राजकुमार 'ह्यारी'लाई खुकुरी

काठमाडौं– नेपालको पाँचदिने भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीलाई राजधानीमा मंगलबार नेपाली खुकुरी उपहार प्रदान गरिएको छ। नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीले बेलायती राजकुमार ह्यारीलाई खुकुरी उपहार दिएका हुन्।


नेपाल–बेलायत कूटनीतिक सम्बन्ध स्थापनाको दुई सय वर्ष पूरा भएका अवसरमा बेलायती महारानीको प्रतिनिधिका रूपमा सद्भावना सन्देश लिएर औपचारिक भ्रमणमा नेपाल आएका राजकुमार ह्यारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका तर्फबाट खुकुरी उपहार दिइएको हो ।

काठमाडौं उपत्यकाबाहिर बर्दिया, लमजुङ र पोखरा भ्रमण सकेर राजधानी फर्केका ह्यारीलाई विमानस्थलमा स्वागत गर्दै सेनापति क्षत्रीले गोर्खाली वीरताको परिचय दिने खुकुरी उपहार दिएका थिए । राजकुमार ह्यारीले नेपाली सेनाको प्रशंसा गर्दै आफ्नो भ्रमणका दौरान नेपाली सेनाले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए ।

राजकुमार ह्यारी र प्रधान सेनापति क्षत्रीको भेटले बेलायत–नेपाल द्विपक्षीय हित र पारस्परिक सम्बन्ध अझ सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको क्षत्रीले बताए । रासस
nagariknews

,

news and entertainment