प्रधानमन्त्री ओलीको चीन भ्रमण सफलः प्रचण्ड

१२ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा भएका सम्झौताले दूरगामी महत्व राख्ने बताएका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको समेत बताए ।

शुक्रबार वीरगञ्जमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘भारत भ्रमणबाट आएपछि चीन भ्रमणको तयारी भयो, प्रधानमन्त्रीज्यूको यो भ्रमण अपेक्षित र उपलब्धी मूलक रह्यो । चीनसँग भएका सम्झौताले दूरगामी महत्व राख्छ ।’
उनले देशमा विद्यमान समस्या समाधानका लागि राष्ट्रिय एकताको खाँचोसमेत औंल्याए । ‘भूकम्पबाट भएको जनधनको क्षति पछि मैले प्रतिपक्ष नेताको हैसियतले हामी सबै एक भएर सामना गर्न राष्ट्रिय एकताको खाँचो छ भनेको थिएँ । अझै पनि राष्ट्रिय एकताको खाँचो छ,’ प्रचण्डले भने ।
प्रचण्डले मोहन वैद्य नेतृत्वको माओवादी लगायत सबै माओवादीसँग छिट्टै पार्टी एकता हुने पनि दोहोर्‍याए । उनले पार्टी एकताबारे बिहीबार क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग गम्भीर छलफल गरेको जानकारीसमेत दिए ।
प्रचण्डलाई कालो झण्डा देखाउने १० जना पक्राऊ
यसैबीच एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाउँदै विरोध प्रदर्शन गर्ने मधेस केन्द्रित दलका १० कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबारदेखि सुरु व्यापार मेला उदघाटन गर्न पर्साको वीरगञ्ज आएका प्रचण्डलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । एमाओवादीकै नेता गृहमन्त्री भएको र मधेस आन्दोलनमा दमन गरेको तथा प्रचण्डको पहलमा ‘मधेस विरोधी संविधान’ जारी भएको भन्दै मोर्चाका कार्यकर्ताहरु विरोध प्रदर्शनमा उत्रिएका थिए ।
राजेशमान सिंह, मुन्नी श्रीवास्तव, रेखा साहलगायतलाई प्रहरीले नियन्त्रणमा लिएको घण्टाघर क्षेत्रमा प्रदर्शनको नेतृत्व गरेका मधेसी युवा गठबन्धनका पर्सा संयोजक इशवरचन्द्र यादवले बताए ।
मधेसी मोर्चाका कार्यकर्ताहरुले श्रीपुर मुड्ली चोक, घण्टाघर चोक लगायतका स्थानमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । मुड्ली चोकमा पूर्व कृषि राज्यमन्त्री करिमा बेगमले नेतृत्व गरेकी छन् ।
स्थानीय प्रशासनले वीरगञ्जको सुरक्षा व्यवस्था कडा पारेको छ । चोक-चोकमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रचण्डले शुक्रबार दिउँसो व्यापार मेला उदघाटन गर्ने र स्थानीय कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।
onlinekhabar

,

news and entertainment