'मलाई हेर्न कलेजमै आउनुभएछ'
२०७२ आस्विन १ शुक्रबार
गोर्खाबाट एसएलसीसम्मको पढाइ सकेपछि कलेज पढ्न सिर्जना सिंह काठमाडौं आइन् र महाबौद्धस्थित नर्सिङ कलेजमा पढ्न थालिन्। ९ कक्षामा छँदा २०३३ सालमै नेपाली काँग्रेसको सदस्यता लिएकी सिर्जना कलेजमा पनि विद्यार्थी राजनीतिमा सक्रिय रहिन्।
नर्सिङमा पहिलो श्रेणीमा उत्तीर्ण भएपछि उनलाई नेपालगन्ज नर्सिङ क्याम्पसमा पढाउन पठाइयो। तर उनका बुवाले छोरीलाई नेपालगन्ज पठाउन नचाहेपछि अर्थशास्त्रमा प्राइभेट आईए पढिसकेकी सिर्जना शंकरदेव कलेजमा बीकम भर्ना भइन्।
नर्सिङ क्याम्पसमा पढुन्जेल नेबि संघ एकाइ सभापति रहेकी सिर्जनाले शंकरदेव गएपछि युनियनमा कोषाध्यक्ष जितिन्। विद्यार्थी जीवनमा पटक पटक गिरफ्तारीमा परेकी सिर्जनाले त्यतिबेला थुप्रै क्रियाकलापमा सक्रिय रहिन्।
२०३६ सालमा महिला बहुदल प्रचारप्रसार समितिको गोरखा जिल्ला सभापति भइसकेकी सिर्जना हाल नेपाल महिला संघको काठमाडौं जिल्लाको प्रमुख सल्लाहकार छिन्।
सर्वोच्च नेता गणेशमान सिंह र मंगलादेवी सिंहकी बुहारी एवं उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहकी धर्मपत्नी सिर्जना हाल विभिन्न सामाजिक काममा सक्रिय छिन्। सिर्जना बैंसमा कस्ती थिइन् त? उनकै शब्दमा:
विद्यालयमा पढाइमा तेजिलो
म विद्यालयमा कक्षा तीनसम्म सधैं पहिलो हुन्थेँ। त्यसैले पनि कक्षा १ बाट ३, ३ बाट ५ गरेर कक्षा बढाउँदै पढेँ । एसएलसी दिन १५ वर्ष पार हुनुपर्ने नियम भएकाले मैले १४ वर्षमै उमेर बढाएर परीक्षा दिएको थिएँ।
कलेजमै हेर्न आउनुभयो
चीनकाजी श्रेष्ठलगायत गोरखाका जिल्ला नेताहरूलाई छोराको बिहे गर्नुपर्यो भनेर आमाले कुरा गर्नुभएको रहेछ। त्योभन्दा धेरैअगाडि नै उहाँ काठमाडौं जिल्लाकै नेविसंघ सभापति भइसक्नुभएको थियो। एमएस्सीमा डिस्टिङ्सन ल्याएपछि उहाँ त्रिचन्द्र कलेजमा पढाउनुहुन्थ्यो।
पछि पीएचडी गर्न दिल्ली जानुभएको थियो। त्यति बेला सत्याग्रह सुरु हुँदै थियो । सत्याग्रहमा जेल जाने मानिस कम भएकाले जेल जानलाई उहाँ पीएचडी छाडेर नेपाल आउनुभयो।
हाम्रो विवाहको कुरा चलेपछि उहाँ मलाई हेर्न शंकरदेवमा आउनुभयो। नवीन्द्रराज जोशीका दाइ पनि त्यहीँ पढ्ने। उहाँहरू गफ गर्न आउँदा हामी भागिहाल्थ्यौं। उहाँले त मलाई देख्नुभयो तर मलाई त उहाँ हेर्न आउनुभएको भन्ने थाहै थिएन। पछि चीनकाजी दाइहरूले पनि मसँग यसबारेमा कुुुुरा गर्नुभयो।
पाटीको कार्यक्रमजस्तै भयो विवाह
सत्याग्रह सकिएपछि २०४२ साल फागुन २८ गते मेरो विवाह भएको हो। आमा, बा र परिवारका अन्य सबै सदस्य जेलबाटै छुटेर विवाहको कुुरा छिन्न गोरखा आउनुभएको थियो।
विवाहमा मेरा ससुरा गणेशमान सिंह, किसुनजी, गिरिजाबाबु, शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेता र कार्यकर्ता सबै थिए। विवाह पार्टीकै कार्यक्रमजस्तो भएको थियो।
गोर्खामा हाम्रो हुनेखाने परिवार भए पनि जन्तीलाई बस्न मेच नपुगेर स्कुलका डेस्कबेन्चहरू सबै ल्याउनु परेको थियो। त्यहाँका स्थानीय कार्यकर्ता त व्यवस्थापन समितिका सदस्यजस्ता देखिन्थे। घरका मानिसले नभ्याएर सबै काम उहाँहरूले सघाउनुभएको थियो।
घर सम्हालेरै बसेँ
विवाहपछि पनि राजनीतिक कार्यक्रममा भाग लिन मलाई पूर्ण स्वतन्त्रता थियो। सासू, ससुरा, पति, जेठाजुलगायतका सबै राजनीतिमा लागेकाले घर भद्रगोल र अस्तव्यस्त थियो।
जिल्लाबाट आउने नेताहरूलाई एक छाक भए पनि मीठो खुवाउन पाइन्छ भनेर बाले पार्टीको केन्द्रीय समितिको बैठक घरमै राख्नुहुन्थ्यो। किसुनजी हरेक शनिबार हाम्रैमा खान आउनुहुन्थ्यो।
हाम्रो घरमा आमाले छोराछोरीहरूलाई आफ्नो काम आफैँ गर्न लगाउनुहुन्थ्यो। बाले आफ्नो लुगा आफैं धुने र बिहान म उठ्दा स्टोभ पुछेर चियाका लागि पानी तताइदिनुहुन्थ्यो।
चामलमा ढुंगा लाग्छ भनेर चोकमा बाटा र किस्ती लगेर आफैँ चामल केलाइदिनुहुन्थ्यो। त्यसैले म आफैंले रोजेर सक्रिय राजनीतिभन्दा टाढै बसी आफ्ना दुई छोराहरू प्रभास र भाष्करलाई राम्रोसँग हुर्काउनुका साथै परिवार सम्हाल्ने निर्णय गरेँ।
विवाहपछि मात्रै कुर्ता
व्यापारिक घरानामा जन्मेकाले म सानैदेखि पाइन्ट लगाउँथेँ । त्यसैले मलाई कुर्ता त केटीले लगाउनेजस्तो लाग्थ्यो। म 'टम ब्वाय'जस्तै थिएँ। कुर्ता त मैले विवाहपछि मात्रै लगाउन थालेको हुँ।
नुन हाल्न सासूको मद्दत
विवाहअगाडि चियासम्म बनाएको थिइनँ। यहाँ सबैले सबै काम गर्ने चलन थियो। भान्छामा बसेपछि कहिले नुनको भाँडो लिएर त कहिले जीराको भाँडो लिएर कति हाल्ने भन्दै आमालाई सोध्न जान्थेँ।
आफ्नो संस्कृति सबै जोगाउनुपर्छ भन्ने बाआमाको मान्यता थियो। हामीले नगरे पछिल्लो पुस्ताले पनि गर्दैन भनेर आमा भन्नुहुन्थ्यो। त्यसैले सबै चाडमा भोज खानैपर्ने थियो। मैले पनि विस्तारै गर्दै, सिक्दै गएँ।
बिहेको २६ वर्षपछि एमए
विवाहको २६ वर्षपछि स्नातकोत्तर भर्ना भएर दुई वर्षअगाडि सकाएँ। एमफिल गर्ने धोको थियो तर जहाँ गए पनि जाँच छ भनेर तनाव हुने भएकाले पढिनँ। पढाउनेहरूले पनि भाउजू भन्ने भएकाले उनीहरूका अगाडि थोरै अंक आउला कि भन्ने डर लाग्ने । पहिलो वर्ष सबै क्लियर गरेँ।
अर्को वर्ष पार्टीको अधिवेशनमा उहाँको महामन्त्रीको चुनाव परेकाले सबै पास भइनँ। अर्को वर्ष मेरो पाठेघरको शल्यक्रियाले गर्दा जाँच दिन पाइनँ। मैले पूरा तयारी गरे पनि डा. सुपात्रा कोइरालाले तिमीलाई केमो दिने कि जाँच दिने भनेपछि उपचारमै लागेँ। चौथो वर्ष १६ नं. वडाका गृहिणीका बारेमा थेसिस गर्दै स्नातकोत्तर पूरा गरेँ।
annapurnapost
