बालुवाटारमा तीन दलको निष्कर्षः भारतले दुःख दिइरहन्छ
६ असोज, काठमाडौं । एमालेको चियापान
कार्यक्रममा कांग्रेस र एमालेका नेताहरु भन्दै थिए,
संविधानलाई लिएर बेखुस भारतले नाकाबन्दी गर्न
सक्दैन र गर्दैन पनि ।
प्रचण्डले भारतको नाम नलिई नाकाबन्दी भए गाडी
छाडेर साइकल चढ्ने तर, नझुक्ने उद्घोष गरेका थिए ।
तर, साँझ बालुवाटारमा बसेको कांग्रेस, एमाले र
एमाओवादीका शीर्ष नेताहरुको बैठकले निष्कर्ष
निकालेको छ, नाकाबन्दीको औपचारिक घोषणा
गर्दैन, तर, भारतले दुःख दिइरहन्छ ।’
आफूले भनेको नमानेको भन्दै भारतले आपूर्ती असहज हुन
सक्ने चेतावनी सहितको वक्तव्य दिएको भोलिपल्ट
रक्सौल भन्सारबाट तेल आपूर्तिमा समस्या आएको
थियो ।
राति अबेरसम्म चलेको तीन दलका शीर्ष नेताहरुको
बैठकमा संविधान जारी भएपछि भारतीय विदेश
मन्त्रालयले जारी गरेको विज्ञप्ति र सीमामा
नेपाली ट्यांकरलाई रोकिएको विषयमा छलफल
भएको थियो ।
स्रोतका अनुसार भारतले मुख्य तीनवटा कारणले
औपचारिक रुपमा नेपाललाई नाकाबन्दी गरेको
घोषणा गर्न नसक्ने तीन दलको निष्कर्ष छ ।
१. बिश्व समुदायको स्वागत
नेपालका हालै मात्र संविधानसभाबाट पारित
भएको संविधान लागू भएको घोषणा भएको छ ।
विश्व समुदायले संविधान घोषणाको स्वागत
गरिरहँदा भारतले बेखुस रहेको सन्देश बाहिर आइसकेको
छ । यो अवस्थामा भारतले औपचारिक रुपमा
नाकाबन्दीको घोषणा नगर्ने तीन दलको ठहर छ ।
२. भारतको आफ्नै परिस्थिति
बिहारमा एक महिनापछि हुन लागेको चुनावका
कारण पनि भारतले नेपाललाई नाकाबन्दी गर्न सक्दैन
भन्ने तीन दलको निष्कर्ष छ । नाकाबन्दी गर्दा हुने
सुरक्षा खतराले बिहारको चुनावमा बिजेपीको
हारजितमा असर पर्ने भएका कारण पनि
औपचारिकरुपमा नाकाबन्दी नहुने तीन दलका शीर्ष
नेताको निष्र्कष छ ।
३. विश्व परिवेश
बालुवाटार बैठकले नाकाबन्दी गर्न नसक्ने तेस्रो
कारण अहिलेको परिवेश भनेको छ । जसमा
अन्तराष्ट्रिय समुदायले नेपाललाई गरेको साथ
सहयोग र अन्तराष्ट्रिय कानूनका कारण पनि
नाकाबन्दी हुन सक्दैन । सुरक्षा परिषद्मा स्थायी
सदस्यका लागि प्रतिस्पर्धा गरिरहेको भारतले
नेपाललाई नाकाबन्दी गरेको घोषणा गर्दा असर पर्ने
भएकाले पनि उसले औपचारिक घोषणा नगर्ने तर
सुरक्षाको कारण देखाउँदै आपूर्ति असहज बनाएर दुःख
दिइरहने शीर्ष नेताको अनुमान छ ।
त्यसो भए के गर्छ त भारतले ?
औपचारिक नाकाबन्दी गर्न नसक्ने अबस्था भए पनि
भारतले कुनै न कुनै रुपमा आपूर्ति असहज भने बनाइरहने
तीन दलको ठहर छ । बालुवाटार स्रोतले
अनलाइनखबरसँग भन्यो-भारतले औपचारिक रुपमा
नाकाबन्दी त लगाउन सक्दैन । तर, कुनै न कुनै रुपमा
आपूर्तिमा असहज बनाइदिन्छ र दुःख दिइरहन्छ । यो
अघोषित नाकाबन्दी जस्तै हुनेछ ।’
प्रमुख तीन दलले तत्काल भारतसँग उच्चस्तरीयबाटै
कूटनीतिक सम्वाद थाल्ने निर्णय गरेको छ ।
तर, राष्ट्रिय स्वाभिमानमा आँच आउने गरी भने कुनै
कदम नचाल्न भने तीन दल सहमत भएका छन् । ‘भारतसँग
निरन्तर र कूटनीतिक रुपमा सम्वाद गर्ने निर्णय भएको
छ’ स्रोतले भन्यो-‘योसँगै हामीले आफ्नो स्वाभिमान
र आत्मसम्मानमा आँच नआउने गरी आफ्नो तयारी पनि
गर्नुपर्छ ।’
तीन दलको वैठकमा अघोषित नाकाबन्दीलाई कसरी
सामना गर्ने र विकल्प के अपनाउने भन्ने बिषयमा पनि
नेताहरुले चर्चा गरेका थिए ।
चीनसँगको सीमानाका मजबुद बनाउने र आपूर्तिलाई
सहज बनाउने आन्तरिक उपायहरु पनि अबलम्बन गर्ने
बिषयमा नेताहरुले कुरा गरेका थिए । तर, दशैंको मुखमा
भएको अघोषित नाकाबन्दी र विगत ३८ दिनदेखि
भइरहेको मधेस बन्दका कारण अर्थतन्त्र सिथिल
बनिसकेको निष्र्कष निकाल्दै पहिलो कोसिस
चाहिँ कुटनीतिक सम्बादमार्फत् हल गर्नमा केन्द्रीत
गर्नुपर्ने निष्र्कष निकालिएको छ ।
