तान सहयोग गर्न तयार
lकाठमाडाैं । नेपालमा संविधानसभाबाट संविधान बनेकोमा विश्वभरबाट स्वागत र शुभकामनाको ओइरो लागेको छ । छिमेकी चीन, अमेरिका, युरोपियन युनियन, फ्रान्स, जर्मनी, नर्वेसहितका देशले स्वागत र समर्थन दिंदै संविधान निर्माण सफल भएकोमा नेपालीलाई बधाई हुन् । विश्वका यी महत्वपूर्ण देशहरुको साथ सहयोग भइरहँदा नजिकको छिमेकी भारत र नेपाल सदस्य राष्ट्र भएको संयुक्त राष्ट्रसंघ भने संविधान निर्माणको बागी देखिएका छन् ।
पाकिस्तानले पनि सोमबार नै संविधान निर्माणप्रति खुशी जनाउदै शुभकामना दिएको थियो । जर्मनीका विदेशमन्त्री फ्रयान्क वाल्टर स्टेइनमियरले पनि नेपालमा बनेको नयाँ संविधानले लोकतन्त्रलाई संस्थागत गर्ने भन्दै खुशी व्यक्त गर्दै बधाई दिएका छन् । नेपाल ऐतिहासिक रुपमा नयाँ युगमा प्रवेश गरेको जर्मनको धारणा छ ।
यूएन र भारत बागी
विश्व समुदायबाट लोकतान्त्रिक तबरबाट जारी भएको संविधानलाई स्वागत, बधाई र शुभेच्छा प्रकट भइरहेका बेला नेपालले सदस्य राष्ट्र भई सहयोग गरेको संयुक्त राष्ट्रसंघ र छिमेकी भारत भने बागी देखिएका छन् । यी दुवैले लोकतान्त्रिक विधिको सम्मान नगरी नेपालमा संविधान जारी भएको जानकारी भएको मात्र बताएर नेपालको अवमूल्यन गरेका छन् । युएनले भने वार्ता र संवादको लागि दुई दिन प्रक्रिया स्थगित हुँदा स्वागत गरेको थियो । तर, दुई तिहाईभन्दा बढी मतबाट संविधान पारित भई जारी हुँदा सदस्य राष्ट्रको ऐतिहासिक उपलब्धीलाई अबमूल्यन गरेको कुटनीतिज्ञहरुले बताएका छन् ।
पटकपटकको वार्ता प्रयासलाई नजरअन्दाज गर्दै युएनका महासचिव वान की मुनले तराई मधेसको हिंसात्मक घटनाप्रति चिन्ता जनाएर विज्ञप्ती जारी गरेका छन् ।
चीन र पाकिस्तान सहयोग गर्न तयार
नजिकको, भाषा, संस्कृति, रहनसहन मिल्ने भारतले संविधान बनेकोमा असन्तुष्टी जनाउँदै असहमति प्रकट गरेपछि चीन र पाकिस्तान भने एक कदम अगाडि सरेर स्वागत र समर्थनमा उभिएका छन् । भारतले नाकाबन्दी नै गरे पनि आफूहरु नेपाललाई सहयोग गर्न तयार रहेको यी दुई देशहरुको सन्देश छ । सामाजिक संजालहरुमा समेत भारतले नाकाबन्दी गरे अर्को उत्तरी छिमेकी राष्ट्र चीनसंग थप हातेमालो गर्नुपर्ने आवाज उठेका छन् ।
पाकिस्तानले पनि भारतको दुष्मनीलाई नेपाललाई साथ दिएर उसलाई जवाफ दिन खोज्दैछ । सामाजिक संजालमा भारतको नाकाबन्दीको यो प्रयासलाई पाकिस्तानीहरुले तीव्र विरोध नेपालीको पक्षमा आफूहरु रहेको जनाई रहेका छन् ।
