गाडी भाडामा ठगिनुभयो, उजुरी गरिहाल्नुस्
३ सय २० सवारीसँग १६ लाख जरिवाना
२०७२ असोज १ गते १५:४० मा प्रकाशित
१ असोज, काठमाडौं । सरकारले बढी भाडा लिने ३ सय भन्दा सार्वजनिक सवारीलाई कारवाही गरेको छ । गत भदौ २५ गतेदेखि नयाँ भाडादर लागू भएपनि पुरानै दरमा भाडा असुल्ने ३ सय २० भन्दा बढी सवारी कारवाहीमा परेका हुन् ।
यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा मात्र बढी भाडा लिने सवारीलाई कारवाही गरेर १६ लाख रुपैयाँ भन्दा बढी जरिवाना असुल गरेको छ ।
एकैपटक ५ हजार जरिवना
विभागले अनुगमनका दोषि पाईएका सवारीलाई यसअघि जस्तो सजिलै उम्किन दिएको छैन । एक रुपैयाँ मात्र बढी भाडा लिएको भेटेमा पनि ५ हजार रुपैयाँ जरिवाना तिराइरहेको छ । ‘यसपाली कुनै कुरा सुनेका छैनौं, बढी भाडा लिनेलाई ५ हजार रुपैयाँको चिट थमाएका छौं’ विभागका प्रवक्ता बसन्त अधिकारीले भने, ‘जानी-जानी यात्रु ठग्ने विरुद्ध ऐनले दिएको सबैभन्दा कडा व्यवस्था नै यही हो, यसैलाई प्रयोग गरेका छौं ।’
यात्रु ठग्ने सवारीलाई एकहजार रुपैयाँदेखि ५ हजार रुपैयाँ सम्म जरिवना गर्न पाईने कानुनी व्यवस्था छ । अधिकारीले भने, ‘कम जरिवाना गरेर नचेत्ने र नसुधि्रने देखेपछि ५ हजार नै लिने निर्णय भएको हो ।’ बढी जरिवाना लगाएपछि व्यवसायी आँफै बसका चालक तथा सह-चालकईक नयाा भाडादर लागूग गर्न दबाव दिएको अधिकारीको भनाई छ ।
सबै रुटमा उस्तै ठगी
उपत्यकाको सबै रुटमा चल्ने गाडीले यात्रुसंग पुरानै दरमा भाडा असुलिरहेको विभागको अनुगमन टोलीको निश्कर्ष छ । काठमाडौंका रिंगरोडसहित भित्री तथा ग्रामीण रुटमा चल्ने धेरै सवारीले अझै पनि नयाँ भाडादर लागू नगरेको विभागका प्रवक्ता अधिकारीले बताए ।
‘यो वा ऊ रुटमा बढी भाडा लिए भन्ने नै छैन । सबै रुटमा गाडी चढ्ने यात्रुले गुनासो गरिरहेका छन् ।’ विभागमा बढी भाडा असुलको भन्दै दैनिक २ सय भन्दा बढी फोनहरु आईरहेका छन् । सुचना अनुसार प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर तिनीहरुलाई कारवाही भइरहेको विभागले जनाएको छ ।
केही रुटमा अति
काठमाडौंको दक्षिणकाली क्षेत्रमा चल्ने दक्षिकाली यातायातले भाडा नघटाएको भन्दै धेरै गुनासो आएको प्रवक्ता अधिकारीले जानकारी दिए । ‘ग्रामीण रुटमा चल्नेहरुमा भने बढी समस्या देखिएको छ । गाउँ क्षेत्रमा यात्रुसंग पुरानै दरमा भाडा असुलेको सूचना हामीसंग छ’ उनले भने ।
ग्याँसबाट चल्ने सफा ट्याम्पो र निलो माईक्रोले आफ्नो भाडा नघटेको भनेर पनि यात्रु ठगिरहेको विभागको अनुगमनमा भेटिएको छ । तर, विभागले ग्याँस बाट चल्ने सवारीको पनि भाडा घटेको स्पष्ट गरेको छ ।
उजुरी गर्न हटलाइन
विभागले बढी भाडा लिएकोबारे गुनासो सुनेर सम्बोधन गर्न भन्दै हटलाइन पनि सञ्चालन गरेको छ । यात्रुले आफु ठगिएमा विभागको हटलाइन ०१-४४७४७६७ मा सम्पर्क गरेर गाडीको नम्बर टिपाउन सक्नेछन् । यसैगरी हेलो सरकारको फोन नम्बर ११११मा पनि बढी भाडा लिएको जानकारी गराउन सकिने विभागले जनाएको छ ।
यसैगरी प्रहरीको १०१ र १०३ मा पनि यात्रुले बढी भाडा लिएमा गुनासो टिपाउन सक्ने व्यवस्था गरिएको छ । विभागले यातायात व्यवसायी, ट्राफिक प्रहरी, उपभोक्तावादी संघसंस्थाका प्रतिनिधिको सहभागितामा विभिन्न सडक रुटमा छड्के चेकजाँच र अनुगमन गरिरहेको जनाएको छ ।
