नेपालसम्म रेल विस्तार गर्न चीन सहमत
काठमाडौं: उत्तरी छिमेकी मुलुक चीनले यथाशक्य चाँडो नेपालसम्म रेलसञ्जाल विस्तार गर्नेतर्फ चासो देखाएको छ ।
चीनको भ्रमणमा रहेका नेपालका प्रधानमन्नत्री केपी शर्मा ओलीसँग समकक्षी ली खिछ्याङको भेटवार्तापछि चीनले नेपालका मूख्य सहरहरुसम्म आफ्नो रेलसञ्जाल विस्तारमा चासो देखाएको हो ।
नेपालका प्रधानमन्त्री ओलीले नेपालसम्म रेलसेवा विस्तारका लागि सहयोग गर्न समकक्षीलाई आग्रह गरेपछि चीनले त्यसमा चासो लिँदै रेलसेवा विस्तारका लागि अध्ययन तत्काल अघि बढाउने जनाएको हो ।
नेपाल र चीनबीच सोमबार भएको दस बुँदे सम्झौतामा ग्वान्झाउ बन्दरगाहसम्मको पारवहन सुविधासँगै नेपालमा रेल सेवा विस्तारका लागि सम्भाव्यता अध्ययन अघि बढाउने जनाइएको छ ।
चिनियाँ विदेश मन्त्रालयस्थित एसिया विभागका डेपुटी प्रमुख हु याङ्कीका अनुसार नेपालका प्रधानमन्त्री ओलीले नेपालका प्रमुख दुई शहरमा रेल सेवाको विस्तारका लागि समकक्षीलाई आग्रह गरेका थिए ।
उनका अनुसार त्यसका लागि सम्भाव्यता अध्ययन गरि नेपाल-चीन जोड्ने रेल र नेपालका मुख्य शहर जोड्ने रेल सेवा विकासको प्रक्रिया अघि बढाउने सहमति भएको हो ।
'नेपाल र नेपालीका लागि विशेष मिसन बोकेर चीन आएको छु', बेइजिङको ग्रेट हल अफ द पिपुलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ समकक्षी लि खिछ्याङलाई भनेका छन् ।
डेपुटी प्रमु हु याङ्कीका अनुसार चिनियाँ कम्पनीले नेपालका मुख्य शहरमा रेल सेवा विस्तारका लागि नेपालसँग मिलेर सम्भाव्यता अध्ययनलाई सहयोग गर्नेछन् । हाल चीनको स्वाशासित क्षेत्र तिब्बतसम्म आइसकेको चिनियाँ रेलको सञ्जाललाई नेपालको उत्तरी सीमाना नजिकैको केरुङसम्म ल्याउनका लागि चीनले यसअघिबाटै योजना सार्वजनिक गरिसकेको छ ।
'अवश्य पनि चीन सरकारले नेपालमा विस्तार गर्न लागेको रेल सेवा दीर्घकालीन योजनाभित्र पर्दछ', हु ले भनेका छन्, 'तर नेपाल र चीनबीचको सीमा नाकाको भौगोलिक बनावट र प्राविधिक कठिनाइबाट यसले मूर्त रुप लिन सकेको छैन। अब यो योजना चाँडै पूरा हुनेछ । नेपालसँग रेलसेवा जोडिएपछि दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ।'
हिमालको काखमा अवस्थित नेपाल दुई ठूला छिमेकीबीचमा रहेको भन्दै चीनले नेपालीले राजतन्त्र हटाएर ल्याएको नयाँ संविधानको स्वागत गर्दै नेपाल शान्ति र स्थिरताको पर्खाइमा रहेको जनाएको छ ।
संविधान जारी गरेर अघि बढिरहेका बेला दक्षिणी छिमेकी भारतबाट औषधि र तेल लगायत अत्यावश्यक वस्तु आयातम रोक लगाइँदा नेपालले ठूलो समस्या ब्यहोर्नुपरेको चीनको बुझाइ छ ।
annapurnapost
