होलीमा रमाए राजकुमार ह्यारी
९ चैत, पोखरा । नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारी लम्जुङका बासिन्दासँग मंगलबार होली खेलेका छन् । गौंडा माविका विद्यार्थीहरुसँग उनी केहीबेर होली खेलेका हुन् ।
‘उहाँले (राजकुमार ह्यारीले) स्थानीय केटाकेटीहरुलाई रंग लगाइदिनुभयो, हामीलाई पनि लगाइदिनुभयो,’ लम्जुङका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले अनलाइनखबरसँग भने, ‘स्थानीयले पनि उहाँलाई रंग लगाइदिए, हामीले पनि लगाइदियौं ।’
राजकुमार ह्यारीले सेतो सट पहिरिएका थिए । होलीको रंगले उनको सेतो सट रातै भयो । अत्यन्त साधारण पहिरनमा नेपालका बिभिन्न स्थान भ्रमण गरिरहेका ह्यारी रातै भएर पोखरा उडे ।
उनी नेपाली सेनाको हेलिकोप्टरबाट लम्जुङबाट बिहान १०ः३५ बजे पोखरा उडेको प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
त्यसअघि ह्यारीले सूर्योदयको दृष्य अवलोकन गरेका थिए र गौडा माविका विद्यार्थीहरुसँग भलिबलसमेत खेलेका थिए । ‘उहाँसिनियर विद्यार्थीहरुसँग एक गेम पूरै भलिबल खेल्नुभयो । राम्रो खेल्नुहुँदोरहेछ,’ जीसीले भने ।
भलिबल कोर्टमा राजकुमार ह्यारी ‘सटर’को रुपमा थिए । सट हानिसकेपछि बेलाबेलामा ‘रेजर’सँग हात पनि मिलाउँथे उनले ।
गएराति उनले मंगली तामाङको घरमा लोकल कुखुराको मासु, ढिँडो र अचार खाएका थिए । स्थानीय आमा समूहले परम्परागत साँस्कृतिक नृत्यबाट ह्यारीको स्वागत गरेका थिए ।
onlinekhabar
